शाहको सम्झनामा दुई परिवारलाई सहयोग

असल शासन प्रतिनिधि

नेपालगञ्ज/बासकी पूर्ब केन्द्रीय सदस्य रुक्मिणी शाहको १२ औं बार्षिक पूण्यतिथीमा बासले दुई परिवारलाई खाद्यान्न सहयोग गरेकोे छ ।

बासद्वारा नेपालगञ्जमा बैशाख २७ गते सम्पन्न बार्षिक पूण्यतिथी कार्यक्रममा उक्त सहयोग हस्तान्तरण गरिएको हो । शाहको सम्झनामा बासले स्थापना गरेको रुक्मिणी स्मृति अक्षय कोषबाट उक्त सहयोग प्रदान गरिएको हो ।

जानकी गाउँपालिका वडानम्वर २ भैयापुर निवासी संगिता फुयाँल र खजुरा गाउँपालिका वडानं ६ उढरापुर निवासी दृष्टिबिहिन जय बहादुर बिश्वकर्मालाई खाद्यान्न सामाग्रि सहयोग गरिएको हो ।

उनीहरुलाई २५ किलो चामल, साढे २ किलो दाल, २ किलो नुन, २ लिटर तेल लगाएत खाद्यान्न सामाग्री बासका अध्यक्ष रमेश सिटौला, निवर्तमान अध्यक्ष मन भण्डारी, कार्यकारी निर्देशक नमस्कार शाहले हस्तान्तरण गरेका थिए ।

संगिता नेपालगञ्ज स्थित भेरी एफ.एम.मा कार्यालय सहयोगीको रुपमा कार्यरत रहेकि छन् । उनी नेपाल प्रेस ईन्स्टिच्युट, क्षेत्रिय सञ्चार स्रोत केन्द्रमा कार्यरत गंगा फुयाँलकी धर्म पत्नी हुन् । क्यान्सर रोगबाट पीडित गँगाको २०६९ असोज १७ गते निधन भएको थियो । उनको निधन भए पश्चात घर खर्च चलाउन संगितालाई असहज भईरहेको छ । उनका १ छोरा, १ छोरी छन् । छोरा नेपालगञ्ज बहुमुखि क्याम्पसमा अध्ययनरत छन् भने छोरी ज्ञानोदय बिद्या निकेतनमा कक्षा १० मा अध्ययनरत छन् ।

जय बहादुर दृष्टिबिहिन हुन् । बिपन्न अवस्थाका उनी कलाका धनी छन् । उनले बिगत १२ बर्ष देखि नेपालगञ्जको मालपोत, भेरी अस्पताल अगाडी लगाएतका स्थानहरुमा बसेर सुमधुर गित गाउने कार्य गरिरहेका छन् । गित मन पराएर सहयोग गरेको रकमबाट खर्च चलाउँदै आएका उनको लकडाउनका कारण उक्त आम्दानी हुन सकेको छैन । जसका कारण ३९ बर्षिय जयलाललाई ५ जनाको परिवार पाल्न धौ, धौ भईरहेको छ । उनका २ छोरी, १ छोरा छन् । उनकी श्रीमती पनि न्यून दृष्टि बिहिन छन् ।

सहयोग प्राप्त गरिसकेपछि संगित फुयाँलले बासबाट भएको सहयोगबाट आफु खुसी भएको बताईन् । उनले दुःखी, गरिवहरुलाई यसरी सहयोग गर्नु ठूलो कुरा भएको बताईन् । यसैगरी सहयोग प्राप्त गर्ने जयलाल बिश्वकर्माले पनि सहयोगबाट केही दिनको गर्जाे टर्ने भएको उल्लेख गर्दै बासलाई धन्यवाद दिए ।

कार्यक्रममा बासका कार्यकारी निर्देशक तथा दिवँगत रुक्मिणीका दाजु नमस्कार शाहले दिवंगत शाहको व्यक्तित्व, बासमा शाहको संलग्नता र योगदान बारे चर्चा गरेका थिए भने घटनाका बारे जानकारी दिदै बहिनीको सम्झनामा बिभिन्न सामाजिक कार्यहरु गरिरहेको बताएका थिए ।
बासकी निवर्तमान केन्द्रीय अध्यक्ष मन भण्डारीले सञ्चालन गरेको कार्यक्रमको समापन बासका केन्द्रीय अध्यक्ष रमेश सिटौलाले गरेका थिए । कार्यक्रममा बासकी केन्द्रीय सदस्य मुना बिष्ट, असल शासन कार्यकर्ता शुद्ध चौधरी, असल शासन प्रतिनिधि रुपा चौधरी, बास बाँके शाखाका अध्यक्ष रबिन्द्र बोहराको उपस्थिती रहेको थियो । कार्यक्रममा शाहको सम्झनामा एक मिनेट मौनधारण गर्नुका साथै शाहको तस्विरमा अविर र पुष्प अर्पण गरिएको थियो ।

पुण्यतिथीमा सामाजिक कार्य :

शाहको पूण्य तिथीमा बिभिन्न सामाजिक कार्यहरु बासले गर्दै आएको छ । २०६६ देखि हाल सम्म बिभिन्न कार्यहरु गर्दै आएको हो । पहिलो, दोश्रो र तेस्रो बार्षिक पूण्य तिथीमा श्रद्धाञ्जलि सभा गरेको बासले चौथो पूण्य तिथीमा २०६९ बैशाख २७ गते नेपालगन्ज स्थित भेरी बृद्धाश्रममा रहेका बृद्ध बृद्धाहरुलाई फलफुल वितरण गरेको थियो भने पाँचौं बार्षिक पूण्यतिथीमा २०७० बैशाख २७ गते शाहको स्मृतिमा रुक्मिणि स्मृति अक्षय कोष स्थापना गरिएको थियो ।

त्यसैगरी २०७१ बैशाख २७ गते शाहको छैटौं पूण्यतिथीमा बासले भेरी बृद्धाश्रम नेपालगञ्जमा फलफुल बितरण गरेको थियो । २०७२ बैशाख २७ गते सम्पन्न सातौं पूण्यतिथीमा बासले बागेश्वरी मन्दिरमा रहेका अशक्त, अपाँगता भएका व्यक्ति तथा जेष्ठ नागरिकहरुलाई फलफुल बितरण गरेको थियो भने २०७३ बैशाख २७ गते सम्पन्न आठौं बार्षिक पूण्य तिथीमा बासले साविकको मोतिपुर गाविस वडानम्बर ६ मटेरिया बर्दिया स्थायी घर भई हाल नेपालगञ्ज बस्दै आएकि घरेलु हिँसा पीडित सीतारानी चौधरीकी छोरी १६ बर्षिया छोरी सरस्वती चौधरीलाई स्टेशनरी सहयोग हस्तान्तरण गर्नुका साथै कक्षा ९ र १० पढ्दा लाग्ने सबै शुल्क बासद्धारा सहयोग गरिएको थियो ।

२०७४ बैशाख २७ मा सम्पन्न नवौं बार्षिक पूण्यतिथीमा बासले निल सागर बृद्धाश्रम नेपालगञ्जमा आश्रित जेष्ठ नागरिकहरुलाई दैनिक उपभोग्य खाद्यान्न सामाग्रिहरु हस्तान्तरण गरेको थियो । त्यसैगरी २०७५ बैशाख २७ गते सम्पन्न शाहको १० औं बार्षिक पूण्यतिथीमा बासले बाँके सीतापुर माईती घर भई बर्दिया ठाकुरद्धारा घर भएकी ब्रेन ट्युमर रोग पीडित लक्ष्मी शाहीलाई उपचार सहयोगार्थ ५ हजार सहयोग हस्तान्तरण गरेको थियो ।

त्यसैगरी २०७६ बैशाख २७ गते सम्पन्न शाहको ११ औं बार्षिक पूण्यतिथीमा बासले नेपालगञ्ज वडानम्वर १९ मा बिर बहादुर माझिको संरक्षकत्वमा रहि नेपालगञ्जको होप ईन्टरनेशनल एकेडेमि स्कुलमा अध्ययनरत १३ बर्षिय बिशाल बिष्टलाई अध्ययनका लागि रु. ५ हजार सहयोग प्रदान गरेको थियो भने नेपालगञ्ज वडानम्वर २० की घरेलु हिंसा पीडित महिला गंगा सुनारलाई व्यवसाय सञ्चालन गर्नका लागि रु. ५ हजार सहयोग गरेको थियो ।

यसका अलावा शाहको सम्झनामा स्थापित अक्षयकोषबाट उनको जन्म दिनको सम्झनामा अशक्त, अपाँगता भएका व्यक्ति, आर्थिक अभाब भएका बालबालिका, जेष्ठ नागरिक, हिँसामा परेका महिलाहरुलाई बिभिन्न सहयोग प्रदान गरिदै आएको छ ।

शाहको स्मृतिमा बासले रुक्मिणी स्मृति अक्षय कोष स्थापना गरेको छ । उक्त कोषबाट यस क्षेत्रका हिँसा पीडित महिला, बिपन्न बालबालिका हरुलाई सहयोग गर्ने उद्धेश्य लिईएको छ ।

स्मरण रहोस् २०६५ बैशाख २७ गते खासकाँरकाँदौमा बास पूर्ब केन्द्रिय सदस्य रुक्मिणी शाहका पति लगाएतले उनको दिउसै हत्या गरेका थिए । पूनरावेदन अदालतले अभियुक्तलाई सर्वश्व सहित जेल सजायको फैसला गरिसकेको छ ।

  • २८ बैशाख २०७७, आईतवार प्रकाशित

  • Nabintech