यस्तो छ रुकुम-जाजरकोट घटनाको नालिबेली

असल शासन प्रतिनिधि

जाजरकोट/गत शनिवार रुकुम पश्चिममा भएको घटनाले यतिबेला सिंगो देशको सडक र सदन तातिएको छ । अन्तरजातिय बिवाहको कारण भएको भनिएको घटनाको सत्य तथ्य बुझ्न सरकारी संयन्त्र र केहि अधिकारबादीहरुले सुरु गरेका छन् । घटना अन्तरजातिय प्रेम सम्बन्धकै कारण घटेको सत्यता नजिक छ । तर, ३ जना मृतक र ३ जना अहिले सम्म पनि बेपत्ता भएको कारण घटनाका वास्तविकता यकिन हुन सकिरहेको छैन । घटना संलग्न पक्षहरुको भनाईलाई हामीले यहाँ समेट्ने कोशिस गरेका छौ ।

नवराजसँगै गएका पक्ष :
नवराजसँगै गएका उनकै गाउँले सुदिप खड्काले जाजरकोटबाट दिउसो १२ बजेतिर १९ जनाको टोली पश्चिम रुकुमको चौरजहारी नगरपालिका ८ सोती तर्फ हिडेको बताए । भेरी नगरपालिका ४ रानागाँउका २१ बर्षिय नवराज वि.क.का लागि केटी भगाउन भन्दै त्यता हिंडेका थिए ।

खड्काले भने, ‘केटीको घरमा पुग्दा ५ बजिसकेको थियो, नपुग्दै हामी आएको पहिले नै थाह पाईसकेका रहेछन् ।’ उनले केटिको आमाले उनको घरभन्दा तल पुगेको बेला जातिय रुपले अपाच्य गाली बर्षाउँदैै गाउँले बोलाउन थाल्नुभयो । चारैतिरबाट घेराबन्दी गरेर महिला सहित आएका गाउँलेले हाम्रो टोली माथि एक्कासी आक्रमण गरे । केही ज्यान जोगाउन भन्दै भेरीमा हाम फाले कोही भागे, कोही कुटपिटमा परे ।

सुदीपका अनुसार, पुरै गाउँ उर्लेर आएको थियो । उनले भने– ठकुरीकी छोरी लिन खोज्ने साले डुमहरु भन्दै साथीहरुलाई निकै कुटपिट गरे, मलाई पनि कुटे, मरे मरुला भनेर भेरीमा हाम फालें । पौडी खेलेर नदी तरे । गाउँका केटाहरु नदीको वारीपट्टी नैं आएर पनि कुटपिट गरे, घाईते थिए । त्यसपछि प्रहरी आएर लग्यो दुई दिन चौरजहारी मिसन अस्पताल उपचार गराएर सोमवार घर आएका उनले भने ‘आफ्नै ज्यान कसरी जोगाउने भन्ने भयो अरु साथीहरुको अवस्था के भो थाहै भएन ।’ सँगै गएका अर्का भेरी नगरपालिका ४ का सरोज भडेलले पनि भागेर ज्यान जोगाएको बताए । गाउँ पुग्ने वित्तिकै गाउँ नै उर्लेर आयो । महिला केटाकेटी सवै थिए । साथीहरु भागे । उनले भने ‘कोही नदीमा हाम फाले । कोहीलाई समातेर कुटपिट गदै थिए । भागेर ज्यान जोगाए । घटनाको केही समय पछि १२ जनालाई प्रहरी आएर चौरजहारी लिएर गयो ।’ अन्य सात जनालाई कुटपिट गरेर भेरीमा फालिदिएको उनको आशंका छ ।

आक्रमण नगरेको दाबी :
आफ्नो गाउँकी युवती लिन आएका युवाहरूसँग संवाद गर्नु पर्नेमा वडा अध्यक्षले नै गाउँलेलाई उक्साएर ढुंगामुढा गराएको आरोप छ । तर, सोती गाउँका स्थानीयले भने आफूहरूले आक्रमण नगरेको दाबी गरेका छन् । लकडाउनका वेला ठूलो समूहमा अपरिचित युवाहरू आएको देखेपछि बुझ्न खोज्दा वादबिवाद भएको र उनीहरूको भागाभाग भएको स्थानीयले बताएका छन् । वडा अध्यक्ष डम्बरबहादुर मल्लले आफु वडाको क्वारेन्टाईन व्यबस्थापनमा लागिरेहेको बेला गाउँमा धेरै युवा आएको खबर पाएपछि बुझ्न जाँदै गर्दा भागाभागको अवस्था देखिएको बताए । उनले भने , केटा र केटीको प्रेम सम्बन्ध होला, हाम्रै गाउँमा अन्तरजातिय बिवाहका उदाहरण छन्, कहिकतै बेमेल छैन, यहि गाउँमा भएको यस घटनामा यसरी जातीयताको कुरा जोडिएको छैन ।’ गाउँमा बाहिरबाट युवाहरु आएको र झडप भएको भन्दै वडाध्यक्ष डम्बरबहादुर मल्लले प्रहरीलाई फोन गरेका थिए । वडाध्यक्षको फोनपछि साँझ साढे ६ बजे घटनास्थलमा प्रहरी पुगेको थियो ।

लामो समय देश बन्दाबन्दीमा रहेको बेला युवाहरुको ठुलो समुह नालायक शैलीमा गाउँ प्रबेश गरेर हप्कीदप्की गरेपछि समातेर प्रहरीमा बुझाउनलाई गएको स्थानीय मानबहादुर मल्ल बताउँछन् । नभाग भन्दै गएको बेला केटाहरुले आफै भेरिमा हाम फालको स्थानीयको प्रतिक्रिया छ ।

प्रहरीका अनुसार, नवराजले १९ जनाको समूह बनाए पनि एकजना बाटोबाट फर्किएका थिए । सोती पुगेका १८ जनामध्ये ११ जना खोलामा हाम फालेको इलाका प्रहरी कार्यालय चौरजहारीका प्रहरी निरीक्षक धर्म विष्टले बताउनुभयो । ‘पाँचजना पारि पुगे, ६ जना खोलामै हराए । हराएकामध्ये चार जनाको शव भेटिएको छ भने दुई जनाको अवस्था अज्ञात छ । सातजना भने खोलामा नपसी लुकेका थिए,’ विष्टले भन्नुभयो ।

नवराज सहित ४ जनाको लाश भेरीमा नवराजको शव शनिबार राति नै भेरी किनारमा भेटिएको थियो । आईतबार उनीसँगै गएका चौरजहारी नगरपालिका वडा नं. १ का २० बर्षिय टिकाराम बि.क.को शव भेटियो । घटनास्थलबाट करिब २५ किलोमिटर तल जाजरकोटको भेरि नगरपालिका वडा नं. १२ स्थित खोदा खोला नजिक उनको शव भेटिएको हो । सोमबार भेरि नगरपालिका वडा नंं. ४ का २१ बर्षिय गणेश बुढाको पनि शव भेटिएको हो । उनको शव पनि टिकारामको शव भेटिएको स्थान नजिकै भेटिएको हो । त्यसैगरी बधुबार दिउसो भेरी नगरपालिका वडा नं. ११ का १८ बर्षिय लोकेन्द्र सुनारको शव चौरजहारी र जाजरकोट जोड्न मध्यपहाडि लोकमार्गको अधेरे भन्ने ठाउँमा निर्माधिण पुन नजिक फेला परेको हो । यस सँगै ज्यान गुमाउने संख्या ४ पुगेको हो ।

अझै २ जना बेपत्ता :
चौरजहारी प्रहरीका अनुसार, यो समाचार तयार पार्दा सम्म सोति गएका भनिएका २ जना अझै बेपत्ता छन । भेरि नगरपालिका वडा नं. ११ का १७ वर्षीय गोविन्द शाही र भेरि नगरपालिका वडा नं. ४ का सञ्जु बिक अझै बेपत्ता छन् । जाजरकोट र रुकुम प्रहरीले बेपत्ताहरुको खोजिकार्य तिब्र पारिएको जनाएको छ ।

तर, बेपत्ताजनका आफन्तहरुले खोजि कार्यमा प्रहरीको सक्रियता कम भएको, आफन्तजनले मात्रै रात दिन खोज्नु परेको गुनासो गरेका छन् । सोमबार बेलुका गणेश बुढाको शव अस्पताल लैजाने क्रममा पुल मटेलामा बाटो अवरोध गरेका थिए । बिक्षिप्त बनेका आफन्तजनले दिनरात भेरीमा खोजि कार्य गरेको प्रहरीले शव उठाउन मात्रै आएको आरोप उनीहरुले लगाएका छन् ।

२० जना बिरुद्ध किटानी जोहरी, वडाध्यक्षसहित १२ जना पक्राउ :
घटनामा संलग्न भएको भन्दै मृतकका आफन्तजनले २० जना बिरुद्ध जाजरकोट प्रहरीमा किटानी जाहेरी दिएका छन् । रुकुम पश्चिम प्रहरीले चौरजहारी नगरपालिका–८ का वडाध्यक्ष डम्बरबहादुर मल्ल सहित १२ जनालाई रुकुम प्रहरीले पक्राउ गरेको छ । प्रहरीले सलंग्न अन्यको खोजि कार्य जारी राखेको बताएको छ । इलाका प्रहरी कार्यालय चौरजहारीका प्रहरी निरीक्षक धर्म विष्टका अनुसार, वडाध्यक्ष, केटिका बुबाआमासहित १२ जनालाई पक्राउ गरेको हो ।

पहुँचका आधारमा घटनालाई तोडमोड गर्न खोजिएको भन्दै पीडितले निष्पक्ष छानबिनको माग गरेका छन । बिभिन्न अधिकारकर्मीहरुले समेत घटनाको निन्दा गर्दै सत्थ तथ्य यकिन गरी दोषि उपर कारबाहिको जोडदार माग गरेका छन् ।

  • १४ जेष्ठ २०७७, बुधबार प्रकाशित

  • Nabintech