बिरोध पछि पुनः बोलपत्र आह्वान

असल शासन प्रतिनिधि

– मन भण्डारी

नेपालगञ्ज/राप्ती सोनारी गाउँपालिका स्थित सामुदायिक वन उपभोक्ता समितिले वन पैदावार बाह्य लिलाम बिक्रि प्रयोजनको लागि बोलपत्र आब्हान सम्बन्धि प्रकाशित गरेको सूचना गैरकानुनी भएको भन्दै बिरोध भएपछि पुनः सूचना प्रकाशन भएको छ ।

राप्ती सोनारी गाउँपालिका वडा नं. २ कचनापुरमा अवस्थित अशोक सामुदायिक वन उपभोक्ता समिति र मधु सामुदायिक वन उपभोक्ता समितिले काठ, दाउरा बाह्य बिक्रिको लागि मिति २०७६ माघ २६ गते पोखराबाट प्रकाशित हुने समाधान नामक पत्रिकामा सूचना प्रकाशन गरेको थियो ।

सामुदायिक वनको काठ, दाउरा संकलन तथा बिक्रि—वितरण निर्देशिका ०७१ को परिच्छेद ५ दफा ३३ को उपदफा २ मा काठ, दाउरा समुह बाहिर बाह्य लिलाम बिक्रि प्रयोजनका लागि बोलपत्र आव्हान सम्बन्धि सूचना प्रकाशित गर्दा राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित गर्नु पर्ने प्रावधान छ । तर अशोक सामुदायिक वन उपभोक्ता समिति र मधु सामुदायिक वन उपभोक्ता समितिले निर्देशिकामा भएको प्रावधान बिपरित पोखराको स्थानीय पत्रिकामा सूचना प्रकाशन गरेको थियो ।

सामुदायिक वन उपभोक्ता समितिहरुले नियतवस आफ्नो पक्षको ब्यक्ति तथा समुहलाइ दिने उद्धेश्यका साथ जिल्लामा उपलब्ध नहुने पत्रिकामा सूचना प्रकाशित गरेको बुझिन्छ ।

सामुदायिक वन उपभोक्ता समितिहरुले प्रकाशन गरेको सूचना कानुन बिपरित भएको भन्दै बासका कार्यकारी निर्देशक तथा गैर सरकारी महासंघ नेपाल बाँके शाखाका अध्यक्ष नमस्कार शाहले माघ २८ गते जिल्ला प्रशासन कार्यालय बाँकेको सभाहलमा भएको एक सार्वजनिक कार्यक्रममा डिभिजन वन कार्यालय बाँकेका प्रमुखको ध्यानाकर्षण गराएका थिए ।

सार्वजनिक कार्यक्रममा वन पैदावार बाह्य लिलाम बिक्रि प्रयोजनको लागि बोलपत्र आव्हान सम्बन्धि प्रकाशित सूचना गैरकानुनी भएको प्रश्न उठेपछि डिभिजन वन कार्यालय बाँकेले फागुन ५ गते उक्त सामुदायिक वन उपभोक्ता समितिलाई सो विषयमा खुलाई पठाउन पत्राचार गरेको थियो ।

डिभिजन वन कार्यालयले गरेको पत्राचारको आधारमा सामुदायिक वन उपभोक्ता समितिहरुले राष्ट्रिय दैनिक पत्रिकामा सूचना प्रकाशित गर्नु पर्नेमा भुलवस पोखराबाट प्रकाशित हुने स्थानीय पत्रिकामा प्रकाशित भएको भनि उक्त लिलाम बिक्रि सम्बन्धिको बोलपत्र स्थिगित गरेको डिभिजन वन कार्यालय बाँकेका कार्यालय प्रमुख मोहन प्रसाद श्रेष्ठले बताए ।

सामुदायिक वन उपभोक्ता समितिलाई वन प्रदावार बाह्य लिलाम बिक्रिको लागि सहमति दिएको भएपनि बोल पत्र आब्हान गर्दा कानुन विपरित गरेको पाइएकाले बोलपत्र स्थिगत गरिएको छ श्रेष्ठले भने —“पहिले आब्हान भएको बोलपत्रलाई मान्यता नदिएपछि फागुन ५ गते सौर्य दैनिक पत्रिकामा सूचना प्रकाशित गरिएको छ” ।

सामुदायिक वन उपभोक्ता समितिहरुले पुन सूचना प्रकाशित भएको जानकारी सहितको पत्र फागुन ११ गते डिभिजन वन कार्यालयलाई पठाएका थिए ।

  • १२ चैत्र २०७६, बुधबार प्रकाशित

  • Nabintech