नेपालगञ्जमा परोपकारी सहयोग कक्ष

असल शासन प्रतिनिधि

नेपालगञ्ज/ नेपालगञ्जमा परोपकारी सहयोग कक्ष स्थापना भएको छ ।

नेपालगञ्ज उप—महानगरपालिकाका प्रमुख डाक्टर धवल शमशेर राणा र उप—प्रमुख उमा थापा मगरले उक्त परोपकारी सहयोग कक्षको साउन १२ गते एक कार्यक्रमका बिच संयुक्त रुपमा उद्घघाटन गरेका छन् ।

बास नेपालगन्जको व्यवस्थापन, गैसस महासंघ नेपाल बाँके शाखा र नेपालगन्ज उप—महानगरपालिकाको सहकार्यमा स्थापित सहयोग कक्षको उद्ध्घाटन समारोहमा बोल्दै नेपालगन्ज उप—महानगरपालिकाका प्रमुख डाक्टर धवल शमशेर राणाले नेपालगन्जमा परोपकारी सहयोग कक्षको शुरुवात गरि नेपालमै नयाँ कामको सुरुवात गरिएको बताए ।

बिभिन्न बिकसित मुलुकहरुमा बिभिन्न परोपकारी कार्यहरु संचालन हुदै आएको सुन्दै आएकोमा आफ्नै नगरमा यस्तो कार्यको शुरुवात गर्ने अवसर प्राप्त भएको भन्दै प्रमुख राणाले गरिवीको रेखामुनि रहेका सिमान्तकृत समुदायका नागरिकहरुलाई सहयोग कक्षबाट सहयोग पुग्ने बताए ।

नेपालगन्ज उप–महानगरपालिका वडा नम्वर १ को धम्बोझी चौकमा स्थापना भएको उक्त सहयोग कक्षबाट लगाउन मिल्ने लत्ताकपडा, जुत्ताचप्पल, भाँडा बर्तन आवश्यक भएकाहरुलाई सहजै उपलब्ध गराईने बासले जनाएको छ । सहयोग कक्षबाट बितरण हुने सामाग्रि जो कोहीले उपलब्ध गराउन सक्नेछन् ।

कपडा बैंक बासको कार्यालय भृकुटिनगरमा रहनेछ भने बितरण उक्त कक्षबाट हुनेछ ।

बासका महासचिब शिव कुमार वर्माले संचालन गरेको कार्यक्रमको उद्धेश्यमाथि प्रकाश बासका निवर्तमान अध्यक्ष मन भण्डारीले पारेका थिए भने समापन बासका अध्यक्ष रमेश सिटौलाले गरेका थिए ।

कार्यक्रममा नेपालगन्ज उप–महानगरपालिकाका उप—प्रमुख उमा थापा मगर, बिभिन्न वडाका वडा अध्यक्ष, वडा सदस्यहरु, बिभिन्न संघ संस्थाका प्रतिनिधि, पत्रकार लगाएतको सहभागिता रहेको थियो ।

  • १२ श्रावण २०७६, आईतवार प्रकाशित

  • Nabintech