स्वास्थ्यकर्मि र प्रहरीलाई स्वास्थ्य सामग्री सहयोग

असल शासन प्रतिनिधि

नेपालगन्ज । जेष्ठ १३ गते । कोरोना भाईरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्यकर्मी तथा प्रहरीलाई अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग गरिएको छ ।
नेपालगन्ज उप–महानगरपालिका वडा नं. ५ र बास नेपालगन्जको आयोजनामा उक्त सामग्री सहयोग गरिएको हो । नेपालगन्ज उप–महानगरपालिका वडा नं. ५ मा रहेको आधारभुत स्वास्थ्य सेवा केन्द्र र वडा प्रहरी कार्यालय नेपालगन्जलाई १ लाख बराबरको स्वास्थ्य सामग्री आज एक कार्यक्रमका बिच हस्तारण गरिएको हो ।
कोरोना भाइरसको जोखिम बढ्दै गएपछि स्वास्थ्यकर्मि र नेपाल प्रहरीले जोखिम मोलेर काम गरिरहेको अवस्थामा अत्यावश्यक स्वास्थ्य सामग्रीको आवश्यक्ता महशुस गर्दै आधारभुत स्वास्थ्य सेवा केन्द्रलाई ६ सेट पिपिई, ५ लिटर सेनिटाईजर, २० थान केएन ९५ मास्क, ४५० थान सर्जिकल मास्क, ५ प्याकेट ग्लब्स, १ सेट फिटल डोपलर, ६ पिस जाइलोकन जेली र वडा प्रहरी कार्यालयलाइ २.५ लिटर सेनिटाईजर, ५ थान केएन ९५ मास्क, ३५० थान सर्जिकल मास्क ७ प्याकेट पञ्जा हस्तान्तरण गरिएको छ । नेपालगन्ज उप–महानगरपालिका वडा नं. ५ का वडा अध्यक्ष कैफुलवरा जोलाह, वडा सचिब ईन्द्र बहादुर के.सी., बासका केन्द्रीय अध्यक्ष रमेश सिटौला, निबर्तमान अध्यक्ष मन भण्डारी र उपाध्यक्ष लुना बुढाथोकीले आधारभुत स्वास्थ्य सेवा केन्द्रकी हेल्थ असिस्टेन्ट अञ्जली बुढाथोकी र वडा प्रहरी कार्यालयका प्रहरी सहाएक निरीक्षक सन्त बहादुर गुरुङ्गलाई उक्त सामग्री हस्तान्तरण गरेका थिए ।
विपदको समयमा जोखिम मोलेर काम गरिरहेको अवस्थामा अत्यावश्यक सामाग्री पाएपछि स्वास्थ्य सेवा प्रवाह गर्न सहजता हुने र कोरोना रोकथाम तथा नियन्त्रण अभियानमा थप सहयोग पुग्ने आधारभुत स्वास्थ्य सेवा केन्द्रकी हेल्थ असिस्टेन्ट अञ्जली बुढाथोकीले बताइन् । कार्यक्रममा नेपालगन्ज उप–महानगरपालिका वडा नं. ५ का वडा अध्यक्ष कैफुलवरा जोलाहले यस्तो विषम परिस्थितीमा स्वास्थ्य सामग्री सहयोग गर्न पाउदा खुसी लागेको बताउदै यसले कोरोना भाइरस बिरुद्धको अभियानमा थप सहयोग पुग्ने बिश्वास ब्यक्त गरे । बासका निबर्तमान अध्यक्ष मन भण्डारीले संचालन गरेको कार्यक्रममा बासका केन्द्रीय अध्यक्ष रमेश सिटौलाले स्वागत तथा कार्यक्रमको उद्धेश्य माथी प्रकाश पारेका थिए ।

  • १४ जेष्ठ २०७७, बुधबार प्रकाशित

  • Nabintech