सीमामा अझैं चार हजार नेपाली अलपत्र

असल शासन प्रतिनिधि

नेपालगञ्ज/कोरोना (कोभिड–१९) को संक्रमण भित्रिन नदिन सरकारले सिमा सिल गरि देशमा लकडाउन गरेको छ तर भारतबाट नेपाल आउने क्रम रोकिएको छैन ।

भारतका विभिन्न स्थानबाट नेपाल आउने क्रम नरोकिएपछि शुरुवातमा उद्धार गरेर क्वारिन्टिनमा राखिएको थियो । तर पछिल्लो समय नेपालमा पनि कोरोना संक्रमण देखिएपछि सीमावर्ती क्षेत्रबाट प्रवेश गर्न नदिने सरकारको निर्देशन छ तथापी जवरजस्ती नेपाल आउन खोज्नेहरुको संख्या भने सीमामा बढ्दो छ भने लुकिछिपी आउनेहरु पनि त्यत्तिकै छन् ।

भारत र नेपाल सरकारको भद्र सहमती अनुसार जो जहाँ छन् त्यहिंको क्वारेन्टिनमा राख्ने भनिएपनि भारतका विभिन्न स्थानबाट सयौं किलो मिटर हिंडेर नेपालीहरु सीमा पुग्ने गरेका छन्, सिमाबाट नेपाल प्रबेश गर्न नपाउँदा उनीहरु सिमामैं अलपत्र हुने गरेकाछन् । स्थानीय प्रशासनले सीमाबाट कसैलाई पनि नेपाल प्रवेश नगराएपछि क्वारिन्टिनमा बसिसकेकाहरु पनि अलपत्र अवस्थामा छन् ।

बुटवलदेखि महाकालीसम्मको सीमाका विभिन्न स्थानमा चार हजार नेपालीहरु अपलपत्र परेकोे पाइएको छ । रुपन्देही सीमा नाका सुनौली र मर्चवारमा एक हजार दुई सय, कपिलवस्तुसँग जोडिएका कृष्णनगर, मर्यादपुर, भिल्मी, हर्दौना लगाएतका स्थानमा दुई हजार एक सय सैंतिस जना, बाँके सीमाको श्रावस्ती र बहराइचको बाबागञ्ज, नानपारामा गरि एक सय बढी, बर्दियाको सीमा गणेशपुर, लौकाही, सलालपुरमा ५०, कैलाली बलिया लगाएतका स्थान १ सय ७०, कञ्चनपुरको सीमावर्ती जिल्ला उदमसिंह नगरको खटीया, बनवासा, टनकपुर, रुद्रपुर लगायतका स्थानमा दुई सय हाराहारीमा रहेका छन् ।

सीमामा आइपुगेकाहरु मध्ये अधिकांस सडक, दशगजामै अलपत्र छन् भने कतिपय वगंैचा र विद्यालयमा वसिरहेका छन् । क्वारिन्टिनमा बसिसकेकालाई भारतले नेपाल पठाउन खोजीरहेको छ तर नेपाली पक्षले अझैं भित्र्याउने शुरुसार नगरेपछि उनीहरु थप पीडित मात्र हैन, आक्रोशित पनि देखिएका छन् ।

महाकालीपारी रहेका मध्ये ७५ जना जवरजस्ती महाकाली तरेर नेपाल आएपछि उनीहरुलाई अहिले महेन्द्रनगर स्थित वैजनाथ विद्यालयमा राखिएको छ । भारतबाट आएकाहरुबाटै नेपालमा कोरोना संक्रमण देखिएपछि अब उनीहरुलाई परीक्षण गर्ने गरि मात्र नेपाल ल्याइनुपर्ने माग उठेको छ । अलपत्र नेपालीहरु भन्छन् – सरकारले भनेको हामी मान्छौं तर विचल्ली नपारियोस् ।

नेपाल पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष एवं सम्वाद समूहका सदस्य विष्णु अवस्थी स्वास्थ्य परिक्षण गरिएका र क्वारेन्टाइनको अवधी पुरा गरेकाहरुलाई गन्तव्य सम्म पुर्याउने बातावरण बनाईदिनु पर्ने बताउँछन् ।

भोक प्यास र बढ्दो गर्मीले अलपत्र नेपालीलाई स्थानीय सरकारले नेपालका क्वारिन्टिन सम्म ल्याउन स्वीकृत मागेपनि उनीहरुलार्ई ल्याउन दिइएको छैन । लुकीछुपी नेपाल आउने सम्भावना कायमै रहेकाले सो विषयमा सरकारले बेलैमा उचित कदम चाल्नु पर्ने बाँके नरैनापुर गाउँपालिकाका प्रमुख मो इस्तियाक अहमद शाहको सुझाव छ । सीमामा अलपत्र परेकाहरुको उद्धार र व्यवस्थापनका लागि सहजीकरण गर्दै आएको सम्वाद समूहले पछिल्लो चरण कोरोना परिक्षण गरिएका र अवधी पुरा गरेकाहरुलाई नेपाल प्रवेश गराउने बातावरण सिर्जना गरिदिन सम्वद्ध पक्षलाई ध्यानाकषर्ण गराउँदै आएको छ ।

सम्वाद समूह बाँकेले बाँकेका सांसद मार्फत प्रदेश ५ का मुख्य मन्त्री शंकर पोखे्रल, परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली र गृहमन्त्री राम बहादुर थापा बादललाई समेत जानकारी गराएर आवश्यक पहलका लागि सहजिकरण गरेको सम्वाद समूह बाँकेका सहजकर्ता शुक्रऋषि चौलागाईंले बताए ।

  • १ जेष्ठ २०७७, बिहीबार प्रकाशित

  • Nabintech