स्तम्भ निर्माण कार्य अघि बढाउन सुझाव

असल शासन प्रतिनिधि

नेपालगञ्ज/नेपालगञ्ज उपमहानगरपालिकाको सहमतिमा नेपालगञ्ज उद्योग बाणिज्य सँघले निर्माण गर्न लागेको त्रिभुवन चौकको स्तम्भ सम्बन्धमा बैशाख २४ गते नेपालगञ्जमा छलफल गरिएको छ ।

बास नेपालगञ्जको आयोजनामा नेपालगञ्ज उद्योग बाणिज्य सँघको हलमा सो सम्बाद सम्पन्न भएको हो ।

२०७५ मंसिर १८ गतेको बैठकको निर्णय अनुसार नेपालगञ्ज उपमहानगरपालिकाले नेपालगञ्ज उद्योग बाणिज्य सँघलाई त्रिभुवन चौकमा निर्माणाधिन स्तम्भमा प्रतिमा राख्ने ठाउँ छोडि स्तम्भ राख्नका लागि सहमति दिएको थियो । सोही सहमति बमोजिम नेपालगञ्ज उद्योग बाणिज्य सँघले २०७५ चैत्र २५ गते स्तम्भ निर्माणको कार्य थालिएको थियो । स्थानीयहरुको सहमति बिपरित स्तम्भ निर्माण गर्न थालेको भन्दै स्थानीयहरुले बिरोध गरेपछि निर्माण कार्य रोकिएको थियो ।

पुनः चैत्र २७ गतेको बैठकको निर्णय अनुसार नेपालगञ्ज उपमहानगरपालिकाले नेपालगञ्ज उद्योग बाणिज्य सँघलाई यथासिघ्र स्तम्भलाई साविककै अवस्थामा बनाई बिबाद समाधानका लागि सरोकारवालाहरुसँग सम्बाद गरि प्राप्त सुझाव, सल्लाहका आधारमा कुनै पनि बिबाद नहुने गरि निर्माण कार्य अगाडी बढाउन निर्देशन गरेको थियो ।

सो निर्देशन पश्चात आधा भत्काईएको स्तम्भ कुरुप भएपछि उपमहानगरपालिकाले चौक ढाकेर सन्देश राखिरहेको छ भने स्तम्भ निर्माणका बिषयमा अन्यौलता छाईरहेको छ । यहि अन्यौलताका बिषयमा छलफल गरिएको थियो ।

छलफलका सहभागिहरुले तत्काल स्तम्भ निर्माणको कार्य अगाडी बढाउन सुझाएका छन् । सहभागिहरुले स्तम्भ यथास्थितीमा राख्दा चौक क्षेत्रको सौन्दर्यलाई प्रभावित पार्नुका साथै दैनिक रुपमा टिका टिप्पणि भईरहेकाले यथासक्य निर्माण कार्य कार्य आरम्भ गर्न सुझाव दिएका थिए ।

छलफलको अन्तमा वडानम्वर ८ र ११ का वडाध्यक्षलाई स्तम्भ निर्माण समितिको पदेन सदस्य राख्न सम्बद्ध पक्षलाई आग्रह गर्ने निर्णय समेत गरिएको छ ।

कार्यक्रममा नेपालगञ्ज उद्योग बाणिज्य सँघका अध्यक्ष नन्दलाल बैश्यले चौकको सौन्दर्यकरण गर्न दाता खाजेर असल उद्धेश्यका साथ काम थालनि गरेकाले सबैले सहयोग गर्न अनुरोध गरे ।

छलफलमा बोल्दै नेपाल उद्योग बाणिज्य महासँघका केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठले स्तम्भ निर्माण कार्यलाई सहज बनाउने काममा उपमहानगरपालिकाले सहजिकरण गर्नुपर्ने बताए ।

बरिष्ठ पत्रकार हेमन्त कर्माचार्यले स्थानीय व्यक्तिहरुसँगको सरसल्लाह बेगर स्तम्भ निर्माण गर्न थालिएकाले समस्या सृजना भएको उल्लेख गर्दै सबैको सहमतिमा तत्काल स्तम्भ निर्माण कार्य अघि बढाउनु पर्ने बताए ।

अधिकारकर्मी रबिन्द्र कर्णले तत्काल स्तम्भ निर्माण गर्नु पर्ने बताए । वडानम्वर ११ का वडाध्यक्ष उज्वल सिंह राठौर र वडानम्वर ८ का वडाध्यक्ष सुरेन्द्र गुप्ता बैश्यले चौक निर्माण कार्यमा ढिलाई गर्न नहुने बताए ।

समाजवादी पार्टीका जिल्ला अध्यक्ष कमरुद्धिन राईले चौकका बिषयमा बिबाद नगरि निर्माण कार्य अघि बढाउनु पर्ने बताए । कार्यक्रममा नेपालगञ्ज उद्योग बाणिज्य सँघका प्रबक्ता अभय बस्नेत, उपमहासचिव तारा रोकाय, बरिष्ठ सदस्य बसन्त लमिछाने, पत्रकार झलक गैरे लगाएतले बोलेका थिए ।

बासका कार्यकारी निर्देशक नमस्कार शाहले सहजिकरण गरेको कार्यक्रममा स्थानीयवासी, नागरिक समाजका प्रतिनिधि, पत्रकार, उद्योगी, व्यवसायीहरुको सहभागिता रहेको थियो ।

  • २७ बैशाख २०७६, शुक्रबार प्रकाशित

  • Nabintech