सामाजिक दुरी कायम गर्दै राहत बितरण

असल शासन प्रतिनिधि

नेपालगञ्ज/नेपालगञ्ज उप-महानगरपालिका वडा नं. १२ ले बिपन्न बर्गका व्यक्तिहरुलाई राहत बितरण शुरु गरेको छ ।

विश्वव्यापी महामारीकोे रुपमा देखिएको कोरोना भाईरस (कोभिड–१९) को संक्रमणका कारण भईरहेको लक डाउनका कारण प्रभावित ज्याला, मजदुरी गरि खाने लगाएतका स्थानीयवासीहरुलाई वडाले राहत बितरण गरेको हो ।

वडाले राहतका बितरणका लागि लक्षित बर्ग पहिचान गर्न तथ्याँक सँकलन गरेको थियो । सोही तथ्याँक बमोजिम राहत बितरणको कार्यक्रम थालिएको वडाध्यक्ष बुद्धि सागर सुवेदीले बताए ।

राहत बितरणको पहिलो दिन भेरी प्राविधिक शिक्षालय, नेपालगञ्जमा सामाजिक दुरी कायम गरि व्यवस्थित तवरले वडाको बेलासपुरका स्थानीयहरुलाई राहत बितरण गरिएको थियो । प्रति व्यक्ति २५ किलो चामल, २ किलो दाल, १ किलो नुन र १ लिटर तेल राहत स्वरुप उपलब्ध गराईएको थियो ।

वडाध्यक्ष बुद्धिसागर सुवेदी, वडा सदस्यहरु तरुण बज्राचार्य, दिनेशराज पन्त, फुलमति लोहार, चन्द्रा चिडिमार लगाएतले राहत लक्षित बर्गलाई हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा वडाका समाजसेवी, पत्रकार, रानजीतिक दलका प्रतिनिधि लगाएतको उपस्थिती रहेको थियो । पहिलो दिन ३५० जना बेलासपुरका स्थानीयहरुलाई राहत बितरण गरिएको वडाध्यक्ष बुद्धिसागर सुवेदीले बताए । उनका अनुसार, दोश्रो दिन कोरियनपुरका १५० जनालाई राहत बितरण गरिनेछ ।

पहिलो चरणमा ५ सय जना लक्षित बर्गलाई राहत बितरण गरिने र सो क्रममा छुटेकाहरुलाई अर्काे चरणमा राहत बितरण गर्ने योजनामा वडा कार्यालय रहेको छ ।

  • २७ चैत्र २०७६, बिहीबार प्रकाशित

  • Nabintech