स्वतन्त्रद्वारा भैलो कार्यक्रम, साठी हजार संकलन

असल शासन प्रतिनिधि

बुटवल । स्वतन्त्र पत्रकार संघ नेपालको रुपन्देही शाखाद्वारा तिहारको बेलामा देउसीभैलो कार्यक्रम गरी ६० हजार रुपैयाँ संकलन गरिएको छ । उक्त रकम शाखाले अक्षयकोष बनाउने भएको छ ।

तिहारको बेलामा चार दिनसम्म भैलो कार्यक्रम सञ्चालन गरी उक्त रकम संकलन गरेको स्वतन्त्रको जिल्ला शाखाका अध्यक्ष अनिल पहाडीले बताए । उनका अनुसार स्वतन्त्रका प्रदेश उपाध्यक्ष ईश्वरी पौडेल संयोजक र शाखाका सदस्य मोहन केसी सहसंयोजक रहने गरी भैलो समिति गठन गरी देउसो भैलो खेलिएको हो । भैलो कार्यक्रममा स्वतन्त्रका राष्ट्रिय उपाध्यक्ष राजेन्द्रजंग राजयमाझीलगायत जिल्ला शाखाका पदाधिकारीहरूको सहभागिता रहेको शाखाका उपाध्यक्ष चक्रपाणि डुम्रेले बताए । उनका अनुसार बाह्य कलाकारहरू विक्रमबाबु विक सहितका केहीले समेत उक्त देउसी भैलो कार्यक्रममा सहयोग गरेका थिए ।

देउसीभैलो कार्यक्रमबाट खर्च कटाएर ६० हजार रुपैयाँ संकलन भएको भैलो कार्यक्रमका संयोजक ईश्वरी पौडेलले बताए । उनका अनुसार देउसीभैलोका अवसरमा भएको खर्च कटाई बचत भएको रकम हो ६० हजार रुपैयाँ । स्वतन्त्रका जिल्ला शाखाले आफ्नै पहलमा यसरी अक्षयकोष निर्माणको कार्यक्रम गरेको यो पहिलो पटक हो ।

  • १७ कार्तिक २०७६, आईतवार प्रकाशित

  • Nabintech