बैतडीमा छाउगोठ नै छैन

असल शासन प्रतिनिधि

बैतडी । असल शासन डटकम ।
सुदुर पश्चिम प्रदेशको बैतडी जिल्लामा एउटा पनि छाउगोठ नभेटिएपछि बैतडीलाई छाउगोठ मुक्त जिल्लाको रुपमा चिनिने भएको छ ।
नेपाल सरकारले सुदुरपच्मिका जिल्लाहरुमा छाउगोठ भए नभएको तथ्यांक संकलन गर्न सम्बन्धित जिल्ला प्रशासनहरुलाई निर्देशन दिएसँगै गरिएको सर्वेक्षणका क्रममा बैतडीमा एउटा पनि छाउगोठ नभेटिएको हो । जिल्ला प्रशासन कार्यालय बैतडीले तयार गरेको प्रतिबेदनमा गृह मन्त्रालयले पुस ८ गते छाउगोठलाई नष्ट गर्न निर्देशन दिएपश्चात प्रशासनले जिल्लाभित्र छाउगोठ नभेटेको जनाएको छ। प्रशासन कार्यालयले विभिन्न ठाउँमा रहेका प्रहरी युनिट, स्थानीय तह र सरोकारवालासँग छलफल पश्चात छाउगोठ नरहेको निष्कर्ष निकालेको प्रशासन श्रोतले जनाएको छ। सरकारले निर्देशन दिएपश्चात छाउगोठ रहेरनरहेको बारे तथ्याङ्क संकलन गर्न प्रशासनले सबै स्थानीय तह र प्रहरी युनिटहरुमा पत्राचार नै गरि तथ्यांक संकलन गरिएको थियो ।

मुलुकी अपराधसंहिता, २०७४ ले परिभाषित गरेका सामाजिक विभेद र भेदभाव तथा अपमानजनक व्यवहारविरुद्धका कानूनी व्यवस्था सम्बन्धमा आम नागरिकमा व्यापक सचेतनामूलक अभियान सञ्चालन गर्न पनि मन्त्रालयले निर्देशन दिएकोछ। स्थानीय प्रशासनहरुले छाउगोठमा राखेको पाएमा कार्बाही गर्ने जनाएको छ । सुदूरपश्चिमको सबैभन्दा बढी छाउगोठ भएको जिल्ला अछाम हो । जहाँ अहिलेसम्म झण्डै ४ हजार छाउगोठ भत्काएको अछाम प्रहरीको तथ्याङकमा उल्लेख छ ।

  • १९ माघ २०७६, आईतवार प्रकाशित

  • Nabintech