सर्पदंश उपचारलाई प्रभावकारी बनाउन माग

असल शासन प्रतिनिधि

नेपालगञ्ज/सर्पदंश उपचार सेवालाई प्रभावकारी बनाउनुका साथै सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न माग गरिएको छ ।

युएनडिपिको सहयोगमा बासले असोज ६ गते नेपालगञ्जमा सम्पन्न गरेको सर्पदंशको उपचार र प्रभाव बिषयक अन्तरसम्वाद कार्यक्रमका सहभागिहरुले उक्त माग गरेका हुन् ।

गैसस महासँघ बाँकेको सभाहलमा सम्पन्न उक्त कार्यक्रमको अन्तमा सर्पदंश उपचार सेवालाई प्रभावकारी बनाउनुका साथै सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न भेरी अस्पताल तथा अन्य स्वास्थ्य संस्थाको ध्यानाकर्षण गराउने, सर्पदशंको बारेमा प्रचार प्रसार सचेतनामूलक कार्यक्रम गर्नका लागि सबै स्थानीय तहहरुसंग समन्वय गर्ने निष्कर्ष निकालिएको छ ।

कार्यक्रममा भेरी अञ्चल अस्पतालमा सर्पदंश बिरुद्ध उपचार गर्दै आईरहेका डाक्टर पारस पाण्डेले सर्पदंश यसका लक्षणहरु, प्राथमिक उपचार तथा दीर्घकालिन समाधान बारे बोलेका थिए । कार्यक्रमको शुरुवातमा नेपालगञ्जमा सर्पदंशको प्रभाव, सर्पंदंशको पहिचान, विभिन्न सर्पहरु र त्यसको डसाई बारे जानकारी र उपचार तथा घटनाबारे डाक्टर पाण्डेले जानकारी गराएका थिए । उनले तराई क्षेत्रमा कोब्रा र पहाडमा करेत सर्पहरुले मानिसलाई टोक्ने गरेको बताएका थिए ।

नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य शाखाका हरिहर तिवारीले सर्पदंश बिरुद्ध प्रभावकारी समन्वय जरुरी रहेको बताए । जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख अंगद बहादुर शाहीले सरकारी अस्पतालका कर्मचारीलाई यस बारे तालिम आवश्यक रहेको बताए । नेपाल रेडक्रस सोसाईटी, बाँके शाखाका प्रल्हाद वि.क. ले स्थानीय तहमा सबैलाई प्राथमिक उपचार बारे तालिम आवश्यक रहेको बताए ।

कार्यक्रमका बासका कार्यक्रम संयोजक शम्भु शाहीले सञ्चालन गरेका थिए भने बासका निवर्तमान अध्यक्ष मन भण्डारीले उद्धेश्यबारे बोलेका थिए । कार्यक्रममा २५ बढीको सहभागिता रहको थियो । कार्यक्रमको समापन बासका अध्यक्ष रमेश सिटौलाले गरेका थिए ।

  • ६ आश्विन २०७६, सोमबार प्रकाशित

  • Nabintech