ध्वनी प्रदुषण र प्लाष्टिक नियन्त्रणका लागि पहल शुरु

असल शासन प्रतिनिधि

नेपालगञ्ज/नेपालगञ्जको बढ्दो ध्वनि प्रदुषण र प्लाष्टिक नियन्त्रणका लागि सम्वाद प्रक्रिया अघि बढाउन थालिएकोछ । अत्यधिक ध्वनी प्रदूषण र प्लाष्टिकको प्रयोग हुने शहरका रुपमा रुपान्तरण हुँदै गइरहेको नेपालगञ्जमा नियन्त्रणका लागि आवाज उठिरहेका बेला सम्वादको पहल शुरु गर्न थालिएको हो ।

जनसरोकार लगायतका विषयमा देखिएका विवाद र सम्भावित द्धन्द्धमा सहजीकरण गर्दै आएको सम्वाद समूह, बाँकेको सोमबार बसेको बैठकले ध्वनि प्रदुषण नियन्त्रण र प्लाष्टिक मुक्त नगरका लागि विशेष पहलकदमी लिने निर्णय गरेको हो ।

मानवीय तथा बातावरणीय स्वास्थ्य र सम्भावित द्धन्द्धसँग सम्वन्धित विषय भएको ठहर गर्दै सम्वद्ध सरोकारसँग सम्वाद  प्रक्रिया थाल्ने तयारी गरेको समूहका सहजकर्ता शुक्रऋषि चौलागाईले जानकारी दिनु भयो ।

प्रत्येक व्यक्तिलाई स्वच्छ र स्वस्थ वातावरणमा बाँच्ने हक हुनेछ भनी वातावरण तथा स्वास्थ्य सम्वन्धी हकलाई नेपालको संविधान अन्र्तगत मौलिकहकको रुपमा परिभाषित गरिएको छ । दुवै विषयमा सुक्ष्म विश्लेषण गरिसकेको सम्वाद समूह बाँकेले तत्कालै सरोकार पक्षसँग आवश्यक सम्वाद र सहजीकरण गर्नेछ ।

ध्वनी प्रदुषण नियन्त्रणका लागि समूहका सदस्य एवं अधिवक्ता प्रहलाद बहादुर कार्कीको संयोजकत्वमा ५ सदस्यीय सम्वाद उप समिती गठन गरिएको छ । उपसमितिमा समूहका सदस्यहरु प्रकाश उपाध्याय, मैमुना सिद्यीकी, विनोद रिजाल र आशीश बर्मा रहनु भएको छ ।

प्लाष्टिक मुक्तका लागि समूहका सदस्य एवं असल शासन अभियन्ता नमस्कार शाहको संयोजकत्वमा ५ सदस्यीय सम्वाद उप समिती गठन गरिएको छ । उपसमितीमा समूहका सदस्यहरु प्रदिप गुप्ता, तारा रोकाया, शोभा विसी र अस्मिता शाह सदस्य रहनु भएको छ ।

सहजकर्ता चौलागाईका अनुसार– उपसमितीले  सम्वद्ध सबै पक्षसँग आवश्यक्ताअनुसार छु्ट्टा छुट्टै, सामुहिक रुपमा चरणवद्ध सम्वाद प्रक्रिया बढाउनेछ ।

निरन्तर सम्वाद प्रक्रियाले सम्वद्ध पक्षलाई ठोस योजना बनाउन र प्रभावकारी कार्यान्वयनमा पनि मद्यत पुग्ने समूहका सदस्य एवं उपमहानगरपालिका उपप्रमुख उमा थापाले विश्वास व्यक्त गर्नु भयो ।

जनसरोकारका यी विषयलाई बेलैमा नियन्त्रण र नियमनमा ल्याउन सकिएन भने भोलीका दिनमा यसले थप समस्या र द्धन्द्धसिर्जना हुन सक्ने सम्भावना रहेकाले सम्वादमार्फत नै निकास खोजीनु वुद्धिमता हुने सम्वद्ध विज्ञको भनाई छ । सम्वाद समूहले सदरलाइन सडक विस्तार, हुलाकी सडकमा देखिएको अवरोध लगायत दर्जन बढी सवालमा सम्वाद सहजीकरण गरिसकेको छ ।

  • १७ बैशाख २०७६, मंगलवार प्रकाशित

  • Nabintech