बालसुधार गृहमा बालकहरुलाई सास्ति

असल शासन प्रतिनिधि

नमस्कार शाह
नेपालगञ्ज/बाँकेको डुडुवा गाउँपालिका वडानम्वर ६ स्थित आसमानपुर स्थित जयेन्दु बालसुधार गृहमा रहेका बालकहरु छाला रोगले प्रताडित भएका छन् ।

७५ जनाको क्षमता भएको उक्त बालसुधार गृहमा १०० जना कानूनी बिवादमा परेका बालक रहेकाछन् । एउटै हलमा ३० जनासम्म बस्नु पर्ने समस्याका कारण छाला रोगको संक्रमण बढिरहेको छ । २१ जनामा छाला रोगको बढि समस्या छ भने बाँकी आधा भन्दा बढिलाई शरिर चिलाउने समस्या रहेको छ ।

बालसुधार गृहमा आवश्यक बजेट अभावमा नियमित स्वास्थ्य उपचार हुन नसकिरहेको बताईन्छ । बाल सुधार गृह सरकारको अनुमतिमा युसेफले सञ्चालन गरिरहेको छ ।

कुनै रोगको उपचार गर्नु परेमा बालकहरु आफैले पैसा तिर्नु पर्दछ –बाकहरु भन्छन् –हामी समस्यामैं बसिरहेका छौं ।

क्षमता भन्दा बढी बालकहरु सिमित कोठामा कोचाकोच भएर बसिरहेका छन् । उनीहरु मुद्धाको कारवाही बारे बेखवर हुनुका साथै स्वच्छ खानेपानीको समस्याबाट पीडित भएको बताउँछन् । गृहमा औपचारिक शिक्षाबाट बञ्चित हुनुको साथै पुस्तक, खेलकुद सामाग्रीको अप्रयाप्त रहेको बताईन्छ ।

सुधार गृहमा अध्ययनका लागी बिद्यालय भवन बने पनि संचालनमा आउन सकेको छैन । केन्द्रीय बालकल्याण समिति, महान्यायधीवक्ता, जिल्ला प्रशासन कार्यालयले बिद्यालय स्वीकृतीका साथै शिक्षकको ब्यवस्थापन गर्न भने पनि कार्यान्वयन हुन सकिरहेको छैन ।
बाल सुधार गृहको अवस्था बारे केही दिन अघि बाँके स्थित मानव अधिकारकर्मीहरुले अनुगमन गरेका थिए । बालसुधार गृहमा रहेका बालकहरुलाई कोरोना संक्रमणबाट बचाउन सर्वोच्च अदालतले सुधारगृहमा रहेका बालबालिकाको भिडभाड कम गर्न अभिभावकको जिम्मा लगाउने भने पनि त्यसको कार्यान्वयनमा बिभेद भएको बालकहरुले अनुगमनमा गएका मानव अधिकारकर्मीहरुलाई बताएका थिए ।
उस्तै मुद्धामा परेका केही बालकहरु छुटे पनि केही बालकहरु नछुटेको भन्दै सर्वोच्च अदालतको आदेश बमोजिम सबै बालकहरु छुट्नु पर्ने सुधार गृहमा रहेका बालकहरुको माग छ ।

कोरोना कहरको बर्तमान संकटपुर्ण अवस्थामा सर्वोच्च अदालतको आदेश बमोजिम छुट्न नपाउँदा तनाबमा रहेको बालकहरुले गुनासो गरेका छन् । कोरोना कहरको बर्तमान अवस्थामा गम्भिर अपराधका आरोपी भन्दै ७ बालकलाई बिभिन्न जिल्लाबाट सुधार गृहमा ल्याईएको थियो ।
केही महिना पहिले सर्वोच्च अदालतका माननीय न्यायाधीश डा. आनन्द मोहन भट्टराईले बाँकेको बालसुधार गृहलाई कालकोठरीको संज्ञा दिएका थिए । सुधार गृह अनुगमन पछि उनले सुधार गृह न कारागार जस्तो न सुधार गृह जस्तो भएको प्रतिकृया दिएका थिए ।

अनुगमनमा गएका अधिकारकर्मीहरुले बालकहरु छाला रोगबाट प्रताडित भएको पाएपछि अधिकारकर्मीहरुको पहलमा ३० हजार बढीको औषधी औषधी ब्यवशायी संघ बाँकेका महासचिव जीवन शर्माले सहयोग गरेका थिए भने १४४ वटा सावुन गर्ने गोल्डेन एज मिडियाका जयसिंह केसी र चिन्तामणि धितालले गरेका थिए ।

कोरोना कहरमा सरोकारवालाको ध्यान नपुग्दा छाला सम्बन्धी रोगले पीडित बालसुधार गृहमा रहेका २१ बालकहरु यस पहलबाट केही हदसम्म भए पनि लाभान्वित हुने आशा अनुगमनमा गएका अधिकारकर्मी मध्येका एक बसन्त गौतमले बताए ।

बालसुधार गृहमा रहेका बालकहरुलाई बाल न्यायको उद्धेश्य बमोजिम सुधार गरि असल नागरिक बनाउने खालका कार्यक्रम र पुर्वाधार निर्माण हुन अझै बाँकी रहेको पाईएकोले सम्बन्धितको यसमा ध्यान पुग्न जरुरी छ ।

  • ४ जेष्ठ २०७७, आईतवार प्रकाशित

  • Nabintech