रंगशाला प्रबेश निशेध

असल शासन प्रतिनिधि

भाद्र ३१ / नेपालगन्ज /
नेपालगन्ज रंगशालामा प्रबेश शुल्क निर्धारण गर्ने निर्णय पश्चात यस क्षेत्रका खेल सम्बद्ध ब्यक्ति तथा खेलाडीहरुले तिब्र आक्रोस जताएका छन् ।
राष्ट्रका लागि खेलकुद स्वास्थ्यका लागि खेलकुद भन्ने नारालाई प्रभावकारी रुपमा अवलम्बन गर्नुपर्नेमा मध्यपश्चिम खेलकुद विकास समितिको यो निर्णयले खेल भावनालाई निषेध गरेको सम्बद्धहरुले आरोप लगाएका छन ।
यस क्षेत्रकै एक मात्र ठुलो रंगशाला नेपालगन्ज रंगशालामा आठौं राष्ट्रिय खेलकुद भब्यताका साथ सम्पन्न भएपछि ब्यवस्थीत रंगशाला पाएका यस क्षेत्रका खेलप्रेमी तथा खेलाडीहरुमा हौसला थपेको थियो तर खेलकुद विकास समितिको असोज १ गते देखि प्रबेश शुल्क लगाउने निर्णयले खेलकुदलाई ब्यापारीकरण गर्न खोजेको आरोप खेलकुद विकास समितिलाई लागेको छ । सरकारले खेल मैदान खेलाडीहरुका लागि निर्माण गर्छ तर खेलाडीले नै प्रयोग गर्न नपाउदा त्यसको असर सिंगो खेल जगतलाई पर्ने देखिन्छ । नेपालगन्ज रंगशाला ब्यवस्थित भएसँगै हौसिएका खेलाडिहरु प्रबेश शुल्क निर्धारण पछि निरास भएका छन । राष्ट्रिय खेलकुद परिषदले खेलाडी उत्पादन गर्ने हो तर त्यसको बिपरित खेलिरहेका खेलाडीहरुलाई समेत निरुत्साहित गर्ने गरि निर्णय गरिनुलाई अदुरदर्शि निर्णय भन्दै आलोचना भईरहेको श्रोत बताउछ । रंगशालाको बिषयमा निति निर्देशिका बनाउदा सरोकारवालाहरुसँग छलफल तथा अन्तरक्रिया नै नगरी एकलौटी ढंगले निर्णय आएको श्रोतको दाबीछ । अर्को तर्फ हाल खेलकुद विकास समिति रित्त रहेको अवस्थामा गरिएको निर्णयले थप शंका उब्जाएको बताईन्छ । मध्यपश्चिम खेलकुद विकास समितिले हाल निर्धारण गरेको शुल्क तिरेर खेल्न र खेलाउन नसकिने सम्बद्धहरुको ठोकुवा छ ।
रंगशालालाको प्रबेशमा चर्को शुल्क निर्धारण गर्ने निर्णयले आफुलाई अचम्मीत बनाएको फुटबल सँघका केन्द्रीय सदस्य गोर्बद्धन सिंह सम्झनाले असल शासनलाई बताए । खेल मैदान खेलाडीका लागि निर्माण गरिने भन्दै सहज रुपमा खेलाडीले खेल्न पाउने ब्यवस्था खेलकुद विकास समितिले गर्नु पर्नेमा उनको जोड थियो । रंगशालामा खेल्न शुल्क तिर्नु पर्छ भने खेलाडीले कहाँ गएर खेल्ने उनको प्रश्न थियो ।
जिल्ला फूटबल संघ बाँकेका अध्यक्ष भोजराज शाहीले खेलकुद विकास समितिको निर्णय प्रति आपत्ती जताएका छन् । सबै खेलाडीहरुले खेल्न पाउनुपर्ने रंगशालामा शुल्क निर्धारण गरिदा हौसिएका खेलाडीहरुमा निरासा छाएको उनले बताए । खेलाडीबाट शुल्क उठाएर रंगशाला ब्यवस्थापन गर्ने अवस्था सिर्जना भएको हो भने रंगशाला उप–महानगरपालिकालाई जिम्मा दिनुपर्ने उनको सुझाव थियो । उनले खेलाडीबाट शुल्क उठाएर रंगशाला सञ्चालन गछौं भन्नु खेल भावना विपरित हो भन्दै तत्काल सो निर्णय सच्याउनु पर्ने माग गरेका छन् । उता रंगशाला प्रबेशमा शुल्क निर्धारण गरेकोमा नागरिक समाजले समेत बिरोध गरेकोछ । खेलकुद विकास समितिको गलत निर्णयको बिरोध स्वरुप सो निर्णय तत्काल सच्याउन ज्ञापन पत्र बुझाईएको सूचना तथा मानव अधिकार संरक्षण केन्द्र नेपालगन्जका अध्यक्ष बिश्वजित तिवारीले असल शासनलाई बताए । उनले निर्णय नसच्याए सम्म नागरिक समाजको तर्फबाट खबरदारी तथा बिरोध गरिरहने बताए । रंगशाला प्रबेशमा गरिएको शुल्क निर्धारणको बिषयमा राष्ट्रीय खेलकूद परिषद नेपाल अन्तर्गत प्रदेश नं ०५ खेलकूद विकास समिति का निर्देशक जयन्त कुमार शर्मासँगको पटक–पटकको सम्पर्क सफल हुन सकेन ।

  • ३१ भाद्र २०७६, मंगलवार प्रकाशित

  • Nabintech