घुसको रकम बाँड्ने चार घुस्याहा पक्राउ

असल शासन प्रतिनिधि

बाँके/सेवाग्राहीबाट लिएको घुस रकम बाँडफाँड गर्ने चार सरकारी कर्मचारी पक्राउ परेका छन् ।

बुधबार साँझ डिभिजन वन कार्यालय बाँकेमा कार्यरत चार जना कर्मचारीलाई अख्तियारको टोलिले दश हजार घुस रकम बाँड्दै गर्दा रकमसहित पक्राउ गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगन्जबाट खटिएको टोलीले कार्यालय नजिकै सुर्खेतरोडबाट रकम बाँड्दै गरेकोे अवस्थामा चार जनालाई नियन्त्रणमा लिएको कार्यालयले जनाएकोछ ।

सम्पर्क कार्यालय नेपालगन्जका प्रमुख गणेश गैरेका अनुसार पक्राउ पर्नेमा कार्यालयका रेन्जर जगबिर केसी, फरेस्टर बहादुर केसी, केशब बहादुर ओली र वन रक्षक हरिबहादुर चन्द रहेका छन् ।

सेवाग्राहीबाट घरका लागि रुख कटान गर्न आवश्यक कागजपत्र मिलाईदिने भन्दै लिएको घुस रकम दामासाहिका दरले बाँडिरहेको अवस्थामा उनीहरु अख्तियारको फन्दामा परेका छन् ।

पक्राउ परेका चारैजनालाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाइएको अख्तियारले जनाएकोछ ।

  • २४ माघ २०७५, बिहीबार प्रकाशित

  • Nabintech