आँखा अस्पताललाई पीपीई

असल शासन प्रतिनिधि

भैरहवा/ विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण बिश्वनैं यति बेला आतंकित छ । कोरोना भाईरसको संक्रमणका बिरुद्ध सबै भन्दा अग्रपंतिमा स्वास्थ्यकर्मीहरु रहेका छन् र सबै भन्दा बढि जोखिममा पनि स्वास्थ्यकर्मीहरुनैं रहेका छन् ।

स्वास्थ्यकर्मीहरुको जोखिमलाई न्यूनिकरण गर्नका लागि मायादेवी च्यारिटेबल फाउण्डेशन र बागेश्वरी असल शासन (बास) रुपन्देहीले संयुक्त रुपमा चैत्र २६ गते भैरहवा स्थित रण अम्बिका शाह आँखा अस्पतालाई ७ थान पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई) उपलब्ध गराएका छन् ।

स्वास्थ्य सुरक्षा कवचको अभावसँगै जोखिममा आँखा सम्बन्धि रोगका बिरामीहरुको उपचार गरिरहेका चिकित्सकलाई मध्यनजर गर्दै आँखा अस्पतालमा पीपीई प्रदान गरिएको मायादेवी च्यारिटेबल फाउण्डेशनका अध्यक्ष रवि कुमार रौनियारले बताए ।

उनले आँखा रोगका विरामीहरुलाई उपचार गर्दा दुरी राख्न नसकिने भएकोले चिकित्सकहरुलाई पीपीई नितान्त आवश्यक रहेको बताए ।
अस्पताललाई पीपीईसहित ४ सय थान मास्क र ५० थान स्यानिटाइजर उपलब्ध गराइएको बास रुपन्देहीकी कार्यकारी निर्देशक विजया खत्रीले बताइन् ।

पीपीई, मास्क तथा स्यानिटाइजर ग्रहण गर्दै रण अम्बिका शाह आँखा अस्पताल विकास समितिका अध्यक्ष सागर प्रताप राणाले सामाग्रीको अभावमा जोखिममा काम गरेका आँखा अस्पतालका चिकित्सकहरुलाई अब पीपीई काम गर्न थप हौसला प्रदान हुने बताए ।

उनले आँखा अस्पतालमा आएका आकस्मिक विरामीहरुको परीक्षण भइरहेको र अस्पताल क्षेत्र अझ जोखिममा रहेकोले पीपीईको नितान्त आवश्यक रहेको बताए । पीपीईले संजीवनी बुटी तथा सुरक्षा कवचको रुपमा काम गर्नेछ, अब आँखाका विरामीहरुलाई उपचारमा सहयोग मिल्नेछ–उनले भने ।

  • २६ चैत्र २०७६, बुधबार प्रकाशित

  • Nabintech