छ महिना पछि लाश बुझे परिवारले

असल शासन प्रतिनिधि

नेपालगन्ज/बर्दियाको प्रहरी हिरासतमा यातना पछि मृत्यु भएको बताईएका स्वतन्त्र मधेश गठबन्धनका नेता राम मनोहर यादवको शव ६ महिना पछि परिवारले बुझेका छन् ।

बाँकेको जानकी गाउँपालिका वडा नम्बर ६ कपासी गाउँ निवासी २६ बर्षिय यादवको शव पिप्रहवा चौकमा कडा सुरक्षाकावीच परिवारलाई बुझाईएको बाँके प्रहरीले जनाएको छ ।

गठबन्धनका कार्यकर्ता जम्मा भएर प्रदर्शन गर्न थाले पछि प्रहरीले ४०/४५ जनालाई विहान नियन्त्रणमा लिएको थियो । दिउँसो ३ बजेपछि मात्र परिवारले शव बुझेर लगेको बताईएको छ । नियन्त्रणमा लिएका कार्यकर्तालाई प्रहरीले बेलुका छाडेको जनाईएको छ । यादवको आजै (माघ २१ गते) अन्तिम संस्कार गरिएको पारिवारिक स्रोतले जनाएको छ ।

गत भदौ ७ गते बर्दियाको गुरलरियामा स्वस्थ्य मन्त्री उपेन्द्र यादवको कार्यक्रममा कालो झण्डा देखाएको भन्दै राम मनोहरलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रहरीको चरम यातनापछि उनको भदौ १६ गते मृत्यु भएको परिवारले बताउँदै आएकोछ ।

राम मनोहर देश विखण्डनको अभिब्यक्ति सहित मधेशलाई अलग गर्ने अभियानमा लागेका सिके रावतको कार्यकर्ता भएको प्रहरीको दावी छ । प्रहरी हिरासतमा शंकास्पद मृत्यु भएका स्वतन्त्र मधेश गठबन्धनका नेता राम मनोहर यादवको शव परीक्षणको लागि शिक्षण अस्पताल, काठमाण्डौमा राखिएको थियो ।

परिवारले राम मनोहरको मृत्युबारे सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाहीको माग गर्दै शव बुझेका थिएनन् ।

  • २१ माघ २०७५, सोमबार प्रकाशित

  • Nabintech