मापदण्ड बिपरित बाँकेका पम्पहरु, पम्पका कारण जोखिमको खतरा

असल शासन प्रतिनिधि

हेमराज भट्ट । नेपालगन्ज ।
सुरक्षाको दृष्टिकोणले अत्यन्तै जोखिमपूर्ण मानिने पेट्रोल पम्पहरु मुख्य राजमार्ग तथा बजार देखि टाढा राख्नुपर्ने प्रावधान रहेता पनि बाँकेमा खोलिएका अधिकांस पम्पहरु बजार भित्रै छन् ।
जिल्लामा रहेका अधिंकास पेट्रोल पम्पहरु मुख्य राजमार्गको दायाँ–बायाँ तथा घना बस्तिको बिचमा सञ्चालनमा ल्याईंदा कुनै पनि बेला ठुलो जोखिम निम्तिन सक्ने सम्भावना रहेको छ । पेट्रोल पम्पहरुमा ठुलो परिमाणमा ज्वलनशिल पदार्थको भण्डार गरिने भएकाले पम्प रहेको ठाउँलाई अत्यन्तै सम्बेदनशिल मानिन्छ तर बाँकेमा भने पम्प सञ्चालकहरुले सामान्य मापदण्डको समेत ख्याल नगरेको पाईन्छ । जसका कारण पम्पहरु सबैका लागि खतरा भईरहेका छन् । पेट्रोल पम्पहरुको मापदण्डको बारेमा ख्याल नहुनु र सम्बन्धित निकायको ध्यान त्यस तर्फ नजानुले बजार नजिक पम्पहरु खुल्ने क्रम बढिरहेको छ । भबिष्यमा आउने खतराको बारेमा ख्याल गर्दै पेट्रोल पम्पलाई राजमार्ग तथा शहरी क्षेत्र र घना बस्ति भएको स्थानमा राख्न नपाउने प्रावधान रहेको छ तर त्यसको बिपरीत बर्षेनी पम्पहरु खुल्ने क्रम चलिनै रहेको छ ।
पेट्रोलियम पदार्थ बिक्रेता विनियमावली–२०७५ को परिच्छेद–३ विक्रेताको विक्रीस्थलको मापदण्ड सम्बन्धी व्यवस्था अनुसार साधारण बिक्रेता, पेट्रोल बिक्रेता बीचको विक्रीस्थलको दुरी कम्तीमा तीन सय मिटरको परिधी बाहिर हुनुपर्ने ब्यवस्था गरेको छ भने प्याक्ड बिक्रेताको हकमा नमुना पम्प बिक्रेता, साधारण विक्रेता, पेट्रोल बिक्रेता वा मट्टितेल बिक्रेताको विक्रीस्थलको दुरी कम्तिमा पाँच किलोमिटर परिधी बाहिर हुनुपर्ने ब्यवस्था छ । साथै पम्पहरुले डिजिटल पम्प राख्नुपर्ने, फायर फायरिङ्ग, खाने पानि तथा शौचालय को ब्यवस्था गर्नुपर्ने तथा कफि सप, बस्ने ब्यवस्था लगायतको ब्यवस्थापन गर्नुपर्ने नियमावलिमा ब्यवस्था छ । बिक्रेताले मापदण्ड अनुसार गर्नुपर्ने कार्य नगरेको पाईएमा प्रथम पटक भए पच्चिस हजार रुपैयाँसम्म जरिवाना, दोस्रो पटक भए पचास हजार रुपैयाँसम्म जरिवाना तथा तेस्रो पटक भए एक लाख रुपैयाँसम्म जरिवाना र छ महिना सम्मको लागि आपूर्ति वन्द गर्न सकिने गरि जरिवानाको ब्यवस्था गरेको छ । विनियम अनुसार गर्नु पर्ने कार्य नगरेमा र गर्न नहुने कार्य गरेमा निगमले प्रथम पटक भए एक लाख रुपैयाँसम्म जरिवाना र छ महिना सम्मको लागि आपूर्ति वन्द, दोस्रो पटक भए पाँच लाख रुपैयाँसम्म जरिवाना र नौ महिना सम्मको लागि आपूर्ति वन्द तथा तेस्रो पटक भए दश लाख रुपैयाँसम्म जरिवाना र एक वर्षसम्मको लागि आपूर्ति वन्द गर्ने गरि जरिवानाको ब्यवस्था गरेको छ । मापदण्ड अनुसार एक पम्प देखि अर्को पम्पको दुरी ३०० मिटर हुनुपर्छ । बाँके जिल्लामा हाल ३५ को हाराहारीमा पेट्रोल पम्पहरु रहेको बताईन्छ । अधिकांस पम्पहरु सडक छेउछाउमा छन् । नेपालगन्ज बजारमा मात्रै २० देखि २५ पेट्रोल पम्पहरु हाल सञ्चालनमा रहेका छन् । पुराना पम्पहरु नयाँ ठाउँमा पूर्नस्थापना नहुनु र नयाँ पम्पहरु समेत धमाधम सडक छेउमा खुल्न थालेपछि भविष्यमा झनै समस्या सिर्जना हुने जानकारहरु बताउछन् । नेपालगन्ज बजारको पुष्पलाल चौक, बिपिचौक लगाएत सुर्खेतरोडको दायाँ–बायाँ सडक छेउमै दर्जनौ पम्पहरु संचालित छन् । सुरक्षाका दृष्टिकोणले निकै जोखिममा रहेका पम्पहरुको दायाँ–बायाँ होटलहरु छन् जसले त्यस आसपासका स्थानीयहरु तर्सित छन् । बेलाबेलामा नेपालगन्जका पम्पहरुको अनुगमन गर्ने समितिहरुले मापदण्ड विपरित रहेका पेट्रोल पम्पहरुलाई मापदण्ड पुरा गर्न र स्थानान्तरण गर्न निर्देशन दिदै आएका छन् तर पनि हाल सम्म कुनै पनि पेट्रोल पम्प सारिएको पाईंदैन भने निर्देशनको पम्प सञ्चालकहरुले बारम्बार अटेरी गर्दा समेत पम्प सञ्चालकलाई कुनै पनि प्रकारको कार्वाही भएको छैन ।
नेपालगन्ज उपमहानगरपालिकाको अति नै ब्यस्त रहने बिपि चौक नजिकै पेट्रोल पम्प छ केही दिन अगाडी मात्रै सो पम्पबाट झण्डै २०० मिटरको दुरिमा रहेको एउटा पसलमा आगजनी भयो एकाएक ठुलो आगलागी भएपछि त्यस आसपासका स्थानीयहरु त्रसित भएका थिए । स्थानीय तथा प्रहरीको अथक प्रयास पछि आगो नियन्त्रणमा आयो जसले ठुलो क्षती हुनबाट जोगियोे । यस्तै पुष्पलाल चौक नजिकै रहेको बागेश्वरी आयल स्टोर होटेलहरुको बिच सडक छेउमा सञ्चालित छ । नेपालगन्जमा बढ्दो शहरीकरण सँगै ब्यवसायीहरुको संख्या समेत बढ्दै गएपछि आगलागी लगाएतको जोखिम झनै बढ्न थालेको छ । नेपालगन्ज बजारमा रहेका अधिकांस पेट्रोल पम्पहरु होटल, काठ÷प्लाइउड पसल तथा सिरक डसना पसलहरुको आसपासमा छन् जसले भविष्यमा आगलागिको डरलाग्दो जोखिम निम्त्याउने देखिन्छ । यसरी पम्पहरु मापदण्ड अनुसार नभए पनि पहिले नै निर्माण गरिएका कारण अन्यत्रै सार्न कठिनाई भएको नेपाल आयल निगम क्षेत्रीय कार्यालय नेपालगन्जका प्रमुख नव विनोद पोखरेलले बताए । उनले बजार क्षेत्रमा जोखिममा रहेका पम्पहरुलाई ब्यवस्थित गर्न पत्राचार गरिसकेको बताए । जिल्ला स्थित सबै पम्पहरु पत्राचार गरि निर्देशिकाले तोके बमोजिम ब्यवस्थापन गर्न एक बर्षको समय दिईएको उनले बताए । गुणस्तर परीक्षणको काम नियमित भईरहेको बताउँदै पम्पहरुको फाल्गुनमा मापदण्डको अनुगमन गर्ने योजना रहेको उनले असल शासन पोष्टलाई बताए । नेपालगन्जमा मापदण्ड विपरित संचालनमा रहेका निकै पुराना पम्पहरुलाई मापदण्ड भित्र ल्याउन तथा अर्को स्थानमा स्थानान्तरण गर्न समस्या रहेको देखिन्छ । नेपालका अधिकांस ठुला शहरहरुमा पेट्रोल पम्पहरु व्यवस्थित र मापदण्ड भित्र नहुदा सरकारले काठमाण्डौ उपत्यका लगायतका स्थानमा पम्पहरु पूर्नस्थापना गर्ने कार्य अगाडी बढाएको छ । बढ्दो शहरिकरणलाई ध्यानमा राखि यस क्षेत्रका पम्पहरुलाई पनि पूर्नस्थापना गर्ने तथा नयाँ पम्पहरुको अनुमती दिदा मापदण्ड अनुसार मात्रै खोल्न दिएमा जोखिम कम हुने थियो । यसबारेमा सम्बन्धित निकाय चनाखो हुन जरुरी छ ।

  • १४ पुष २०७६, सोमबार प्रकाशित

  • Nabintech