ईन्सपाईरिङ्ग युथमा कृष्णजँग शाह

असल शासन प्रतिनिधि

नेपालगञ्ज/बासको आयोजना र युएनडिपिको सहयोगमा साप्ताहिक रुपमा हरेक शुक्रवार सञ्चालन भईरहेको ईन्सपाईरिङ्ग युथको १३६ औं श्रृंखला जेष्ठ १० गते नेपालगञ्जमा सम्पन्न भएको छ ।

कार्यक्रममा बरिष्ठ समाजसेवी कृष्णजँग शाहले उत्प्रेरणात्मक प्रचवन दिएका थिए ।

आफ्नो जीवनको सँघर्षमय कथा सुनाएका शाहले कार्यक्रममा बोल्दै समाजका लागि आफ्नो गक्ष अनुसार योगदान गर्नुपर्ने बताए । उनले बार्षिक ५१ हजार आफुले समाजका लागि खर्च गरिरहेको उनले बताए । यसरी सबैले सामाजिक उत्तरदायित्व निर्वाह गरे समाज समृद्ध हुन्छ —उनले भने—यस कुरामा सबैले ध्यान दिन जरुरी छ ।

बर्दियामा एक दशक अघि स्थापना भएको गेरुवा ग्रामिण जागरण सँघको संस्थापक अध्यक्ष रहेका शाहले बिभिन्न सामाजिक सँघ, सँस्थामा आबद्ध भएर गरेका कार्यहरु बारे अनुभव सुनाएका थिए ।

गैर सरकारी सँस्था महासँघ बर्दियाका पूर्व अध्यक्ष, गैर सरकारी सँस्था समन्वय समिति बर्दियाका पूर्ब अध्यक्ष समेत रहेका शाहले कार्यक्रममा युवाहरुलाई अनुशासन, धैर्यता र ईमान्दारिताका साथ काम गरि अघि बढ्न सुझाव दिएका थिए ।

शाहले आत्मनिर्भरताका लागि बिबिधता अपनाउनुका साथै सृजनशिल भएर काम गर्न सबैलाई सुझाव दिएका थिए । हाल नेपालगञ्ज सद्भावनगरमा बसोवास गर्दे आएका शाहले घरमैं सामाजिक सद्भाव घर निर्माण गरेका छन् भने नेपालगञ्ज मुक्तिपुर पछाडीको टोलको नामकरण उनकै नेतृत्वमा सद्भावनगर रहेको छ ।

बिभिन्न जिल्लामा ७ वटा परियोजना सञ्चालन गरिरहेको गेरुवा ग्रामिण जागरण सँघको नेतृत्व गर्दे आएका शाह गैर सरकारी संस्थाहरुको अगुवा र अनुभव व्यक्तिको रुपमा परिचित छन् ।

कार्यक्रम संयोजक रबिन्द्र बोहराले सञ्चालन गरेको कार्यक्रममा ६० बढि युवाहरुको सहभागिता रहेको थियो ।

२०७३ जेष्ठ १ गते देखि साप्ताहिक रुपमा सञ्चालित ईन्सपाईरिंग युथ कार्यक्रममा बादबिबाद, उत्प्रेरणात्मक प्रवचन, सफलताको कथा बाचन, नेतृत्व बिकास, अनुभव आदान, प्रदान लगाएतका गतिविधिहरु सञ्चालन हुँदै आएका छन् ।

 

  • ११ जेष्ठ २०७६, शनिबार प्रकाशित

  • Nabintech