सामाजिक सद्भावका लागि नरैनापुरमा उत्सव

असल शासन प्रतिनिधि

नेपालगन्ज/सामाजिक सद्भाव, सामुदायिक मेलमिलाप र एकताको सन्देश प्रवाह गर्ने उद्धेश्यले बाँकेको नरैनापुरमा सामाजिक सद्भाव प्रबद्र्धनका लागि साँस्कृतिक उत्सब गरिएको छ ।

विगतका वर्षहरु देखि बाँकेको नरैनापुर गाउँपालिकामा हरेक वर्ष बास नेपालगञ्जले सञ्चालन गर्दै आएको साँस्कृतिक उत्सव कार्यक्रमले यस वर्ष पनि निरन्तता पाएको हो । युएनडिपि र नरैनापुर गाउँपालिकाको सहयोग, बासको आयोजना, राष्ट्रिय युवा महासँघ नेपाल, गैर सरकारी संस्था महासँघ नेपाल, बाँके शाखाको सहकार्यमा नरैनापुर गाउँपालिकाको वडा नं. ४ स्थित आँप बगियामा कार्तिक ४ गते सांस्कृतिक उत्सव सम्पन्न भएको छ ।

बिभिन्न धर्म, समुदाय तथा जातजातीको वसोवास रहेको नरैनापुर क्षेत्रमा आयोजित सांस्कृतिक उत्सवमा बिभिन्न धर्म तथा जातजातीको सांस्कृतिक झाँकिहरु तथा बिभिन्न साँस्कृतिक प्रस्तुतीहरु प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा मुस्लिम धर्मावलम्बिहरुले मोहर्रम पर्वमा बजाउने बाजा तथा हिन्दु धर्मावलम्बिहरुको भजन प्रस्तुत गरिएको थियो भने स्थानीय धार्मिक गुरुहरुले सामाजिक सद्भावको सन्देश दिने गित तथा कविता प्रस्तुत गरेका थिए । कार्यक्रममा वरिष्ठ कलाकार कमल बिके निर्मोही र श्यामानन्द सिंहले सांस्कृतिक प्रस्तुतिकरण गरेको कार्यक्रममा बिभिन्न कलाकारहरुले सामाजिक सद्भाव झल्किने नाटक, गित तथा नृत्य प्रस्तुत गरिएका थिए । कार्यक्रममा लाठि नाच समेत देखाईएको थियो ।

नरैनापुर गाउँपालिकाका अध्यक्ष ईस्तियाक अहमद शाहको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि, सुरक्षा निकाय बिभिन्न सामाजिक सद्भाव समिति, संघ संस्था, पत्रकार, स्थानीय गरि ५ सय बढिको सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष ईस्तियाक अहमद शाहले सामाजिक सद्भाव प्रवद्र्धनका लागि बासले महत्वपुर्ण भुमिका खेलेको बताए ।

विगतका केहि बर्षहरुमा दुई धर्म विच भएको द्धन्द्ध, विवाद तथा झैझगडाले सामाजिक सद्भावमा असर पुगेको स्मरण गर्दै अध्यक्ष शाहले भने “पछिल्ला केहि वर्ष यता सबैको प्रयासका कारण नरैनापुरको सामाजिक सद्भाव मजवुद बनेको छ ।” बिभिन्न धर्म, समुदाय तथा जातजातीहरु एक आपसमा मिलेर बस्ने गरेको बताउँदै एक अर्कामा भाइचाराको सम्बन्ध स्थिापित भएको शाहको भनाइ थियो ।
कार्यक्रममा नरैनापुर गाउँपालिका वडा नं. ३ का अध्यक्ष राज कुमार मौर्य, गैसस महासंघ बाँकेका सल्लाहकार तेजविक्रम शाह, महेन्द्र मावि मटेहियाका पुर्व प्रधानाध्यापक पेशकार सिंह लगाएतले बोलेका थिए ।

बासका केन्द्रीय अध्यक्ष रमेश सिटौलाको अध्यक्षतामा भएको सांस्कृतिक उत्सवको संचालन बासका प्रदेश नं. २ का संयोजक मकवुल अहमद मुकेरीले            गरेका थिए । बासका केन्द्रीय महासचिब शिव कुमार वर्माले स्वागत तथा कार्यक्रमको उद्धेश्य माथि प्रकाश पारेका थिए ।
सामाजिक सद्भाव प्रवद्र्धनका लागि बासले परियोजना अन्तरगत यस्ता उत्सबहरु गर्दै आएको छ ।

  • ६ कार्तिक २०७६, बुधबार प्रकाशित

  • Nabintech