ईमान्दारिता र नैतिकता बारे बहस

असल शासन प्रतिनिधि

नेपालगञ्ज/ईमान्दारिता र नैतिकता प्रबद्र्धनका लागि नेपालगञ्जमा ईमान्दारिता सम्मेलन सम्पन्न भएको छ । एकाउण्टबिलिटि ल्याब र बासको आयोजनामा सो सम्मेलन फाल्गुण २५ गते सम्पन्न भएको हो ।

कार्यक्रममा ईमान्दारिता, नैतिकता र सदाचारिताका बारेमा व्यापक बहस भएको थियो । बासका निर्देशक हेमराज भट्टले कार्यक्रमको सञ्चालन गर्दै ईमान्दारिता बारे बहस छेडे । उनले ईमान्दारिताका लागि के गर्नु पर्दछ ? भन्ने जिज्ञाशालाई सहभागिहरुका बिचमा राखेपछि बासका कार्यकारी निर्देशक नमस्कार शाहले कार्यक्रमको औचित्य माथि प्रकाश पारे ।

उनले ईमान्दारिता सबैले पालना गर्नु पर्ने कर्तव्य भएको उल्लेख गर्दै हरेक व्यक्तिमा ईमान्दारिता अन्तरनिहित रहेको बताए । उनले भने —बाटोमा भेटेको मोवाईल भेट्दा तुरुन्तै स्विच अफ गरेर सिम फ्याँकि आफुले प्रयोग गर्ने त्यहि व्यक्ति आफ्नो मोवाईल हराउँदा तुरुन्तै आफुलाई फिर्ता देओस् भन्ने अपेक्षा राख्दछ, खै यो सानो कुरामा नैतिकता ?

उनले बाल्य अवस्था देखिनैं अभिभावकले नैतिकता सिकाउनु पर्ने र राज्यले पाठ्यक्रममा नैतिक शिक्षा राख्नु पर्ने बताए ।

कार्यक्रममा खजुरा गाउँपालिकाकी उपाध्यक्ष एकमाया बि.क.ले अधिकार माग्ने मात्र नभई कर्तव्य पुरा गरेमा ईमान्दारिता प्रबद्र्धन हुने बताईन् । उनले सामाजिक जवाफदेहितानैं ईमान्दारिताका आधार भएको उल्लेख गरिन् ।

नेपाल उद्योग बाणिज्य महासँघका केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठले सकारात्मक कामको प्रशंसा बाटै नैतिकता प्रबद्र्धन हुने बिचार राखे । कार्यक्रमका अर्का बक्ता गैसस महासँघ नेपाल बाँकेका पूर्ब अध्यक्ष तेज बिक्रम शाहले एक अर्काको अस्तित्व स्विकार गरेमा मात्र समाजमा नैतिकता कायम हुने बताए । गैसस महासँघ बाँकेका सचिव आशिष बर्माले सबैको आत्मसम्मान जरुरी रहेको उल्लेख गरे ।

खुला शत्रमा बोल्ने युवाहरु रबिन्द्र बोहरा, शर्मिला थापा, कल्पना अधिकारी, सुरेन्द्र चलाउने, बिनोद शर्मा, राजन बर्मा, ओजश्बि जोशी, पूजा बर्मा लगाएतले ईमान्दारिता हरेक व्यक्तिको दायित्व भएको बताए ।

कार्यक्रममा ईमान्दारिता, सदाचार बारे तयार पारिएको श्रव्य दृश्य समेत प्रश्तुत गरिएको थियो । कार्यक्रममा ६० बढिको सहभागिता रहेको थियो । बासका अध्यक्ष रमेश सिटौलाले सहभागिहरुलाई धन्यवाद दिदैं आआफ्नो तर्फबाट ईमान्दारिताका लागि पहल गर्न आग्रह गरेका थिए ।

  • २९ फाल्गुन २०७६, बिहीबार प्रकाशित

  • Nabintech