नागरिक सहायता कक्ष प्रभावकारी बन्दै

असल शासन प्रतिनिधि

राप्तीसोनारी गाउँपालिकामा सेवा लिन आएकि एक जेष्ठ महिलालाई सहयोग गर्दै सहजकर्ता सुमित्रा बुढाथोकी ।

नेपालगञ्ज/बिश्वका धेरै मुलुकका सरकारी कार्यालयहरुले कार्यालयमा आएका सेवाग्राहीहरुलाई फुल दिएर, मुस्कुराएर, हात जोडेर नमस्कार गर्नका लागि सेवाग्राही सत्कार कक्ष, सहायता कक्ष बनाएका हुन्छन्, जुन कक्षमा कार्यरत कर्मचारीहरुले सेवा लिन आएका सेवाग्राहीहरुलाई स्वागत र बिदाई गर्ने काम गर्दछन् । पछिल्लो समय सरकारले मुस्कान सहितको सेवा दिने भनेकोछ भने समृद्ध नेपाल, सुखी नेपाली भन्ने सरकारको अभियाननैं छ ।

सेवाग्राहीमैत्री सरकारी कार्यालय, स्थानीय सरकार बनाउनका लागि अब सेवाग्राहीलाई सन्तुष्ट पार्न सक्नु पर्दछ । जसका लागि First come, First Service को निती अवलम्बन गर्नु पर्दछ भने अशक्त, अपाँग, जेष्ठ नागरिक, नावालक र महिलालाई सेवा प्रदान गर्दा बिशेष प्राथमिकता दिनु पर्दछ । छोटो समयमा तत्काल सेवा दिदै सेवा दिन नसके सेवा उपलब्ध हुन नसक्नुको स्पष्ट कारण सेवाग्राहीलाई दिई जवाफदेहिता प्रर्दशन गर्नु पर्दछ । सरोकारवालाहरु बिच सहकार्यको बिकास गरि सुझाब र गुनासो सुन्ने प्रभाबकारि व्यवस्था गर्नु पर्दछ । त्यति मात्र नभई स्थानीयस्तरका सेवाप्रदायकले सेवाग्राही नागकिसँग गरिने व्यवहारमा सुधार गर्नु पर्दछ ।

सार्वजनिक सेवा प्रवाहलाई चुस्त, दुरुस्त पार्नका लागि स्रोतको सार्बजनिकरण, पारदर्शी कार्य संचालन, जवाफदेही कार्य शैली, नियमित सूचना प्रबाह, आवधिक कार्य योजना, कार्य प्रबाह तालिकाको कार्यान्वयन, नतिजामुलक कार्य सञ्चालन, कार्यगत लक्ष तथा कार्य सम्पादन, कार्यक्रम र प्रगतिको सार्बजनिकरण, सहजिकरण, कार्यक्रमको प्रभाबकारी व्यवस्थापन, नागरिक गुनासो व्यवस्थापन, नागरिक बडा पत्र, समयबद्ध सेवा, सेवा केन्द्रहरुको नक्शाङ्कन, सेवा सम्बन्धि नारा घोषणा, कार्यक्रम बर्ष घोषणा, सार्बजनिक सुनुवाई, सार्वजनिक परीक्षण, सामाजिक परीक्षण, नमुना कार्यहरुको शुरुवात, सेवा प्राप्तिको उत्प्रेरणा, दक्ष जनशक्तिको बिकास तथा परिचालन, कार्यालयको सुव्यवस्था, सूचनामा आम नागरिकको पहुँच, सदाचार पद्धति, मुस्कान सहित सेवा शुरु गर्न जरुरी छ ।

उल्लेखित कार्यहरु मध्येको महत्वपूर्ण कार्य नागरिक सहायता कक्ष (हेल्प डेस्क) को स्थापना गर्नु पनि हो । अझ लामो समय देखि जनप्रतिनिधि बिहिन अवस्थामा रहेका स्थानीय तहमा जनप्रतिनिधिहरुको आगमन पश्चात आम नागरिकहरुको अपेक्षा आकाशिदो छ । असिमित आशा, अपेक्षालाई सिमित स्रोत, साधनको परिधि भित्र रहेर सम्बोधन गर्ने दायित्व जनप्रतिनिधिहरुको काँधमा छ ।

यसै सन्दर्भमा स्थानीय सरकारसँग सहकार्य गरे बासले बिभिन्न ठाउँहरुमा नागरिक सहायता कक्ष (हेल्प डेस्क) स्थापना गरि सेवा प्रदान गरिरहेको छ । कार्यालयमा सेवा लिन आउने सेवाग्राहीलाई सेवा लिँदा अवलम्बन गर्नुपर्ने प्रकृया, बिधिका बारेमा जानकारी दिने, सेवाग्राहीहरुलाई सहयोग गर्ने, सहायता गर्ने, नागरिकहरुको गुनासो संकलन गरि गुनासो सुनुवाईलाई प्रभावकारी बनाउने उद्धेश्यले हेल्प डेस्क सञ्चालन गरिएको बासले जनाएको छ ।

स्थानीय सरकारले प्रदान गर्ने सेवा, सुबिधा बारे जानकारी गराउने, सेवाग्राहीहरुको सेवा प्राप्तीका लागि सहजिकरण गर्ने, सेवाग्राहीहरुले सेवा लिन चाहेको आवश्यकता पहिचान गरि निजहरुलाई सेवा प्रवाहमा आवश्यक कागजातहरु उपलब्ध गराउने, सेवाग्राहीहरुको समस्या समाधान गर्न पहल गर्ने, सेवाग्राहीलाई सेवा प्राप्त गर्दा आवश्यकता अनुसार सहायता प्रदान गर्ने, बिभिन्न माध्यमबाट आएका गुनासो सुनुवाईका लागि पहल गर्ने, क्रमबद्ध तरिकाले सेवा उपलब्ध गराउन कार्यालयलाई सहयोग गर्ने, जेष्ठ नागरिक, अपाँगता भएका व्यक्ति, गर्भवती महिलाहरुलाई पहिलो प्राथमिकतामा राखि सेवा पुर्याउन सहयोग गर्ने लगाएतका कार्यहरु हेल्प डेस्कबाट भईरहेको हेल्प डेस्क संयोजक रबिन्द्र बोहराले बताए । नागरिक सहायता कक्ष प्रभावकारी बन्दै गईरहेको उनको भनाई रहेको छ ।

बासले नेपालगञ्ज उपमहानगरपालिका, उपमहानगरपालिकाका २, ४, १०, १३, १४, १६, २० नम्वर वडा कार्यालय, राप्तीसोनारी गाउँपालिका, डुडुवा गाउँपालिका र गाउँपालिकाका ६ वटै वडाहरु गरि १५ स्थानमा नागरिक सहायता कक्ष सञ्चालन गरिरहेको जनाएको छ ।

  • २७ बैशाख २०७७, शनिबार प्रकाशित

  • Nabintech