क्यान्सर पीडित पौडेललाई ३ लाख २३ हजार ५ सय ४० रुपैंयाँ सहयोग

असल शासन प्रतिनिधि

नेपालगन्ज/क्यान्सर रोगबाट पीडित नेपालगन्ज उपमहानगरपालिका– १० का बिशाल पौडेलको उपचार सहयोगार्थ भृकुटीनगर टोल विकास समितिले सङ्कलन गरेको रकम हस्तान्तरण गरिएको छ ।

भृकुटीनगर टोल विकास समितिले सञ्चालन गरेको ‘बिशाल पौडेल बचाउ अभियान’ अन्तरगत सङ्कलन गरिएको रकम रु. ३ लाख २३ हजार, ५ सय ४० शनिबार एक कार्यक्रमका बिच बिशालका बुबा कमलेश कुमार पौडेललाई हस्तान्तरण गरिएको हो ।

२५ बर्षिया पौडेललाई क्यान्सर भएको जानकारी पाएपछि जेष्ठ १० गते देखी समितिले पदम बहादुर खड्काको संयोजकत्वमा बिशाल बचाउ अभियान समिति गठन गरी सहयोग संकलन अभियान शुरुवात गरिएको थियो ।

उपचारमा सहयोग पुग्ने उद्धेश्यले पौडेलको जीवन रक्षाका लागि सहयोग रकम सङ्कलन गरिएको बिशाल बचाउ अभियान समितिका संयोजक पदम बहादुर खड्काले बताए । क्यान्सर पीडित बिशाल पौडेल अहिले अष्ट्रेलियामा क्यान्सरसंग लडिरहेका छन् । उनको उपचारमा साढे १ करोड रकम खर्च लाग्ने देखिएको पीडितका बुबा कमलेश कुमार पौडेलले बताए । केहि समय अघिबाट क्यान्सरबाट पीडित पौडेलको भारतमा उपचार गरिने पौडेलले जानकारी दिए ।

अध्ययनको लागि अष्ट्रेलियामा रहेका बिशाललाई उपचारको लागि भारत ल्याउनलाई पहल भइरहेको पौडेलले बताए । बिशाल क्यान्सरबाट पीडित भएको सूचना पाउना साथ भृकुटीनगर टोल विकास समितिले थालेको सहयोग संकलन अभियान अन्र्तगत संकलन भएको रकम समितिकी अध्यक्ष सरला कुमारी बिष्ट र बिशाल बचाउ अभियानका संयोजक पदम बहादुर खड्काले पीडितका बुबा कमलेश कुमार पौडेललाई हस्तान्तरण गरेका थिए ।

सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै समितिकी अध्यक्ष सरला कुमारी बिष्टले टोलबासीहरुको एकताको कारणसहयोग गर्न सकिएको बताउँदै पीडितलाई उच्च मनोबलका साथ रहन अनुरोध गरिन् ।

समितिले गरेको सानो सहयोगले परिवारलाई सान्तोना मिल्ने उद्धेश्य रहेको बताउँदै आफूहरु हरपल साथमा रहेको उनले बताइन् । कार्यक्रममा पीडित बिशाल पौडेलका बुबा कमलेश कुमार पौडेलले छोराको अवस्थाको वारेमा जानकारी गराँउदै यस्तो विषम परिस्थितीमा समेत सहयोग गरेकोमा सहयोगीहरुलाई धन्यवाद ज्ञापन गरेका थिए ।

सहयोग गरिएको रकम समितिले घरदैलो अभियान गरि बिभिन्न घर तथा ब्यक्तिहरुबाट संकलन गरेको थियो । समितिले केहि दिन अघिमात्रै कोरोना भाइरसको जोखिमको समयमा कोहिपनि ब्यक्तिले रगतको अभावबाट ज्यान गुमाउन नपरोस् भन्ने उद्धेश्यले रक्तदान कार्यक्रम गरेको थियो ।

  • १७ जेष्ठ २०७७, शनिबार प्रकाशित

  • Nabintech