बालबालिकासँग कलाकारहरु

असल शासन प्रतिनिधि

कोहलपुर/बाँकेको कोहलपुरमा नेपाली चलचित्रका युवा नायक र गायक स्थानीय नोवेल प्रि मन्टेश्वरीका बालबालिकाहरुसंग दुई दिन सम्म रमाएका छन् र बालबालिकाहरुलाई उर्जा थप दिएका छन् ।

राष्ट्रिय युवा कलाकारद्वय दिपक ढकाल र टंक तिमिल्सेना कोहलपुर नगरपालिका–११, साझा चोक स्थित नोवेल प्रि मन्टेश्वरी स्कुलका ससाना बालबालिकाहरुसंग साक्षात्कार भएर रमाएका हुन् । दिपक ढकाल सुब्बा साहेब र लेक साइट नामक नेपाली चलचिबका अभिनेता हुन् भने टंक तिमिल्सेना चर्चित युवा गायक हुन् ।

बालबालिकाको चौतर्फी र वौद्धिक विकासका लागि बेला बेला आयोजना गरिने अतिरिक्त क्रियाकलाप र कार्यक्रम अन्तर्गत ती कलाकारहरुसंग साक्षात्कार कार्यक्रमको आयोजना गरिएको नोवेल प्रि मन्टेश्वरी स्कुलका प्रिन्सीपल लुना बुढाथोकीले बताईन् । चलचित्रका नायक ढकाल कलाकार नामक टेलिभीजन च्यानलको लागि एउटा कार्यक्रम छायाङ्कन गर्न र तिमिल्सेना कोहलपुर महौत्सवमा भाग लिनका लागि कोहलपुर आएको मौका छोपेर आफुले स्कुलमा निम्त्याएर बालबालिकासंग साक्षात्कार गराएको प्रिन्सीपल बुढाथोकीले जानकारी दिईन् ।

डेढ घण्टासम्म नोवेल प्रि मन्टेश्वरी स्कुलमा बिताएका कलाकारद्वयले अभिनयका साथ आफ्ना गीत र कला प्रस्तुत गरे भने बालबालिकाहरुले पनि आफ्नो गीत गाउँदै नाच देखाएर भरपुर मनोरञ्जन लिएका थिए ।

चलचित्रका नायक ढकाल कलाकार नामक टेलिभिजन च्यानलका लागि बालबालिकाहरुले प्रस्तुत गरेको गीत र नृत्यको भिडियो रेकडिङ्ग पनि गरेका थिए । कलाकारद्वयले बालबालिकाहरुसंग कुराकानी पनि गरेका थिए । कुराकानीका क्रममा बालबालिकाहरुले कसैले आफुहरु भविष्यमा डाक्टर बन्ने, कसैले डान्सर र फिल्मको हिरो बन्ने चाहना पनि व्यक्त गरेका थिए ।

कार्यक्रममा सहभागी कलाकारद्वयलाई नोवेल प्रि मन्टेश्वरी स्कुलका प्रिन्सीपल लुना बुढाथोकीले स्कुल परिवारको तर्फबाट मायाको चिनो प्रदान गरेकि थिईन् भने बालबालिकाहरुले कलाकारद्वयलाई पुष्प गुच्छा दिएर स्वागत गरेका थिए ।

विसं. २०६७ सालमा बाँके जिल्लामा मन्टेश्वरी शिक्षाको महत्व र आवश्यकता महसुस गरी ७ जना विद्यार्थीबाट शुरु गरिएको बाँके जिल्लामै पहिलो मन्टेश्वरी नोवेल प्रि मन्टेश्वरी स्कुलमा अहिले ८ जना शिक्षक शिक्षिका र ४८ जना विद्यार्थीहरु छन् । स्कुलले ससाना बालबालिकाहरुलाई उत्प्रेरणा जगाउन र उनीहरुमा अन्तरनिहीत प्रतिभा प्रस्फुटन गर्ने खालका विभिन्न किसिमका कार्यक्रमहरु आयोजना गर्दै आएको छ ।

यसअघि पनि नोवेल प्रि मन्टेश्वरी स्कुलमा चर्चित गायकहरु पशुपति शर्मा, टिका पुन, कृष्ण रेले, प्रेम विवस घर्ति, सपना शाही, भावना जि.सी., नेपाल आइडल सुरज थापा, चर्चित मोडेल आरश्री मगर लगायतका कलाकारहरुबाट बालबालिकाहरुबाट भरपुर मनोरञ्जन लिएका थिए ।

गत महिना मात्र भव्यताका साथ कोहलपुरमा प्रथम वार्षिकोत्सव आयोजना गरेको बाँके जिल्लामा रहेका मन्टेश्वरीहरुको संगठन मन्टेश्वरी एशोसियसनको अध्यक्ष समेत रहेकि प्रिन्सीपल लुना बुढाथोकीले इटालीमा जन्मेकी स्वर्गीय डा. मारिया मन्टेश्वरीद्वारा प्रतिपादित व्यवहारिक तथा वस्तुगत शिक्षा विधिको अवधारणा अनुरुप शुरु गरिएको मन्टेश्वरी विश्वव्यापी रुपमा लोकप्रिय हुँदै गएको र बाँके जिल्लामा २०६६ सालदेखि शुरु भएको जानकारी दिईन् ।

उनले विद्यालय र अभिभावकहरुले विद्यार्थीहरुलाई किताबी सैद्धान्तिक शिक्षा र ज्ञान मात्र होइन उनीहरुको मानसिक र वौद्धिक विकासका लागि वस्तुगत र व्यवहारिक ज्ञान र शिक्षा प्रदान गर्ने वातावरण दिन आवश्यक भएको बताईन् ।

 

  • २ फाल्गुन २०७५, बिहीबार प्रकाशित

  • Nabintech