नेपालगञ्जकी किशोरी स्वस्तिकाको मृत्यु रहस्यमय

असल शासन प्रतिनिधि

नेपालगञ्ज/६ महिनाअघि प्रेमविवाह गरेकी नेपालगञ्जकी एक युवतीको रहस्यमय मृत्यु भएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका—१० भृकुटीनगर निवासी १९ बर्षिया स्वस्तिका लिम्बुको रहस्यमय मृत्यु भएको हो ।

बैशाख १ गते उनी आफ्नै निवासमा मृत फेला परेकि हुन् । माईती पक्षले उनकै पतिले हत्या गरेको आरोप लगाईरहेका छन् भने घर पक्षकाले झुण्डिएर आत्महत्या गरेको बताईरहेका छन् ।

जानकारी अनुसार, प्रहरी घटना स्थलमा पूग्दा लिम्वु बिस्तरामा मृत अवस्थामा थिईन्, पासो लगाई पंखामा झुण्डिएकि श्रीमतीलाई बचाउन खोज्दा, खोज्दै निधन भएको उनका श्रीमानले प्रहरीलाई बताएको बताईन्छ ।

नेपालगञ्ज वडानम्वर २० मनिकापुर राँझा सम्झना चौककी स्वस्तिकको नेपालगञ्ज उपमहानगरपालिका—१० भृकुटीनगरका मुकेश भन्ने आयुष बुढाक्षेत्रीसँग २०७५ कार्तिक ५ गते प्रेमविवाह भएको थियो ।

लिम्बुको शरीरमा कुटपिटको नीलडाम देखिएको दाबी गर्दै माइती पक्षले उनको पतिमाथि कारबाही गर्न प्रहरीसमक्ष आग्रह गरेको छ । उनको हत्या भएको भन्दै माइती पक्षले कारबाहीका जिल्ला प्रहरी कार्यालय बाँकेमा प्रदर्शन गरेका थिए । माइती पक्षले पतिले नै लिम्बुको हत्या गरेको भन्दै कारबाहीको माग राखेर प्रदर्शन गरेका थिए । पतिले पटकपटक छोरीलाई कुटपिट गर्ने गरेको जानकारी आफुलाई भएको मृतककी आमा लिला लिम्बुले बताइन् ।

नयाँ वर्षको दिन बिहान छोरीले माइत आउँछु भनेको भन्दै उनकी आमाले मध्याह्न १२ बजे पतिले आउन नदिएको फोनबाट जानकारी गराएको बताइन् । लगत्तै छोरीको मोबाइल स्विचअफ भएको उनले जानकारी दिइन् । आफूहरूले दिउँसो तीन बजे खबर पाएको भन्दै मृतक लिम्बुका फुफाजु दीपक भण्डारीले आफुहरु पूग्दा स्वस्तिका मृत अवस्थामा भेटिएको बताए ।

मृतकका आफन्त बेग बहादुर थापाले अचानक स्वस्तिका पंखामा झुण्डिएर मरेको भन्ने जानकारी पाएपछि आफुहरु घटना स्थल पूग्दा शवलाई निकालेर बेडमा राखिएको आफुहरुले पाएको बताए । उनले आफुहरु पूग्दा आफुहरु भन्दा अगाडी घटना स्थलमा प्रहरी पुगिसकेको बताए । उनका अनुसार मृतकको घाँटिमा डोरीले बाँधिएर घाउ भएको, छातिमा नङ्ग्राले घाउ बनाएको, शरिर भर निलडाम भएको, कान, ढाड, पाखुरामा समेत चोट लागेको थियो ।

घर परिवारले स्वस्तिका पँखाको पातामा झुण्डिएर मरेको बताएपनि माईतीले सो कुरा अस्विकार गरिरहेका छन् । घटना घटिसेकपछि माईती पक्ष पूग्दा झुण्डिएको भनिएको अग्लो पँखाको पाता, पँखा केही पनि नभएको, पँखा सम्म पूग्ने कुर्सी, स्टुल केही पनि नभएको माईती पक्षको भनाई रहेको छ । मृतकका आफन्तले ६० देखि ६२ केजि तौल रहेकी स्वस्तिका एउटा पातामा झुण्डिन असम्भव रहेको बताए । उनीहरुले स्वस्तिकालाई मारिसकेपछि आफु बच्न उनका पतिले सल पँखामा झुण्ड्याएको आरोप लगाए । उनीहरुले मृतकको रक्ताम्य कपडा परिवर्तन गरि टिसर्ट लगाईदिनु, प्रहरीले मुचुल्का बनाउन हतार गर्नुबाट उनको मृत्यु आत्महत्याबाट नभई हत्याबाट भएको हो भन्ने कुरा आफुहरुले थाहा पाएको बताए । प्रहरीसँगै घरका व्यक्तिहरुले कुर्ता च्यातिएका कारण बदलेर टिसर्ट लगाइदिएको भनेर भनेको आफुहरुले सुनेको पीडितहरुको भनाई रहेको छ ।

मृतककी आमा लिला लिम्बुले आफ्नी छोरीलाई मुकेशले कुटपिट गरि घाँटीमा डोरीले कसेर तड्पाई, तड्पाई मारेको बताईन् । लिम्बुको हत्यारालाई कारवाहीको माग गर्दै बैशाख ३ गते नेपालगञ्जमा प्रदर्शन समेत गरिएको थियो । माईती पक्षल लगाएतले नेपालगञ्जको धम्बोझी चोकदेखि खजुरा रोडस्थित जिल्ला प्रहरी कार्यालयसम्म प्रदर्शन गरेका थिए । प्रदर्शनमा करिब पाँच सय जनाको सहभागिता थियो । प्रर्दशनमा मृतककी आमा बेहोस् भएकि थिईन् ।

भारतको राजस्थानमा रहेका वुवा घटना सुनेपछि भक्कानिएर नेपाल फर्केका थिए । बैशाख ३ गते बिहान ८ बजे नेपालगञ्ज आईपूगेका बुवा बिनोद लिम्बुले सबै घटना बिबरण सुन्दा, बुझ्दा छोरीलाई केटाले कुटपिट गरि, डोरीले कसेर मारेको र आफु बच्न सल पंखामा झुण्डाएको बताए ।

घर पक्षले लास कहाँ छ, के भईरहेको छ भनेर चाँसो नदिएको दुःखेसो उनले गरे । आफु र छोरीको ससुरा दुबै सेनामा रहेको बताउँदै उनले आफुहरु एउटै पल्टनमा हुँदा आफु सिपाही र मुकेशको बुवा नायक रहेको बताए । आफु हवल्दारबाट पेन्सन भएर निस्केको बताउने लिम्बुले हाल छोरीको ससुरा मेजरको रुपमा सेनामा कार्यरत रहेको बताए ।

आफै फोन गरेर आउनुस्, छलफल गरौं भन्दा पनि छोरीको ससुरा नआएको बताउँदै उनले बैशाख ४ गते पोष्टमार्टम गर्ने दिनमा समेत चाँसो नदिएको बताए । मेडिकल कलेजमा रहेको छोरीको लाशको पैंशा आफै तिरेर पोष्टमार्टम गर्न लगेको उनले बताए ।

पोष्टमार्टम गर्ने स्थलमा प्रहरीको पहलमा उनीहरु आएको, पोष्टमार्टम स्थलमा अक्रोशित महिलाहरुलाई घर पक्षको व्यक्तिले अपशब्द बोल्दै हेल्मेटले हानेर मारिदिन्छु भनेको सुन्दा समेत प्रहरीले बेबास्ता गरेको लिम्बुले बताए । उनका अनुसार, आक्रोशित महिलाहरुलाई ढुँगा समेत प्रहार हुँदा केही समय पोष्टमार्टम स्थल तनाबग्रस्त बनेको थियो ।

माईती पक्षले बैशाख ५ गते अगैयामा स्वस्तिकाको दाहसँस्कार गरेको छ भने घर पक्षले बैशाख ६ गते कुशको शब बनाई दाहसंस्कार गरेको जानकारी प्राप्त भएको छ ।

हत्या हो वा आत्महत्या भन्ने बिषयमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी प्रमुख अरुण पौडेलले बताए । उनका अनुसार, घटना घटेकै दिन उनका पति आयुष बुढा क्षेत्रीलाई पक्राउ गरि हिरासतमा राखिएको छ ।

मृतक स्वस्तिकाका माईती पक्षधरले श्रीमान् मुकेशविरुद्ध किटानी जाहेरी दिएको र दर्ता गरी आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाईएको प्रहरी उपरीक्षक पौडेल जानकारी दिए । उनका अनुसार, म्याद थप गरि अनुसन्धान भईरहेको छ ।

यस घटनालाई राजनीतिकरण गर्न खोजिएको आरोप समेत लगाईएको छ । मुकेश भनिने आयुष बुढा क्षेत्री साँसद नन्दलाल रोकायका छोरी पट्टिका छोरा हुन् । रोकाय उनलाई छुटाउन दवाव दिन जिल्ला प्रहरी कार्यालयमा पूगेको आरोप माईती पक्षको छ । यद्यपि प्रहरीले रोकाय आफ्नै कामको सिलसिलामा आएको, कुनै प्रकारको दवाव नदिएको बताएको छ । अर्काे तर्फ मृतक स्वस्तिका राप्रपाका महामन्त्री तथा साँसद राजेन्द्र लिङ्गलेनकी आफन्त हुन् । लिङ्गदेनले सो घटना बारे प्रहरीलाई सम्पर्क गरि निष्पक्ष छानविन गर्न भनेको स्रोतले बतायो ।

यस बारेमा प्रहरी उपरीक्षक पौडेल कसैको दबाब र प्रभावमा नपरि निष्पक्ष रुपमा अनुसन्धान गर्ने बताउँछन् । उनका अनुसार, पोष्टमार्टम रिपोर्टमा प्रष्टता नआएपछि भिसेरा रिपोर्टका लागि काठमाण्डौं पठाईएकोछ ।

कार्तिक ५ गते प्रेम बिबाह गरेको यो जोडीको दाम्पत्य जीवन सफल हुन सकेन । घटना घट्नु भन्दा अघि पनि दुई जनाको बिबाद हुने गरेको माईती पक्षको भनाई रहेको छ । तिमी मेरो आँखाको तारा, तिमी बिना कोही छैन साहरा, म तिमीलाई माया गर्छु भन्नै पर्दैन जस्ता गितहरुमा टिकटक बनाएकि स्वस्तिकाका भिडियोहरु अहिले सामाजिक सञ्जालमा भाईरल भईरहेका छन् । तर उनले टिकटक बनाएका गितहरु उनको जीवनमा उल्टो सावित भए । उमंग र सुखीका साथ मनाईने नयाँ बर्ष उनका लागि कालो दिन बनेर आयो र सोही दिन उनले मृत्युबरण गर्नु पर्यो ।

घटना घटिसकेपछि मृतकको शरिरमा देखिएका निलडाम, चोटपटकहरुको तस्विर सामाजिक सञ्जालहरुमा भाईरल बनाउँदै उनका आफन्त, शुभेच्छुकहरुले घटनाको निन्दा गर्नुका साथै दोषिलाई कार्वाही गरि पीडितलाई न्याय दिन माग गरिरहेका छन् । यस तर्फ सम्बन्धित निकायले निष्पक्ष छानबिन गरि घटनाको बास्तविकता सार्वजनिक गर्नुका साथै दोषिलाई कार्वाही गर्न जरुरी छ । यसो भयो भने मात्रै कलिलो उमेरमा जीवन गुमाएकि लिम्बुको दिवंगत आत्माले शान्ति पाउनेछ भने उनका आफन्तहरुले न्याय पाउनेछन्, समाजमा यस्ता घटना नहुनका लागि सन्देश प्रबाह हुनेछ ।

  • ८ बैशाख २०७६, आईतवार प्रकाशित

  • Nabintech