कोरोनाको जोखिममा कारागार, परीक्षण गर्न माग

असल शासन प्रतिनिधि

हेमराज भट्ट

नेपालगञ्ज/नेपालगञ्जमा कारागारमा रहेका कैदीबन्दीहरुले आफुहरुको कोरोना परीक्षण गर्नु पर्ने माग गरेका छन् ।

भारत स्थित मुम्वईको जेलमा ७२ जना कैदी बन्दिहरुमा कोरोना भेटिनुका साथै बाँकेको नेपालगञ्ज, नरैनापुर लगाएतका क्षेत्रहरुमा कोरोना संक्रमितहरुको सँख्या बढ्न थालेपछि उनीहरुले परीक्षणको माग गरेका हुन् । क्षमता भन्दा बढि रहेका नेपालगञ्ज स्थित कारागारमा रहेका कैदिबन्दीहरु कोरोनाको त्रासले आतंकित भएको जनाउँदै आफुहरुको माग सुनुवाई नभएको बताएका छन् । हाल सम्म कारागारमा कार्यरत कर्मचारी तथा कैदीहरुको परीक्षण भने हुन सकेको छैन ।

नेपालगञ्ज कारागारमा न्यूनतम आवश्यकताहरु समेत पुर्ती हुने गरि संरचना लगाएतको अभावका कारण कारागार कोरोनाको उच्च जोखिममा रहेको सरोकारवालाहरु बताउँछन् ।

झण्डै आधा शताब्दी पुरानो जिर्ण कारागार भवन र क्षमता भन्दा दोब्बर कैदि बन्दीहरु कारागारमा रहेका कारण कारागार संक्रमणको जोखिम रहेको बताईन्छ । कारागारमा कोरोना परीक्षण गर्न नसकिएको भएपनि कारागार भित्र रहेका सबै ब्यक्तिहरु सुरक्षित छन् भन्ने बिश्वास दिलाउन कारागारमा न्यूनतम कुराहरुकोे ब्यवस्थापन गरिएको कारागार श्रोतको दाबि छ । सयौंको सँख्यामा कैदी, बन्दिहरु एकै ठाँउमा बसोबास गर्ने भएकाले अझै गम्भिरताका साथ सुरक्षा उपायहरु अपनाउनुपर्ने सरोकारवालाहरु बताउँछन् । सामान्य सावधानि अपनाएको भएपनि कुनै कारण एक जनामा कोरोना संक्रमण भएमा सिंगो कारागारमा रहेका कर्मचारी लगाएत सबै कैदीबन्दीहरुसमेत त्यसबाट प्रभावित हुने अवस्था रहेकोछ । अहिलेको अवस्थामा भौतिक दुरी कारागारका लागि सम्भव नभएको श्रोत बताउँछ ।

दुई सय क्षमताको नेपालगञ्ज कारागार २००० सालमा निर्माण गरिएको थियो कैदीबन्दीहरुको सँख्या बढ्दै गएपछि गत वर्ष मात्र कम्पाउण्ड भित्र नै भलिबल खेल्न छुट्टाइएको जग्गालाई प्रयोगमा ल्याउँदै चार कोठे भवन निर्माण गरी सय बढि अटाउने व्यवस्था मिलाईएको छ । नेपालगञ्ज कारागारमा पुरुष बन्दि गृहको क्षमता तिन सयको छ तर अहिले कारागारमा क्षमता भन्दा झण्डै तेब्बर अर्थात ८ सय ५ कैदीबन्दी र थुनुवाहरु राखिएका छन् । पुरुष बन्दि गृहको क्षमता २ सय ५० को हो जहाँ अहिले ७ सय ५५ जना पुरुष कैदी, बन्दिहरु रहेका छन् । महिला बन्दि गृहको क्षमता ५० जनाको हो जहाँ ५० जनानैं छन् ।

देशकै अध्याधिक गर्मि हुने नेपालगन्जमा रहेको सो कारागारमा रहेका बिरामी, दिर्घरोगी तथा महिला कैदीहरु साँधुरो स्थान र जिर्ण भवनका कारण कष्टकर जीवन बिताईरहेका छन् । महिला कैदी, बन्दिहरुलाई बस्न र सुत्न गाह्रो नभए पनि पुरुष बन्दिहरु भने ठेलमठेल गरेर बसिरहेका छन्, आलोपालो गरेर सुत्ने गरेको प्रतिकृया उनीहरुलाई दिदै आएका छन् ।

कानुन ब्यवसायी पूर्ण ढकाल नेपालगञ्ज कारागार जोखिममा रहेको बताउँछन् । मान्छेलाई आवश्यक पर्ने न्यूनतम मापदण्ड समेत पुरा नगरेका कारण नेपालगञ्ज कारागार कैदीहरुका लागि यातना गृह जस्तो रहेको उनको भनाई छ । अहिलेको अवस्थामा कारागारमा भौतिक दुरी सम्भव नभएपनि उनीहरुलाई आधारभुत आवश्यकताबाट सरकारले बञ्चित गर्न नमिल्ने उनको भनाई थियो । उनले कोरोनाको जोखिम कम गर्न खासै प्रयास नभएको समेत बताए ।

यद्यपी नेपालगन्ज कारागारका जेलर देबेन्द्र श्रेष्ठले कारागार भित्र सुरक्षित हुनेगरी ब्यवस्थापन गरेको बताए । उनले कारागार भित्र सेनिटाईजर, थर्मलगन, मास्क र साबुनपानीको ब्यवस्थापन गरेको बताए । कोरोनाको सम्भावित जोखिमलाई ध्यान दिदै कैदीहरुसँगको भेटघाटमा समेत कडाई गरेको उनको भनाई छ । कारागारबाट बाहिर गई फर्किदा तथा बाहिरको सामानहरु भित्र ल्याउँदा अनिवार्य साबुनले हात धुनुपर्ने र सेनिटाईज गर्नुपर्ने नियम जारी गरेको उनले बताए । कारागारमा क्षमता भन्दा बढी कैदी बन्दीहरु रहेका कारण भौतिक दुरि कायम गर्ने कुरा सम्भव नहुने उनले बताए । उनी भन्छन्– हामी पर्खाल बाहिरका कैदी हौं, हामी सबै कारागार भित्र नै बस्छौं त्यसैले कारागार भित्रको जोखिमका बिषयमा संबेदनशिल भएर काम गरिरहेका छौ । कैदिबन्दीहरुले कोरोना चेकजाँचको माग गरेको बिषयमा कोरोनाका लक्षणहरु नदेखिएका कारण परीक्षण नगरिएको बताए । उनले कुनै पनि कारागारका कैदि, बन्दिहरुको परीक्षण नभएको समेत बताए ।

सयौ मानिसहरु एकै ठाँउमा बसोबास गर्ने र मानिसहरुको आहोर दोहोर भईरहने स्थान कारागार भएकाले सम्भावित जोखिम हुन नदिन सम्बन्धीत निकायले थप सावधानि अपनाउन जरुरी देखिन्छ ।

  • १० जेष्ठ २०७७, शनिबार प्रकाशित

  • Nabintech