सभामुख निवासबाटै महरा पक्राउ

असल शासन प्रतिनिधि

१९ असोज, काठमाडौं । बलात्कार प्रयासको आरोप लागेका निवर्तमान सभामुख बालुवाटारस्थित सभामुख निवासबाटै कृष्णबहादुर महरा पक्राउ परेका छन् ।

उनलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी भ्यानमा महराले भ्यानमा जान नमाने पछि प्रहरीले १६ च २९५८ नम्बरको निजि गाडी ल्याएको थियो तर महरा आफैैंले प्रयोग गर्ने बा १८ च ४०० नम्बरको निजी गाडीमा जान दिन आग्रह गरेपछि उनकै मागअनुसार प्रहरीले उनलाई निजी कारमा राखेर लगेको छ ।
रातो रंगको गाडीमा गएका उनीसँगै सादा पोसापका प्रहरीहरु खटिएका थिए ।

उनलाई महानगरीय प्रहरी वृत्त, सिंहरबारमा राखेर अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।

निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौंले आज असोज १९ गते अनुमति दिएको थियो ।
संसद सचिवालयकी कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोपमा शुक्रबार जाहेरी परेपछि प्रहरीले महरालाई पक्राउ गर्न अदालतसँग अनुमति मागेको थियो ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले महरालाई पक्राउ गरी अनुसन्धान गर्न अनुमति दिएको हो । अदालतको आदशेसँगै निवर्तमान सभामुख महरालाई पक्राउ गरेर अनुसन्धान गर्न प्रहरीलाई बाटो खुलेको थियो । महरामाथि संसद सचिवालयकी एक महिला कर्मचारीलाई बलात्कारको प्रयास गरेको आरोप लागेको छ ।

पीडित महिलाले असोज १२ गते महरा आफ्नो कोठा आई बलात्कार प्रयास गरेको बताएकि थिईन् । उक्त घटनाले व्यापक रुप लिए पछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सभामुख र सांसद दुवै पदबाट राजीनामा दिन निर्देशन दिएको थियो ।

पार्टीको निर्देशनमा महराले सभामुख पदबाट राजीनामा दिएएका थिए । यद्यपि हाल सम्म सांसद पदबाट भने राजीनामा दिएका छैनन् ।
महराले राजिनामा दिएपछि पीडित भनिएकी महिलाले बोली फेरिन् । उनले प्रहरी कहाँ उजुरी पनि दिईनन्, स्वास्थ्य परीक्षण पनि गराईनन् । उल्टै आफुलाई महरा सरबाट कुनै दुव्र्यवहार नभएको बताईन् ।

यहि क्रममा पीडित महिला र उनका पतिबीच सम्बन्ध विच्छेद गर्ने निर्णय सार्वजनिक भयो । यस घटनाले फेरी नयाँ रुप लियो । पीडित महिलाले शुक्रबार असोज १७ गते महराविरुद्ध किटानी जाहरी दिइन् । किटानी दिईसकेपछि प्रहरीलाई अनुसन्धान गर्न सहज भएको थियो ।

  • १९ आश्विन २०७६, आईतवार प्रकाशित

  • Nabintech