भूमि सुधार तथा मालपोतका छ कर्मचारी पक्राउ

असल शासन प्रतिनिधि

नेपालगन्ज/ सरकारी जग्गा कीर्ते गरेको आरोपमा भूमि सुधार तथा मालपोत कार्यालयका ६ जना कर्मचारीहरुलाई बाँके प्रहरीले पक्राउ गरेको छ ।

बाँकेका तत्कालीन प्रमुख मालपोत अधिकृत दीर्घ बहादुर पोखरेल, बर्दियाका तत्कालिन प्रमुख मालपोत अधिकृत पदमा कार्यरत कृष्ण प्रसाद ज्ञवाली सहित ६ जनालाई बाँके प्रहरीले साउन २० गते पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा तत्कालिन बाँके तथा बर्दिया जिल्लाको भूमि सुधार तथा मालपोत कार्यालयमा कार्यरत प्रमुख मालपोत अधिकृत, अधिकृत, नायव सुब्बा, खरिदार तथा कार्यालय सहयोगी रहेका छन् ।

सरकारी जग्गा व्यक्तिका नाममा नामसारी गरेको आरोप लागि फरार रहेका उनीहरुलाई काठमाडौंबाट पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ ।

जानकारी अनुसार, पक्राउ परेका व्यक्तिहरु समेतको मिलोमतोमा तत्कालिन बाँके तथा बर्दिया जिल्लाको विभिन्न स्थानमा रहेको सरकारी जग्गाको कागजात किर्ते गरि बिभिन्न व्यक्तिको नाममा पास गराएका थिए ।

जानकारी अनुसार, भारत जिल्ला बहराईच ग्राम मटैहिया, थाना मोतीपुर घर भई बाँकेको नेपालगञ्ज वडानम्वर १६ मा डेरा गरी बस्ने जग्गा कारोवारी ४० बर्षिय जुनेद अन्सारीलाई नेपालगञ्ज वडानम्वर ३ का कौशल भन्ने खैरुल हसन अन्सारीले माघ २१ गते अपहरण गरी भारत बहराईचमा लिई हत्या भएको दावी सहित मृतककी श्रीमति गौरी मल्ल अन्सारीले कर्तब्य ज्यान मुद्दाका दर्ता गरेकि थिईन् ।

सो घटनाको अनुसन्धान गर्दै प्रहरीले मृतक र अभियुक्त भनिएका खैरुल हसन अन्सारी जग्गा कारोबारी रहेको र निजहरु विच जग्गा किनवेचको रकममा कुरा नमिले पछी मृतकको हत्या भएको, मृतक र अभियुक्त खैरुल हसन अन्सारीले तत्कालिन बाँके तथा बर्दिया जिल्लाका कर्मचारीहरुको मिलोमतोमा सरकागी जग्गा व्यक्तिको नाममा पास गराएको अनुसन्धानबाट खुलेको थियो ।

सोही अनुसन्धानका आधारमा प्रहरीले केही कर्मचारी यस अघिनै पक्राउ गरिसकेको थियो भने त्यस ताका फरार रहेका कर्मचारीहरुलाई प्रहरी पक्राउ गर्न सफल भएको हो ।

पक्राउ पर्नेहरुमा दुई तत्कालिन प्रमुख लगाएत मालपोत कार्यालय बर्दियामा नायव सुव्वा रविन्द्र बहादुर थापा, कार्यालय सहयोगी सुर्य प्रसाद उपाध्याय, खरिदार पदमा किशोर कुमार रिजाल, मालपोत कार्यालय बाँकेका मालपोत अधिकृत हेमराज शर्मा, र अशोक कुमार भट्टराई रहेका छन् ।

बाँके र बर्दिया जिल्लाका विभिन्न ठाउँको सरकारी तथा सार्वजनिक जग्गा व्यक्तिका नाममा पु¥याउने तत्कालीन प्रमुख मालपोत अधिकारी पोखरेलसहित २८ जना विरूद्ध अख्तियारले जेठ ३० गते अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको
थियो ।

बाँकेका सरकारी र सार्वजनिक जग्गा व्यक्तिका नाममा नामसारी गर्दा २ करोड १६ लाख र बर्दियाका जग्गा व्यक्तिका नाममा नामसारी गर्दा २ करोड ३० लाख भ्रष्टाचार भएको दावी  गर्दै अख्तियारले मुद्धा दायर गरेको थियो ।

यसैगरी सरकारी जग्गा किर्ते गर्ने १९ जना सरकारी कर्मचारीहरुलाई बाँके प्रहरीले पक्राउ गरी मुद्दा दायर गरेको थियो । बाँके जिल्ला अदालतले यसअघि पक्राउ परेका १९ जना मध्ये १६ जनालाई थुनामा राख्न आदेश दिएको थियो । सरकारी कागज किर्तेमा मुद्दा चलाइएका प्रेम बहादुर चन्द, सञ्जय कुमार ठाकुर र तुलसीरानी थारुलाई जनही १ लाख रुपैयाँ धरौटीमा छाडिएको थियो ।

 

  • २१ श्रावण २०७६, मंगलवार प्रकाशित

  • Nabintech