बार्षिक पूण्यतिथिमा सहयोग प्रदान

असल शासन प्रतिनिधि

नेपालगञ्ज/बासकी पूर्ब केन्द्रीय सदस्य रुक्मिणी शाहको ११ औं बार्षिक पूण्यतिथिमा बासले अभिभावक बिहिन एक बालक र हिंसा पीडित एक महिलालाई सहयोग प्रदान गरिएको छ ।

बासद्वारा नेपालगञ्जमा बैशाख २७ गते सम्पन्न बार्षिक पूण्यतिथि कार्यक्रममा उक्त सहयोग हस्तान्तरण गरिएको हो । शाहको सम्झनामा बासले स्थापना गरेको रुक्मिणी स्मृति अक्षय कोषबाट उक्त सहयोग प्रदान गरिएको हो ।

नेपालगञ्ज वडानम्वर १९ मा बिर बहादुर माझिको संरक्षकत्वमा रहि नेपालगञ्जको होप ईन्टरनेशनल एकेडेमि स्कुलमा अध्ययनरत १३ बर्षिय बिशाल बिष्टलाई अध्ययनका लागि रु. ५ हजार सहयोग प्रदान गरिएको छ भने नेपालगञ्ज वडानम्वर २० की घरेलु हिंसा पीडित महिला गंगा सुनारलाई व्यवसाय सञ्चालन गर्नका लागि रु. ५ हजार सहयोग गरिएको छ ।

बासका कार्यकारी निर्देशक नमस्कार शाह, गैर सरकारी संस्था नेटवर्कका अध्यक्ष चन्द्र प्रसाद तिमिल्सिना, बरिष्ठ पत्रकार तथा बासका सल्लाहकार पूर्णलाल चुके र माईती नेपाल नेपालगञ्जका प्रमुख केशव कोईरालाले संयुक्त रुपमा उक्त सहयोग प्रदान गरेका थिए ।
बिष्ट अभिभावक बिहिन जेहन्दार बालक हुन् भने सुनार आफ्नै श्रीमानबाट पीडित भई माईत बस्दै आएकि महिला हुन् ।

कार्यक्रममा बासका कार्यकारी निर्देशक तथा दिवँगत रुक्मिणीका दाजु नमस्कार शाहले रुक्मिणी शाहको व्यक्तित्व, बासमा शाहको संलग्नता र योगदान बारे चर्चा गरेका थिए भने घटनाका बारे जानकारी दिदैं बहिनीको सम्झनामा बिभिन्न सामाजिक कार्यहरु गरिरहेको बताएका थिए ।

कार्यक्रममा बोल्दै बासका सल्लाहकार तथा बरिष्ठ पत्रकार पूर्णलाल चुकेले रुक्मिणीको असल व्यवहार बारे चर्चा गर्दै सानो उमेरमैं ज्यान गुमाउन बाध्य भएको बताए । उनले शाह जस्ता हिँसा पीडित महिलाका लागि कोषले सहयोग गर्दै आएको भन्दै प्रशंसा गरेका थिए ।

कार्यक्रममा बोल्दै गैर सरकारी सँस्था नेटवर्क बाँकेका अध्यक्ष चन्द्र प्रसाद तिमिल्सिनाले आफ्नै श्रीमानबाट हत्या भएर ज्यान गुमाएकी शाहको योगदान समाजले कहिल्यै नभुल्ने बताए । उनले अपराध गर्ने अपराधिले कुनै पनि हालतमा उन्मुक्ति नपाउने बताए ।

बासकी निवर्तमान केन्द्रीय अध्यक्ष मन भण्डारीले शाहको जन्मदिन र पूण्यतिथिमा बिभिन्न सामाजिक कार्य गर्दै उनलाई स्मरण गर्दै आएको बताए ।

बासका महासचिव शिब कुमार बर्माले शाहले बासलाई दिएको योगदानको कदर बासले सधैं गरिरहने बताए ।

बासका उपनिर्देशक हेमराज भट्टले सञ्चालन गरेको कार्यक्रममा ६० बढिको सहभागिता रहेको थियो । बासका पदाधिकारी, सदस्य, कर्मचारी तथा स्वयंसेवकहरुको सहभागितामा सम्पन्न उक्त कार्यक्रममा शाहको सम्झनामा एक मिनेट मौनधारण गर्नुका साथै शाहको तस्विरमा अविर र पुष्प अर्पण गरिएको थियो ।

पूण्यतिथिमा सामाजिक कार्य :
शाहको पूण्यतिथिमा बिभिन्न सामाजिक कार्यहरु बासले गर्दै आएको छ । २०६६ देखि हाल सम्म बिभिन्न कार्यहरु गर्दै आएको हो । पहिलो, दोश्रो र तेस्रो बार्षिक पूण्यतिथिमा श्रद्धाञ्जलि सभा गरेको बासले चौथो पूण्यतिथिमा २०६९ बैशाख २७ गते नेपालगन्ज स्थित भेरी बृद्धाश्रममा रहेका बृद्ध बृद्धाहरुलाई फलफुल वितरण गरिएको थियो भने पाँचौं बार्षिक पूण्यतिथिमा २०७० बैशाख २७ गते शाहको स्मृतिमा रुक्मिणि स्मृति अक्षय कोष स्थापना गरिएको थियो । त्यसैगरी २०७१ बैशाख २७ गते शाहको छैटौं पूण्यतिथिमा बासले भेरी बृद्धाश्रम नेपालगञ्जमा फलफुल बितरण गरेको थियो ।

२०७२ बैशाख २७ गते सम्पन्न सातौं पूण्यतिथिमा बासले बागेश्वरी मन्दिरमा रहेका अशक्त, अपाँगता भएका व्यक्ति तथा जेष्ठ नागरिकहरुलाई फलफुल बितरण गरेको थियो भने २०७३ बैशाख २७ गते सम्पन्न आठौं बार्षिक पूण्यतिथिमा बासले साविकको मोतिपुर गाविस वडानम्बर ६ मटेरिया बर्दिया स्थायी घर भई हाल नेपालगञ्ज बस्दै आएकि घरेलु हिँसा पीडित सीतारानी चौधरीकी छोरी १६ बर्षिया छोरी सरस्वती चौधरीलाई स्टेशनरी सहयोग हस्तान्तरण गर्नुका साथै कक्षा ९ र १० पढ्दा लाग्ने सबै शुल्क घोषणा गरि १० कक्षा सम्म पढ्न सहयोग गरिएको थियो ।

२०७४ मा सम्पन्न नवौं बार्षिक पूण्यतिथिमा बासले निल सागर बृद्धाश्रम नेपालगञ्जमा आश्रित जेष्ठ नागरिकहरुलाई दैनिक उपभोग्य खाद्यान्न सामाग्रिहरु हस्तान्तरण गरेको थियो । त्यसैगरी शाहको १० औं बार्षिक पूण्यतिथिमा बासले बाँके सीतापुर माईती घर भई बर्दिया ठाकुरद्धारा घर भएकी ब्रेन ट्युमर रोग पीडित लक्ष्मी शाहीलाई उपचार सहयोगार्थ ५ हजार सहयोग हस्तान्तरण गरिएको थियो ।

यसका अलावा शाहको सम्झनामा स्थापित अक्षयकोषबाट उनको जन्म दिनको सम्झनामा अशक्त, अपाँगता भएका व्यक्ति, आर्थिक अभाब भएका बालबालिका, जेष्ठ नागरिक, हिँसामा परेका महिलाहरुलाई बिभिन्न सहयोग प्रदान गरिदै आएको छ ।

शाहको स्मृतिमा बासले ८० हजारको रुक्मिणी स्मृति अक्षय कोष स्थापना गरेको छ । उक्त कोषको व्याजबाट आउने रकमबाट यस क्षेत्रका हिँसा पीडित महिला, बिपन्न बालबालिकाहरुलाई सहयोग गर्ने उद्धेश्य लिईएको छ ।

स्मरण रहोस् २०६५ बैशाख २७ गते खासकाँरकाँदौमा बास पूर्ब केन्द्रिय सदस्य रुक्मिणी शाहका पति लगाएतले उनको दिउसै हत्या गरेका थिए । पूनरावेदन अदालतले अभियुक्तलाई सर्वश्व सहित जेल सजायको फैसला गरिसकेको छ ।

  • २७ बैशाख २०७६, शुक्रबार प्रकाशित

  • Nabintech