लकडाउनमा बढ्यो कालो बजारी

असल शासन प्रतिनिधि

मन भण्डारी
नेपालगञ्ज/यतिबेला मुलुक कोराना भाइरस (कोभिट १९) को जोखिमको कारण लकटाउनमा छ । लामो समयको लकडाउनको कारण नागरिकहरुले बिभिन्न समस्याहरुको सामना गरिरहेका छन् । कोरोना भाइरसबाट सतर्कता अपनाउन सरकारले गरेको लकडाउनको फाइदा उठाउँदै बजारमा कालोबजारी मौलाउँदै गएको छ ।

लकडाउनको समयमा अति आवश्यक दैनिक उपभोग्य वस्तुमा छुट दिएर विक्री वितरण गर्न सरकारले निर्देशन दिएको भए पनि मौका छोपेर कतिपय व्यापारीले कालोबजारी गर्न थालेका हुन् ।

लकडाउन पछी बजारमा दैनिक उपभोग्य वस्तु खाद्यान्न तथा सुर्तीजन्य पदार्थको मूल्य एकाएक बढेको छ । अहिले बजारमा चामल, दाल, चिनी, तेल, सुर्तीजन्य पदार्थ गुठ्का लगाएतको मूल्य लकडाउन हुनु पहिलेको तुलनामा आकाशिएको छ ।

अहिले बजारमा दैनिक उपभोग्य बस्तुको मूल्य प्रति केजीमा ५ देखि १०, प्रति पेटिमा ५० देखि १५० र प्रति बोरामा १०० देखी २०० रूपैयाँ सम्म बढेको छ । लकडाउन हुनु पुर्व पेटिको १ हजार ५ सय ६० रुपैया पर्ने सनफलावर तेल अहिले थोकमा १ हजार ७ सय देखि १ हजार ७ सय ५० मा र १ हजार ५ सय ३० मा बिक्रि हुने सनमुन तेल १ हजार ७ सयमा बिक्रि हुने गरेको छ ।

१९ सय ५० मा पेटि पर्ने धारा तोरीको तेल २ हजार १ सयमा थोकमा बिक्रि भइरहेको छ । त्यस्तै अन्य सबै तेल प्रति पेटिको मुल्य अहिले १०० देखि १५० रुपैया बढीमा बिक्रि वितरण भइरहेको छ ।

त्यसैगरि सबै चामलमा प्रति केजि ५ देखि १० रुपैयाले बढेको छ भने २५ किलो चामलको बोरामा १०० रुपैयाको दरले बढेको छ । नेपालगञ्ज बजारमा लकडाउन पूर्व १ हजार ४ सय ५० मा बिक्रि भइरहेको स्टार चामलको बोरा अहिले १ हजार ५ सय ५० भन्दा बढीमा बिक्रि भइरहेको छ । त्यसैगरि दालको मुल्य पनि निकै बढेको पाइएको छ । अहिले अरहर दाल १ सय ६० देखि १ सय ८० सम्म पुगेको छ । ५ किलोको ३ सय ५० रुपैपा पर्ने चिनिको मुल्य अहिले ४ सय पुगेको छ भने खुद्रामा प्रतिकिलो ९० रुपैपामा बिक्रि भइरहेको छ । त्यसै गरि चाउचाउमा पनि प्रति पेटीमा ५ देखि १० रुपैयाँ बढाईएको छ ।

यो सबै बस्तुको मुल्य थोकमा बिक्रि गर्ने मुल्य हो । खुद्रा पसलहरुमा त झन पसल, पसल अनुसार फरक फरक मुल्य छ । माथिको मुल्यमा थोकमा खरिद गरि लिने खुद्रा ब्यापारीले प्रति किलोमा ५ देखि १० रुपैया नाफा खाएर बिक्रि गर्छन् । लकडाउनको कारण समस्या भोगिरहेको उपभोक्ताहरु उपभोग्य बस्तुको यसरी मुल्य बढेपछि झन मारमा परेका छन् । दैनिक उपभोग्य सामाग्री चामल, दाल, तेल, चिनीमा समेत ब्यापारीहरुले आफु खुसी मुल्य बढाएको उपभोक्ताहरुको गुनासो छ ।

त्यसैगरी सुर्तीजन्य बस्तुहरु सुपरपावर, कमला पसन्द, मेघा श्री, शुद्व प्लस लगाएतको मूल्य आकाशिएको भुक्तभोगीहरुले बताएका छन् । यसअघि ५ रुपैयाँ पर्ने शुद्ध प्लस र मेघाश्री प्रति पिस १० रुपैया र २५ रुपैयाँ मा ३ पिस बिक्रि भइरहेको छ । २ सय ५० रुपैया पोकाको पर्ने मेघाश्री र शुद्ध प्लस अहिले ५ सयमा बिक्रि भइरहेको नेपालगन्ज १० बस्ने राजेन्द्र गिरीले बताए । कमला पसन्द र सुपर पावर सुर्ती १० रुपैयाँमा एउटा बिक्रि गर्दै आइरहेका व्यापारीले अहिले १५ रुपैयाँको एउटा बिक्रि गरिरहेको उनको भनाइ छ ।

लकडाउनको मौका उठाउँदै बजारमा कालोबजारी मौलाइरहेको छ, सरोकारवाला निकायले नियमित बजार अनुगमन गर्न सकिरहेका छैनन् जसको प्रत्यक्ष मारमा उपभोक्ता परेका छन् । यस तर्फ सम्बन्धित निकायको ध्यान जाओस् ।

  • १६ बैशाख २०७७, मंगलवार प्रकाशित

  • Nabintech