जानकीले बनायो राहत कार्यविधि

असल शासन प्रतिनिधि

बाँके २५ चैत्र / बाँकेको जानकी गाउँपालिकाले कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण रोक्न जारी लकडाउनबाट प्रभावितलाई राहत वितरण गर्न राहत सम्बन्धि कार्यविधि पारित गरेको छ ।

चैत्र २५ गते बसेको गाउँकार्यपालिकाको आकस्मिक बैठकले ‘जानकी गाउँपालिका कोरोना भाइरस सङ्क्रमण, रोकथाम र राहत तथा उद्धार कार्य सञ्चालन कार्यविधि, २०७६’ पारित गरेको अध्यक्ष रामनिवास यादवले जानकारी दिए । उनका अनुसार, गृह मन्त्रालयले निर्देशन गरे बमोजिम मापदण्ड तयार गरि कार्यविधि पारित गरिएको छ ।

लकडाउनले प्रभावित भएका दैनिक ज्यालादारी मजदुर र विपन्न समुदायलाई राहत वितरणका लागि अभिलेख सङ्कललन भईसकेकोले अव तुरुन्तै राहत वितरण गरिने उनको भनाई छ ।

बैठकमा गाउँपालिकाका अध्यक्ष यादवले कुनै आग्रह पूर्वाग्रह नराखी हातमुख जोड्न नसक्ने अवस्थामा रहेका मजदुर तथा अति विपन्न असाहयहरुका लागिी राहत वितरण गर्न आग्रह गरे ।

गाउँपालिकाले एकद्वार प्रणालीबाट राहत वितरण गरिने प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर खत्रीले जानकारी दिए । त्यसका लागि सहयोग गर्न चाहने व्यक्ति तथा सङ्घ संस्थाले गाउँपालिकाको विपद् व्यवस्थापन कोषमा सहयोग गर्न सक्ने उनले बताए ।

गाउँपालिकाका वास्तविक विपन्न समुदाय र मजदुरवर्गलाई विना भेदभाव एकद्वार प्रणालीबाट राहत वितरण गरिने प्रमुख प्रशासकीय अधिकृत खत्रीको भनाई रहेको छ ।

  • २५ चैत्र २०७६, मंगलवार प्रकाशित

  • Nabintech