अनियमित बिद्युत बारे सूचना माग

असल शासन प्रतिनिधि

नेपालगञ्ज/बिश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाईरसको संक्रमणका कारण देशमा लकडाउन छ, कार्यालय, उद्योग, कलकारखाना बन्द छन्, विद्युत खपत कम छ तर नेपालगन्जमा गर्मी बढे सङ्गै विद्युतको ताण्डब शुरु भएको छ । छिन–छिनमा बत्ति जाने, अनियमित रुपमा भोल्टेज अप डाउन भईरहेको छ । यस बारे सम्मानित अदालतको आदेश छ, बिद्युत कार्यालयको आम नागरिक प्रति दायित्व छ । तर सो दायित्वबाट बिद्युत बिमुख हुँदै आएको छ ।

बिद्युत किन, के कारणले गईरहेको छ भन्ने बारे कुनै आधिकारिक सूचना अहिले सम्म प्रबाह गरिएको छैन । यहि सन्दर्भमा बाससँग आवद्ध ४ जना युवाहरुले नेपालगन्ज स्थित विद्युत प्राधिकरण केन्द्रसङ्ग सूचना माग गरेका छन् ।

सूचनाको हक सम्वन्धि ऐन २०६४ को दफा ३ बमोजिम बिभिन्न सूचना माग्दै रमेश सिटौला, नमस्कार शाह, मन भण्डारी र हेमराज भट्टले संयुक्त रुपमा निवेदन दर्ता गर्दै सूचना माग गरेको हुन् ।

सूचना मागकर्ताहरुले गर्मी बढेसँगै बिद्युत अनियमित हुनुको कारण, नेपालगञ्जमा लोडसेडिंग भए, नभएको बिबरण, एक दिनमा बिद्युत अवरुद्ध हुने समय, सो बारे आम नागरिकलाई सूचना नदिनुको कारण, बिद्युत अनियमित हुने बारे सूचना प्रकाशन, प्रशारण गरिए, नगरिएको बिबरण, सूचना जारी गरिएको भए सूचनाको छायाँकपी माग गरेका छन् । मागकर्ताहरुले कार्यालयको सूचना अधिकारी र गुनासो सुन्ने अधिकारीको नाम र सम्पर्क नम्वर समेत मागेका छन् ।

सही जानकारी बारे जान्न र आम नागरिकलाई सहि सूचना प्रबाह गर्न सूचना माग गरेको सूचना मागकर्ता मध्येका एक नमस्कार शाहले बताए ।

  • १२ जेष्ठ २०७७, सोमबार प्रकाशित

  • Nabintech