ईन्स्पाईरिङ्ग युथमा रमेश प्रसाईं आउँदै

असल शासन प्रतिनिधि

नेपालगञ्ज/बासद्धारा साप्ताहिक रुपमा सञ्चालित ईन्स्पाईरिङ्ग युथ (Inspiring Youth) कार्यक्रमको तेश्रो बार्षिकोत्सवको अवसरमा असार ३२ गते बिशेष कार्यक्रम आयोजना गरिदैछ ।

तेश्रो बार्षिकोत्सवको अवसरमा १३९ औं श्रृंखला बिशेष गर्न लागिएको बासले जनाएको छ ।

४०० बढि युवाहरुको सहभागिता रहने उक्त बिशेष कार्यक्रममा युवा उत्प्रेरक रमेश प्रसाईंको बिशेष उपस्थिती रहनेछ । पब्लिक स्पिकर सिजन २ का बिजेता धरान निवासी प्रसाई पहिलो पटक नेपालगञ्ज आउन थालेका हुन् ।

जन्मजात दृष्टिबिहिन प्रसाई समसामयिक, राष्ट्र, राष्ट्रियताका बिषयमा तार्किक बिचार दिदै आएका छन् । हाल चर्चामा रहेका युवा उत्प्रेरक प्रसाईंले भेरी प्राविधिक शिक्षालय नेपालगञ्जमा मध्यान्ह १२ बजेर १ मिनेटमा शुरु हुने कार्यक्रममा उत्प्रेरणात्मक प्रबचन दिनेछन् ।

कार्यक्रमको भव्य तयारी भईरहेको ईन्स्पाईरिङ्ग युथ कार्यक्रमका संयोजक रबिन्द्र बोहराले बताए । उनका अनुसार सहभागि हुनका लागि बिद्यार्थीलाई २ सय र अन्यलाई ५ सयको टिकटको प्रबन्ध गरिएको छ ।

कार्यक्रममा बर्ष भरि उत्प्रेरणात्मक प्रबचन दिने उत्प्रेरक बक्ताहरु, पत्रकार, नागरिक समाजका प्रतिनिधि, बिद्यार्थी, व्यवसायी लगाएत सर्बसाधारणको उपस्थिती रहनेछ ।

युवाहरुलाई सकारात्मक कार्यमा लाग्न अभिप्रेरित गर्ने, कर्तव्यशिल, ईमान्दार, अनुशासित र कर्मशिल युवा बन्न उत्प्रेरित गर्ने, उत्प्रेरणा र सशक्तिकरणका माध्यमबाट युवा शक्तिलाई समाज विकासमा परिचालन गर्ने, समृद्ध राष्ट्र निर्माणका लागि युवा शक्तिको सहभागिताका लागि अभिप्रेरित गर्ने उद्धेश्यले सञ्चालित ईन्स्पाईरिङ्ग युथ (Inspiring Youth)  कार्यक्रममा महिनाको पहिलो हप्ता सहभागिहरु बिच Debate , दोश्रो हप्ता फरक, फरक क्षेत्रका Motivator  द्धारा Motivational Speech, तेश्रो हप्ता फरक, फरक क्षेत्रका सफल, उदाहरणिय, बौद्धिक व्यक्तित्वद्धारा सफलताको कथा बाचन, महिनाको चौथो हप्ता युवाहरुलाई नेतृत्व विकास बारे तालिम प्रदान गरिदै आएको छ भने सहभागिहरुमा भएको ज्ञान र क्षमता आदान, प्रदान गर्ने कार्य समेत गर्ने गरिएको छ ।

२०७३ जेष्ठ १ गते देखि शुरु भएको कार्यक्रममा हाल सम्म ५००० बढिले सहभागिता जनाईसकेका छन् । नेपालगञ्जका सफल तथा उत्प्रेरक बक्ताहरुले प्रबचन दिईसकेको उक्त कार्यक्रममा यस अगाबै राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बास्कोटा, नायक जीवन लुईंटेल, बरिष्ठ म्याराथन धावक बैकुण्ठ मानन्धर, कथाकार महेश बिक्रम शाह, पूर्ब सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, चर्चित म्यागसेसेर पुरस्कार बिजेता महाबिर पुन, युवा उत्प्रेरक रोहित मल्ल, द आर्ट अफ लिभिङ्गका बरिष्ठ प्रशिक्षक कञ्चन घिमिरे लगाएतको उपस्थितीमा बिशेष कार्यक्रम सम्पन्न भईसकेको छ ।

  • २९ जेष्ठ २०७६, बुधबार प्रकाशित

  • Nabintech