विकास समितिको अध्यक्षमा शाह सर्वसम्मत

असल शासन प्रतिनिधि

अछाम/बागेश्वरी धार्मिक तथा प्राकृतिक, पर्यटकीय क्षेत्र विकास समिति, अछामको छैठौं बार्षिक साधारण सभा असार ३ गते सम्पन्न भएको छ । साधारणसभाले अध्यक्ष लोकेन्द्र बहादुर शाहलाई पुनः अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ ।

अछामको तुर्माखाँद गाउँपालिका वडानम्वर ५ नागपर्वतमा रहेको विकास समितिको उक्त साधारणसभाबाट तुर्माखाँद वडानम्वर ७ तोषिका तारा बहादुर चलाउने उपाध्यक्ष, तुर्माखाँद गाउँपालिका वडानम्वर ५ नाडा का शम्शेर बहादुर शाही सचिव, कमलवजार नगरपालिकाका परमभक्त भण्डारी सह—सचिव र तुर्माखाँद वडानम्वर ४ चिसीकी छत्रकला बयक कोषाध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएकाछन् ।

तुर्माखाँद बजार स्थित श्री कालिकेश्वरी मा.बि.को सभा हलमा सम्पन्न उक्त साधारण सभाबाट तुर्माखाँद गाउँपालिका वडानम्वर ५ नाडाकी गौमती शाही, हिमा कुमारी जैशी, तुर्माखाँद गाउँपालिका वडानम्वर ५ नाडाका हर्क बहादुर शाही, जीत बहादुर शाही, दिपेन्द्र बहादुर शाही, तुर्माखाँद गाउँपालिका वडानम्वर ४ चिसीका मन बहादुर बयक, झँकर बहादुर बुढा र तुर्माखाँद गाउँपालिका वडानम्वर ६ रानिवनका शिवराज न्यौपाने सदस्य पदमा निर्विरोध चयन भएका थिए ।

साधारण—सभाले प्रमुख संरक्षक तथा प्रमुख सल्लाहकारमा तुर्माखाँद गाउँपालिकाका अध्यक्ष पुष्पराज शर्मालाई मनोनित गर्ने निर्णय गरेको छ भने बरिष्ठ सल्लाहकारमा श्री कालिकेश्वरी मा.वि. तुर्माखाँदका प्रधानाध्यापक मनिराम बुढा, ढकारी गाउँपालिका वडानम्वर ३ का मोति सिंह बुढा, पत्रकार जयनारायण शाह, बासका कार्यकारी निर्देशक नमस्कार शाह, तुर्माखाँद गाउँपालिका वडानम्वर ८ धमाली निवासी समाजसेवी मिन बहादुर शाहीलाई मनोनित गरेको छ यसैगरी बिशिष्ठ सल्लाहकारमा तुर्माखाँद गाउँपालिकाकी उपाध्यक्ष अमृता देवि बुढालाई मनोनित गरिएको छ । यसैगरी साधारण सभाले सल्लाहकारहरुमा तुर्माखाँद गाउँपालिकाका वडानम्वर २ का वडाध्यक्ष शुभराज जैशी, ढकारी वडानम्वर ६ पैयासैनका रुपानन्द उपाध्याय, तुर्माखाँद वडानम्वर ५ का निरख बहादुर शाही र राज बहादुर शाहीलाई मनोनित गर्ने निर्णय गरेको छ ।

साधारणसभाको उद्घाटन तुर्माखाँद गाउँपालिका का अध्यक्ष पुष्पराज शर्माले गरेका थिए । उद्घाटन गर्दै अध्यक्ष शर्माले नेपालीहरु हिन्दु सभ्यतामा हुर्किएको उल्लेख गर्दै अहिले परिवर्तनका नाममा धर्म परिवर्तन गर्ने दुष्कार्य भईरहेको बताए । आफ्नो ऐतिहासिक पहिचानलाई भुलेर क्रान्तिकारी बन्ने बाहनामा आफ्नो मौलिकता, परम्परालाई भुल्ने कार्य भईरहेको भन्दै उनले चिन्ता प्रकट गरे ।

शर्माले बिश्वकै बिकसित राष्ट्र अमेरिकाका राष्ट्रपतीले सपथ लिँदा आफ्नो धर्म ग्रन्थलाई साक्षि राखि लिने गरेता पनि नेपाली राजनेताहरु ईश्वरको नाममा सपथ लिन हिच्किचाउने गरेको उल्लेख गर्दै परिवर्तनका नाममा गलत संस्कृति हावी हुँदै गईरहेको बताए । शर्माले बागेश्वरी धार्मिक तथा प्राकृतिक, पर्यटकीय क्षेत्र विकास समितिले उत्कृष्ठ कार्य गरेको भन्दै बधाई ज्ञापन गरे ।

कार्यक्रममा संस्थाको बार्षिक प्रतिवेदन प्रश्तुत गर्दै संस्थाका अध्यक्ष लोकेन्द्र बहादुर शाहले अछामको तुर्माखाँद गाउँपालिकाको नागपर्वत नाडामा प्राचिन बागेश्वरी मन्दिर रहि आएको र सोही मन्दिरको संरक्षणका लागि २०६८ सालमा सँस्था स्थापना गरिएको बताए । उनले पबित्र उद्धेश्यका स्थापना भएको संस्थाबाट नागपर्वत क्षेत्रको समग्र विकास, पर्यटन प्रबद्र्धन लगाएतका कार्यहरु भईरहेको बताए । उनले सँस्थाद्वारा अति प्राचिन बागेश्वरी मन्दिरको बिकास, बिस्तारका लागि बिभिन्न भौतिक निर्माणका कार्यहरु सम्पन्न हुनुका साथै निर्माणाधिन अवस्थामा रहेको बताए । उनले संस्थाद्वारा बिभिन्न सामाजिक कार्यहरु समेत भईरहेको बताए ।

कार्यक्रममा बोल्दै बास नेपालगञ्जका कार्यकारी निर्देशक नमस्कार शाहले धर्मले हरेक व्यक्तिहरुलाई अनुशासित बनाउने गरेको बताए । उनले संस्कार, संस्कृतिले समाज समृद्ध बन्ने भएकाले सामाजिक संस्कार, संस्कृतिको जगेर्ना गर्नुपर्ने बताए ।

संस्थाका सहसचिव परमभक्त भण्डारीले सञ्चालन गरेको कार्यक्रममा स्वागत कार्य समिति सदस्य गौमति शाहीले गरेकि थिईन् भने स्वागत गित श्री कालिकेश्वरी माविका विद्यार्थीहरुले प्रश्तुत गरेका थिए । कार्यक्रममा कोषाध्यक्ष छत्रकला बयकले आर्थिक प्रतिवेदन प्रश्तुत गरेकि थिईन् । कार्यक्रममा तुर्माखाँद गाउँपालिकाकी उपाध्यक्ष अमृता देबि बुढा, वडानम्वर ५ का वडाध्यक्ष तुलाराम जैशी, तुर्माखाँद वडानम्वर ७ तोषिका तारा बहादुर चलाउने, समाजसेवी मिन बहादुर शाही लगाएतले बोलेका थिए ।

कार्यक्रममा श्री कालिकेश्वरी माविका विद्यार्थीहरुले देउडा गित प्रश्तुत गरेका थिए । देउडा गित प्रश्तुत गर्ने कलाकारहरुलाई संस्थाका अध्यक्ष लोकेन्द्र बहादुर शाहले पुरस्कार तथा प्रमाणपत्र बितरण गरेका थिए । कार्यक्रममा श्री कालिकेश्वरी माविका प्रधानाध्यापक मनिराम बुढा, व्यवस्थापन समिति अध्यक्ष झंकर बहादुर बुढा, तुर्माखाँद गाउँपालिकाको वडानम्वर १ का वडाध्यक्ष थिर बहादुर रावल, वडानम्वर २ का वडाध्यक्ष शुभराज जोशी, वडानम्वर ३ का वडाध्यक्ष पदम बहादुर बि.सी., वडानम्वर ४ का वडाध्यक्ष कविराम बयक, वडानम्वर ५ का वडाध्यक्ष तुलाराम जैशी, वडानम्वर ६ का वडाध्यक्ष मुक्ति प्रसाद उपाध्याय, वडानम्वर ७ का वडाध्यक्ष, वडानम्वर ८ का वडाध्यक्ष चक्र प्रसाद धमाला, कार्यपालिका सदस्यहरु दमन बहादुर घर्ती, नर बहादुर बि.क., धर्मी देवि बुढा, बुधी कामी, जुरा देवी बयक लगाएतको बिशेष उपस्थित रहेको थियो ।

यसैगरी सोही दिन सम्पन्न नवनिर्वाचित कार्य समितिको पहिलो बैठकले तुर्माखाँद वडानम्वर ४ चिसीका खगेन्द्र बहादुर बयक, तुर्माखाँद वडानम्वर ४ जैशुरका भीम बहादुर बयक, तुर्माखाँद वडानम्वर ३ भैरवस्थान लकान्द्रका लक्ष्य बहादुर बुढा र तुर्माखाँद वडानम्वर ५ नाडाका छिता शाहीलाई सदस्य पदमा मनोनित गरिएको छ ।

२१ जनाको कार्य समिति रहने उक्त संस्थाको बिद्यानमा पदाधिकारी सहित १३ जना सदस्य साधारण सभाबाट निर्वाचित हुने व्यवस्था छ भने ४ जना कार्यसमितिबाट र ४ जना अध्यक्षबाट मनोनित हुने व्यवस्था छ । अध्यक्ष शाहका अनुसार, निर्वाचत १३ र समितिबाट मनोनित ४ जना सदस्य गरि १७ जनाको कार्य समिति चयन भएको छ भने बाँकी ४ जना सदस्य मनोनित गर्न बाँकी छ । बाँकी सदस्य मनोनित गरि मनोनित भएका सदस्यहरुबाट २ उपाध्यक्ष मनोनित गरिने अध्यक्ष शाहले जानकारी दिए । कार्यक्रममा २०० बढिको सहभागिता रहेको थियो ।

 

  • ८ असार २०७६, आईतवार प्रकाशित

  • Nabintech