कोरोना भाईरस बिरुद्ध गैससहरुको सहकार्य

असल शासन प्रतिनिधि

मन भण्डारी
बाँके/बिभिन्न आपत, विपतको बेलामा अग्रसर रहँदै आएका गैर सरकारी संस्थाहरु कोरोना भाइरस (कोभिड १९) को नियन्त्रण, रोकथाम तथा संक्रमण फैलिन नदिनका लागि समेत अग्रसर देखिएका छन् ।

बाँकेका स्थानीय तहहरुले कोरोना भाइरस (कोभिड १९) नियन्त्रण तथा ब्यवस्थापनका लागि स्थापना गरेको विपत ब्यवस्थापन कोषमा गैससहरुले आर्थिक तथा बिभिन्न राहत सामग्री सहयोग गरेका छन् । बाँके जिल्लामा कार्यरत बिभिन्न गैर सरकारी संस्थाहरुले बाँकेका आठ वटै स्थानीय तहलाई आर्थिक तथा राहत सामग्री सहयोग गरेका हुन् ।

विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि स्थानीय सरकारले थालेको अभियानमा गैरसरकारी संस्थाहरुले संस्थागत सहकार्य गरेको गैर सरकारी संस्था महासंघ नेपाल बाँकेका अध्यक्ष नमस्कार शाहले बताए । बिभिन्न सामाजिक तथा मानबिय कार्यमा अग्रसर देखिने गैससहरुले कोरोना भाइरसको जोखिमलाई कम गर्न र विपन्न वर्गलाई राहत दिने उद्धेश्यले बिभिन्न गैससहरुले स्थानीय सरकारसँग हातेमालो गरेको शाहको भनाइ छ ।

बाँके जिल्लामा कार्यालय स्थापना गरि बिभिन्न सामाजिक कार्य गर्दै आएका बास नेपालगन्ज र सामाजिक सरोकार मंच (स्याक नेपाल) ले जिल्लाका आठ वटै स्थानीय तहलाई १०/१० हजारका दरले ८०/८० हजार रकम सहयोग गरेका छन् ।

यसैगरी स्याकले कोभिड १९ को महामारी रोकथाम तथा नियन्त्रणणका लागि बर्दियाका ५ पालिकाहरुलाई ५१ हजार १ सय १२ रुपैयाँ सहयोग गरेको संस्थाका अध्यक्ष शिबलाल पाण्डेले बताए ।

बासले अछामको बागेश्वरी धार्मिक तथा प्राकृतिक, पर्यटकीय क्षेत्र बिकास समिति अछामको सहकार्यमा अछामको तुर्माखाँद गाउँपालिकालाई स्थानीय ४० हजार बरावरको स्वास्थ्य सामाग्री सहयोग गरेको छ भने चैत्र महिनाको पहिलो हप्ता नेपालगञ्जको जमुनाह नाकामा हात धुनका लागि ट्यांकि राखेको थियो । त्यसैगरी बास र डेक नेपालले बाँकेका बिभिन्न पालिकाहरुमा कोरोना बिरुद्ध सचेतना मुलक अभियान सञ्चालन गरि कोरोना बिरुद्ध प्रचार, प्रसारको काम एक हप्ता बढि गरेका थिए ।

त्यसैगरी दलित महिला संघ (फेडो) ले बैजनाथ गाउँपालिका, खजुरा गाउँपालिका र डुडुवा गाउँपालिकालाई २ लाख ८० हजार रकम बराबरको खाद्यान्न तथा स्वास्थ्य सामाग्री, कोहलपुर नगरपालिकालाई ११ हजार, जानकी गाउँपालिकालाई ५ हजार, नेपालगन्ज उपमहानगरपालिकालाई ५ हजार र बैजनाथ गाउँपालिकालाई ५ हजार नगद सहयोग गरेको फेडो बाँकेकी अध्यक्ष निर्मला सुनारले बताइन् ।

बि.ग्रुपले बाँकेका नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, बैजनाथ गाउँपालिका, खजुरा गाउँपालिका, जानकी गाउँपालिका, डुडुवा गाउँपालिका र नरैनापुर गाउँपालिका र बर्दियाका ५ वटा स्थानीय तहलाई १०/१० हजारका दरले नगद, जिल्ला प्रशासन कार्यालय बाँकेको हेल्थ डेस्कका लागि १ पिस गन थर्मामिटर र बाँकेको राप्ती सोनारी गाउँपालिकालाई करिव १० लाख ५० हजार रकम बराबरको आवश्यक स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

त्यसैगरी बाँके युनेस्को क्लबले बाँकेका खजुरा गाउँपालिका, नेपालगन्ज उपमहानगरपालिका, बैजनाथ गाउँपालिका, डुुडुवा गाउँपालिका, कोहलपुर नगरपालिका, नरैनापुर गाउँपालिका र बर्दियाको बढैयाताल गाउँपालिकालाई खाद्यान्न तथा स्वास्थ्य सामग्रीका साथै नेपालगञ्जमा कम्मल, झुल र त्रिपाल सहयोग गरेको बाँके युनेस्को क्लबका संस्थापक अध्यक्ष प्रवेज अलि सिद्धिकीले बताए ।

प्लान इन्टरनेशनल नेपालको समन्वयमा क्लबले बाँकेको कोहलपुर नगरपालिकालाई विभिन्न स्वास्थ्य सामाग्री प्रदान गरेको छ । नगरपालिकालाई हस्तान्तरण गरिएका सामाग्रीहरुमा ३० पिस एन ९५ मास्क, ५०० पिस सर्जिकल मास्क, ५०० मिलिलिटरको १५ वटा हैन्ड सेनिटाइजर, १०० मिलिलिटरको हेन्ड सेनिटाइजर ५ वटा र १०० वटा सर्जिकल ग्लोब्स रहेका छन् । यसअघि बाँके युनेस्को क्लबले बाँके र बर्दियाका विभिन्न स्थानीय तहहरुलाई करिब २ हजार मास्क वितरण गरेको थियो भने नरैनापुर गाउँपालिकाको क्यारेन्टाइनका लागि खाद्यान्न सहयोग गरेको थियो । यसैगरी क्लबले नेपालगञ्ज उपमहानगरपालिकालाई ५० थान पि फोम, ४७ थान कम्वल, १५० थान तारपोलिन सहयोग गरेको थियो ।

त्यसैगरी ईन्रुडेक कोहलपुरले कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकालाई ५१÷५१ हजार नगद र नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, बैजनाथ गाउँपालिका र भेरी अस्पताललाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ । कोहलपुर बैजनाथ सयुक्त जोखिम प्रकोप न्युनिकरण परियोजनाबाट नगद र अन्य परियोजनाबाट स्वास्थ्य सामग्री सहयोग गरिएको इन्रुडेकका अध्यक्ष धर्मलाल रोकायले बताए ।

रेरी चिसापानीले बिभिन्न जिल्लाबाट कर्णाली प्रदेश घर जाने १ हजार ७ सय जनालाई खाना खुआएर कर्णली प्रदेश सम्म पठाउने काम गरेको छ । त्यसैगरी नेपालगन्ज, कोहलपुर, बैजनाथ र खजुराका ४५ जना अपांगता भएका बिद्यार्थीलाई १ महिनालाई पुग्ने खाद्यान्न सामग्री सहयोग गरेको रेरीका अध्यक्ष पुनित विक्रम शाहले बताए । यसैगरी रेरीका कर्मचारीहरुले कोभिड १९ बाट प्रभावित अपाँगता भएका व्यक्तिहरुलाई राहत बितरण गरेका छन् ।

त्यसैगरी समाज सुधार कार्यक्रम नेपाल कोहलपुरले कोहलपुर नगरपालिका र नरैनापुर गाउँपालिकालाई ५÷५ हजार नगद र कोहलपुरका ८ जना बिपन्न परिवारलाई खाद्यान्न सहयोग गरेको छ ।

युवा दृष्टी नेपाल कोहलपुरले कोहलपुर नगरपालिका र नरैनापुर गाउँपालिकालाई ५÷५ हजार, दलित सेवा संघले नरैनापुर गाउँपालिकालाई १० हजार, महिला उपकार मंच कोहलपुरले कोहलपुर नगरपालिकालाई १ लाख ११ हजार १ सय ११, ओसिडिसी कोहलपुरले बैजनाथ गाउँपालिकालाई २१ हजार सहयोग गरेका छन् । त्यसैगरी डेक नेपालले कोहलपुर नगरपालिका र बैजानाथ गाउँपालिका ११२ जना अपांगता भएका ब्यक्तिलाई २ लाख ४ हजार रकम बराबरको खाद्यान्न सामग्री र जीवनजल सहयोग गरेको छ ।

बिभिन्न गैससहरुसंगै निजी क्षेत्र, बिभिन्न ब्यवसायिक संगठनहरु र सहकारीहरुले समेत कोरोना भाइरस नियन्त्रण तथा रोकथाम अभियानमा सहयोग गरेका छन् ।

विपत तथा जोखिम ब्यवस्थापनमा गैससहरुले गरेको सहयोगले पालिकालाई थप बल पुग्ने खजुरा गाउँपालिकाका सूचना अधिकारी दिल बहादुर पौडेले बताए । विपतको समयमा गैरसरकारी संस्थाहरुको भुमिका महत्वपुरर्ण रहेको बताउदै महामारीको रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रणको अभियानमा समेत गैससहरुले गरेको सानो सहयोगले पालिकालाई मद्धत पुगेको पौडेलको भनाइ छ ।

बिभिन्न समयमा आउने विपतको समयमा गैरसरकारी संस्थाहरुको भुमिका महत्वपुर्ण रहदै आएको बाँकेका गैससकर्मिहरुको भनाइ छ । २०७२ सालमा आएको भुकम्पको बेला होस्, चाहे हरेक वर्ष जसो आउने बाढी, पहिरो तथा आगलागिका घटना होस् सबै खाले बिपतमा पीडितहरुलाई राहत दिने र उद्धार गर्ने कार्यमा गैर सरकारी संस्थाहरुले महत्वपुर्ण भुमिका निर्वाह गर्दै आएको गैर सरकारी संस्था महासंघ नेपाल बाँकेका अध्यक्ष नमस्कार शाहले बताए ।

अहिलेको विषम परिस्थितीमा बिभिन्न संस्थाहरुले पालिकालाई सक्दो सहयोग गरेको बताउदै गैसस महासंघ नेपाल बाँके शाखाले समेत बिभिन्न गैससहरुको सहकार्यमा बाँकेका आठ वटै स्थानीय तहका साथै केन्द्रीय कार्यालय मार्फत संघिय सरकारको राहत कोषमा सहयोग पठाउन लागेकोे शाहको भनाइ छ ।

  • २९ बैशाख २०७७, सोमबार प्रकाशित

  • Nabintech