कोरोना बिरुद्ध के गर्दैछन् बाँकेका स्थानीय तह ?

असल शासन प्रतिनिधि

मन भण्डारी

बाँके/ यतिबेला विश्व नै कोरोना भाइसर (कोभिड १९) को कारण आतंकित बनेको छ । चीन लगाएत अन्य देशबाट फैलिएको कोरोना भाइरसले बिश्वमा महामारीको रुप लिएपछि अहिले नेपाल पुरै लक डाउन भएको छ ।

कोराना भाइरसको सन्त्रास र प्रभाव फैलिदै गएपछि नेपाल सरकारले यसका लागि विभिन्न तयारीका साथ पुरै देशलाई लकडाउन गर्ने निर्णय गरेको थियो । कोरोना बिरुद्ध बाँकेको स्थानीय प्रशासन र स्थानीय सरकारहरुले बिभिन्न तयारीका साथमा काम गरिरहेका छन् । तथापी स्थानीय प्रशासन र स्थानीय तहहरुले प्रभावकारी काम गर्न नसकेको आरोप भने लाग्दै आएको छ ।

नेपाल सरकारको निर्णयलाई कार्यान्वयन गर्दै बाँके जिल्लाका सबै स्थानीय तहहरुले सतर्कता अपनाईरहेको बताएका छन् । भारतिय सिमानासंगै जोडिएका यहाँका स्थानीय तहहरुले आफ्नो क्षमताले भ्याए सम्मको कार्य गरिरहेको बताएका छन् ।

भारतिय नाकासंगै जोडिएको नेपालगन्ज उप–महानगरपालिकाले महेन्द्र बहुमुखि क्याम्पसमा ५० वेडको क्वारेन्टाइन र डेण्टल अस्पतालमा २० वेडको क्वारेन्टाईनको व्यवस्था गरेको छ भने नियमित माइकिङ्ग गर्ने कार्य गरिरहेको छ । क्वारेन्टाइनमा हाल भारतबाट आएका ब्यक्तिहरुलाई राखिएको नेपालगन्ज उप–महानगरपालिकाकी उप–प्रमुख उमा थापा मगरले बताइन् । उप–महानगरपालिकाले अति विपन्न परिवारका ज्याला मज्दुरी गरिखाने ब्यक्तिहरुका लागि राहत प्याकेज बनाई वडा कार्यालय मार्फत एकरुपताका साथ राहत वितरण गर्ने योजना बनाएको छ ।

कोरोना भाइरसलाई मध्यनजर गर्दै पहिलो चरणमा सबै वडाहरुले वडावासीहरुलाई मास्क र सावुन वितरण गरेको बताउदै वास्तविक बिपन्न परिवारहरुको तथ्याँक संकलन गरी राहत वितरण गर्न सबै वडालाई निर्देशन दिएको उप–प्रमुख थापाले बताईन् ।

त्यसैगरि भारतिय सिमानाकासंगै जोडिएको खजुरा गाउँपालिकाले वडा नं. १ मा रहेको मैटहवा मा.वि. मा ५३ वेड र खजुरामा रहेको कृषी तालिम केन्द्रमा १५ वेडको क्वारेन्टाइन ब्यवस्थापन गरेको छ । अहिले मैटहवा मा.वि. को क्वारेन्टाइनमा ५० जना र कृषी तालिम केन्द्रमा १५ जना ब्यक्तिहरु रहेको गाउँपालिका अध्यक्ष किस्मत कुमार कक्षपतिले जानकारी दिए । खजुरा गाउँपालिकाले बिहिवार मात्रै मैटहवा मा.वि. मा बसेका १० जना ब्यक्तिलाई घर पठाइ सकिएको अध्यक्ष कक्षपतीले बताए ।

त्यसैगरि पालिका भित्रका ज्याला मज्दुरी गरि खाने अति बिपन्न परिवाहरुको तथ्याँक संकलन गर्न वडा कार्यालयलाई निर्देशन दिएको बताउँदै गृह मन्त्रालयको निर्देशनको आधारमा राहत वितरणका लागि कार्यपालिकाको बैठकबाट राहत वितरण कार्यबिधि बनाई सुरक्षा निकायका ब्यक्तिहरुको उपस्थितीमा वडा कार्यालय मार्फत राहत वितरण गरिने कक्षपतीको भनाइ छ ।

जानकी गाउँपालिकाले पहिलो चरणमा कोरोना भाइरसको वारेमा तयार पारिएको पम्पलेट सबै घरदैलोमा वितरण गर्नुका साथै माइकिङ्ग गरेको बताइन्छ । जानकी गाउँपालिकाका अध्यक्ष रामनिवास यादवले वडा नम्वर ३ मा रहेको ने.रा.मा.वि. मानपुरमा २५ र वडा नं. १ जोगागाउँ मा. वि. मा १५ वेडको क्वारेन्टाइन तयार गरि बाहिरबाट आएका ब्यक्तिहरुलाई राखिएको बताए ।

हाल ने.रा.मा.वि. मानपुरमा १३ जना र वडा नं. १ जोगागाउँ मा. बि. मा १४ जना ब्यक्तिहरु रहेको र ४ जनालाई क्वारेन्टाइनबाट घर पठाइसकिएको यादवको भनाइ छ । ज्याला मज्दुरी गर्ने अति बिपन्न परिवारहरुलाई पहिलो चरणको राहत वितरणको लागि वडा कार्यालय मार्फत तथ्याँक संकलन भइरहेको यावले बताए ।

बाँकेको बैजनाथ गाउँपालिकाले आठै वटा वडामा सामुदायिक बिद्यालयमा स्वास्थ्य परामर्श केन्द्र संचालन गरेको छ भने गाउँपालिकाको वडा नं. ५ मा रहेको प्राथामिक स्वास्थ्य केन्द्रमा १६ वेडको क्वारेन्टाइन ब्यवस्थापन गरेको छ । क्वारेन्टाइनमा अहिले १ जना ब्यक्ति रहेको बताउँदै अति बिपन्न परिवारहरुलाई राहतको प्याकेज बनाउन वडा कार्यालय मार्फत तथ्याँक संकलन भइरहेको गाउँपालिका अध्यक्ष मान बहादुर रुचालले बताए ।

कोहलपुर नगरपालिकाले कोरोना भाइरसबाट सतर्कता अपनाउन कोहलपुर मेडिकल कलेजमा १६ वेडको आइसुलेसन र नगररपालिकाको वडा नं. ९ पिपरीमा रहेको कृषि विकास बैंकको क्षेत्रिय तालिम केन्द्रमा २४ वेडको क्वारेन्टाइन ब्यवस्थापन गर्नुका साथै प्रचार प्रसारको कार्य गरिरहेको छ ।

इलाका प्रहरी कार्यालय कोहलपुरसंग समन्वय गरी २ वटा गाडिमार्फत हरेक दिन प्रचार, प्रसारको कार्य भइरहेको कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावतले बताए । क्वारेन्टाइनमा स्वास्थ्यकर्मी र प्रहरी सहितको टोली परिचालन गरिएको जानकारी दिदै हाल १ जना भारतबाट आएकी बृद्धा महिला क्वारेन्टाइनमा रहेको रावतले बताए ।

कोरोना भाइरसबाट सतर्कता अपनाउन २४ सै घण्टा खट्ने कर्मचारी तथा स्वास्थ्यकर्मीलाई थप १ महिनाको तलबको आधा रकम प्रोत्साहन स्वरुप उपलब्ध गराउने र अति बिपन्न परिवारहरुलाई राहत वितरण गर्ने निर्णय समेत गरिएको रावतको भनाइ छ ।

सबै भन्दा उच्च जोखिममा रहेको नरैनापुर गाउँपालिकाले वडा नं. ६ को जय किसान मा.वि. को चौरमा टेण्ट लगाएर क्वारेन्टाइन बनाएको छ ।

दिनहुँ भारतिय सिमाबाट मान्छेहरु भित्रेने गरेको उक्त गाउँपालिको क्वारेन्टाइनमा १०४ जना बाहिरबाट आएका ब्यक्तिहरु रहेको गाउँपालिकाका अध्यक्ष ईस्तियाक अहमत साहले बताए । अति बिपन्न परिवारहरुलाई राहतको प्याकेज बनाउन वडा कार्यालय मार्फत तथ्याँक संकलन भइरहेको अध्यक्ष साहले बताए ।

यसैगरि डुडुवा गाउँपालिकाका सबै ६ वटा वडा कार्यालय, स्वास्थ्य चौकी इलाका प्रहरी कार्यालय र सिमा नाकामा गरि १७ वटा स्वास्थ्यकर्मी सहितको हेल्थ डेस्क संचालन गरिएको छ भने हिरमिनिया स्वास्थ्य चौकी, बेतहनी स्वास्थ्य चौकी र वडा नं. ४ मा रहेको बिद्यालयमा गरि ३० वेडको क्वारेन्टाइन बनाइएको छ ।

यससंगै वडा नं. ६ मा रहेको सरस्वती मा.वि. मा भारतबाट आएका २३ जनालाई राखिएको गाउँपालिकाले जनाएको छ ।
यसैगरी बाँकेको राप्तीसोनारी गाउँपालिकाले गाउँपालिकाको वडानं ६ र ७ को बिचमा पर्ने नेरामावि सर्रै र वडानं ८ र ९ को बिचमा रहेको शिवशक्ति मा.बि. पेरानीमा क्वारेन्टाईनको व्यवस्था गरेको छ । सर्रै स्थित क्वारेन्टाईनमा ७ जना व्यक्तिहरु रहेका छन् । पालिकाले वडानं ३ र ४ को बिचमा क्वारेन्टाईनको व्यवस्था गर्न खोजेता पनि सफल हुन नसकेको जनाएको छ । पालिकाले राहत बितरणका लागि तथ्याँक संकलन गर्ने तयारी गरेको बताएको छ ।
कोरोना भाइरबाट सतर्कता पनाउन बाँकेका स्थानीय तहहरुले गरेको प्रयास स्रहानिय भएता पनि थप समन्वय र सहकार्य अघि बढाउनु पर्ने जानकारहरु बताउँछन् ।

  • २० चैत्र २०७६, बिहीबार प्रकाशित

  • Nabintech