जन्मदिनमा सामाजिक तथा मानविय कार्य

असल शासन प्रतिनिधि

  • नमस्कार शाह

सबैजनालाई आफ्नो जन्मदिन विशेष लाग्छ । यो हामी सबैको प्राकृतिक स्वभाव नै हो । हरेक व्यक्तिका लागि आफ्नो जन्मदिन प्रिय र अविश्मरणिय लाग्दछ । जन्मदिन खुसीसँग जोडिएको उत्सव हो । यो भन्दा ठूलो र महत्वपूर्ण दिन हरेक व्यक्तिलाई अर्काे दिन हुन सक्दैन । मान्छेको आकार लिएको दिन, धेरै जिम्मेवारी लिएर सुन्दर शरिर लिएर जन्मिएको दिन, ९ महिने आमाको कोख र प्रशव व्यथाका बावजुत ममतामयि आमाको पहिलो माया पाएको दिन अनि यो सुन्दर सँसार हेर्न पाएको दिन । जसलाई हरेक व्यक्तिले मनाउन चाहन्छ, खुसीयाली बाँड्न चाहन्छ, साथीसँगिसँग रमाउन चाहन्छ, ठूलावडाहरुको आशिष प्राप्त गर्न चाहन्छ । जस अनुरुप हरेक व्यक्तिहरुले आफ्नो जन्मदिन फरक—फरक रुपमा मनाईरहेका छन् । आफ्नो जन्मदिनमा भोजभतेर गर्ने, पिकनिक जाने, साथीहरुसँग बसेर धेरै खर्च गर्ने जस्ता कामहरु आजकल सामान्य जस्तै बनिसकेको छ । अझ युवापुस्ता माझ त यो एउटा संस्कृति नै बनिसकेको छ ।

जन्मदिन उत्सव हो मनाउनु पर्दछ, तर जन्मदिन मनाउने नाममा फजुल खर्च गर्नु हुँदैन, जन्मदिनलाई परोपकारी कार्य र सामाजिक कार्यलाई जोड्न सकियो भने त्यो भन्दा ठूलो महान कार्य अरु हुन सक्दैन भन्ने मान्यताको बिकास बिस्तारै हुँदै गईरहेको छ । पृथक तरिकाले जन्मदिन मनाउने कार्य आफैमा उत्तम कार्य हो, त्यसले निरन्तरता पाउनै पर्दछ । यसरी एक जनाले आफ्नो जन्मदिन पृथक रुपमा मनाउँदा केही न केही सामाजिक सेवा र परोपकारी कार्य त हुन्छ नैं । अझ जन्मदिनलाई सधैं अविश्मरणिय बनाउनका लागि परोपकारी कार्यलाई बढवा दिन जरुरी छ ।

मैले पनि आफ्नो जन्मदिन धेरै बर्ष साथी भाईहरु जम्मा गरेर भोज गरेरै मनाएँ । हरेक बर्ष मैले आफ्नो जन्मदिन मनाउँथे, साथी, भाईहरु, अग्रजहरु आउँथे, शुभकामना दिन्थे, अर्काे बर्ष मेरो जन्म दिन भुलिहाल्थे । फेरी मैले सम्झाएर जन्मदिनमा बोलाउनु पथ्र्याे, केही बर्ष यहि क्रम चल्यो । पछि मलाई यो कार्य फजुल लाग्यो र मैले जन्म दिन मनाउन छोडें । बिगतका केही बर्ष यता मैले आफ्नो जन्मदिनमा आफुले सक्ने केही सामाजिक कार्यहरु गर्दै आएकोछुँ ।

नेपालगञ्जको रंगशाला पछाडी सधैं सिक्रिले बाँधिन बाध्य नरु ईस्लाम खाँलाई लत्ता, कपडा प्रदान गरेर मैले सामाजिक कार्य जन्मदिनमा शुरु गरेको थिएँ । त्यसलाई निरन्तरता दिदै बिभिन्न बिपन्न बालबालिकाहरुको पढाईका लागि सहयोग गर्नुका साथै मृगौला रोगबाट प्रभावितहरुलाई सहयोग गरिसकेकोछुँ भने बिगत ३/४ बर्ष देखि आफ्नो जन्मदिनमा रक्तदान गर्दै आएकोछुँ । यि सबै कार्यहरु कुनै ठूला कार्य होईनन्, सामान्य कार्य हुन् तर यसको सन्देश महत्वपूर्ण छ भन्ने अभिप्राय मात्रै हो मेरो । मैले यसरी जन्मदिनमा सामाजिक कार्य गर्दा म कार्यरत संस्था बासमा आबद्ध धेरै साथीहरुले यस कार्यलाई निरन्तरता दिएका छन् ।

बासका पूर्व महासचिव सुरेन्द्र शाहीले आफ्नो जन्मदिनमा भेरी बृद्धाश्रमलाई १ महिना पूग्ने खाद्यान्न सहयोग गरे । बासकी उपाध्यक्ष लुना बुढाथोकीले जन्मदिनमा हरेक बर्ष रक्तदान गर्नुका साथै सामाजिक कार्य गर्दै आईरहेकि छिन् । बासकी पूर्व लेखा अधिकृत प्रतिक्षा गिरीले आफ्नो जन्मदिनमा दृष्टिबिहिन बालबालिकालाई नड.कट बितरण, बद्धाश्रमलाई फलफुल बितरण गर्ने देखि लिएर प्लाष्टिकमुक्त शहरका लागि कपडाका झोला सहकर्मीहरुलाई बितरण गरेकि थिईन् ।

बासकी पूर्व केन्द्रीय सचिव मञ्जु बोहराले आफ्नो दाईको जन्मदिनको अवसरमा बाँके नेत्रहिन सँघमा आश्रित बालबालिकाहरुलाई लत्ता, कपडा बितरण गरेकि            थिईन् । बास काठमाण्डौं शाखाकी कोषाध्यक्ष जना भण्डारीले समाज बिकास तथा प्रबद्र्धन केन्द्रमा आश्रित बालबालिकालाई न्यानो कपडा उपलब्ध गराएकि थिईन् । मेरो बहिनी शकुन्तलाले पनि समाज बिकास तथा प्रबद्र्धन केन्द्रका बालबालिकालाई जन्मदिनमा स्टेशनरी बितरण गरेकि थिईन् ।

बासकी केन्द्रीय सदस्य दिला शाहले त आफ्नो जन्मदिनमा बुवा, मुवाको सम्मानमा स्थापना गरेको मानदेवा परोपकारी अक्षय कोषबाट बिपन्न बालबालिका र उपचारका लागि आर्थिक अभाव भएका व्यक्तिहरुलाई आर्थिक सहयोगनैं प्रदान गर्दै आईरहेकि छिन् । बासका अध्यक्ष रमेश सिटौलाले यस बर्षको जन्मदिन निल सागर बृद्धाश्रम र कोहलपुरको त्रिभुवन माबिमा अध्ययनरता दृष्टिबिहिन बिद्यार्थीहरुलाई एक छाक खाना खुवाएर मनाए । नेपालगञ्जकी पत्रकार करुणा शाहले पनि बिगतका बर्षहरु देखि जन्मदिनमा सामाजिक कार्यहरु गर्दै आईरहेकि छिन् । उल्लेखित केही उदाहरण मात्र हुन् । धेरै व्यक्तिहरुले आफ्नो जन्मदिनमा असल कार्यहरु गरिरहेका छन् ।

म आबद्ध संस्था बासले त बिगत केही बर्ष देखि जन्मदिन शुभकोष सञ्चालन गरि परोपकारी अभियाननैं सञ्चालन गरेकोछ । बाढी पीडित, अग्नी पीडितहरुलाई राहत प्रदान गर्नुका साथै अपाङ्गता भएर जीवन व्यतित गर्न असहज भएका व्यक्तिहरुलाई समेत आर्थिक तथा भौतीक सहयोग गर्दै आएको यस संस्थामा आवद्ध पदाधिकारी तथा सदस्यहरुले पछिल्लो समय आफ्नो जन्मदिनलाई परम्परागत रुपमा नमनाइ पृथक रुपले मनाउँदै आएका छन् ।

परोपकारी कार्य गरेर जन्मदिन मनाउने अभियानले मुर्त रुप लिन थालेको महसुस भईरहेको छ । अहिले देशैभर जेष्ठ नागरिक, अपाँगता भएका व्यक्तिहरु, बालबालिकाहरुलाई केही सहयोग प्रदान गरेर जन्मदिन मनाउने काम भईरहेको छ । जन्मदिनलाई पृथक रुपमा मनाउन र जन्मदिनलाई परोपकारी कार्यसँग जोड्नका लागि जन्मदिन मनाउने नयाँ सोच सबैले राख्न जरुरी छ ।

जन्मदिन शुभ कोष परोपकार र सामाजिक सेवाको भावनाबाट अभिप्रेरित छ । ४० बढि बासका सदस्य, शुभचिन्तकहरुले जन्मदिन शुभ—कोषमा रकम जम्मा गर्दै आएकाछन् । यसरी जम्मा गरिएको रकमबाट व्यवस्थित र प्रभावकारी रुपमा परोपकारी तथा मानविय सेवाका कार्यहरु भईरहेका छन् ।

संकलित रकमबाट बालबालिकाहरुको पढाई, गरिव बिरामीहरुको उपचार, जोखिममा परेका वालवालिका तथा अन्यलाई सहयोग, बालगृहमा रहेका बालबालिका, बृद्धाश्रममा रहेका जेष्ठ नागरिकहरुलाई सहयोग, अपाँगता भएका व्यक्तिहरुलाई सहायक सामाग्रि तथा अन्य सहयोग, प्राकृतिक प्रकोप (आगलागी, बाढी, भुकम्प) पीडितलाई आवश्यक सहयोग गर्ने काम भईरहेकोछ । यसबाट मानविय सेवा, स्वयंसेवा, सामाजिक कार्य, परोपकारी सोच प्रबद्र्धन भएकोछ । त्यति मात्र होईन, हाम्रो जन्मदिनमा खर्च हुने रकमको बचत गरेर सामाजिक कार्यमा लगाउँदा आवश्यक भएकाहरुको आवश्यकता परिपूर्ति हुन्छ र हामीलाई बास्तविक सन्तुष्टि           मिल्छ ।

जन्मदिन कसरी मनाउने यो सबैको नितान्त व्यक्तिगत कुरा हो, तर भोज, भतेर, पार्टी फजुल हुन्, क्षणिक हुन् भन्ने मेरो बुझाई हो । साथीभाईहरुको जमघट आफैमा सकारात्मक कुरा हो, जन्मदिनमा केही खानै हुँदैन, रमाईलो गर्नै हुँदैन भन्ने होईन, गर्न सकिन्छ तर यसलाई खर्चिलो, भड्किलो बनाउन हुँदैन, यसलाई मितव्ययि बनाउनु पर्छ भन्ने आशय हो मेरो । जन्मदिन मनाउने नाममा बिभिन्न खाले बिकृति, बिसंगितहरु हावि भईरहेका छन्, हरेक व्यक्तिका जन्मदिन महँगो हुँदै गईरहेका         छन् । जन्मदिनका नाममा दारु पार्टी भईरहेका छन् । जन्म दिन मनाउने र सहभागि हुने दुबैलाई खर्च व्यवस्थापन गर्न सास्ति छ । यसलाई कम गर्दै अव जन्मदिनलाई परोपकार, सामाजिक सेवा तिर जोड्न जरुरी छ ।

हरेक व्यक्तिले आफ्नो जन्मदिनमा रक्तदान गर्ने हो भने नेपालका कुनै पनि रक्तसञ्चार केन्द्रमा रगत अभाव हुुँदैन र रगत अभावमा कसैले ज्यान गुमाउनु पर्दैन । हरेक व्यक्ति त सम्भव नहोला, धेरैले जन्मदिनको खर्च कटाएर केही न केही सामाजिक कार्य गरे भने कति धेरै मानविय कार्य होलान् हामी सहजै अनुमान गर्न सक्दछौं । अतः आउनुहोस् जन्मदिनमा सहयोग आवश्यक भएकाहरुलाई सहयोग गरि मानविय कार्य गरौं, आत्मसन्तुष्टि प्राप्त गरौं, यहीनैं हामी सबैका लागि उपयुक्त शुभकामना हुनेछ ।

  • ४ आश्विन २०७६, शनिबार प्रकाशित

  • Nabintech