कोरोनाबाट थलियो नरैनापुर, एउटै पालिकामा ११६ जना पोजेटिभ

असल शासन प्रतिनिधि

नेपालगञ्ज/ गरिबी, अशिक्षा, जनचेतनाको अभावमा जकडिएको बाँकेको नरैनापुर बाढी, आगलागी जस्ता बिपदबाट बिगत देखि प्रभावित रहँदै आईरहेको थियो, बिश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोनाबाट पनि नराम्ररी प्रभावित भयो ।

अहिले नरैनापुर पालिकाले सम्बद्धहरुसङ्ग सहयोग मागिरहेको छ । सहयोग माग्दै जिल्ला प्रशासन कार्यालय लगाएत निकायसँग पालिकाले पत्राचार गरेको छ । जिल्ला स्थित सरोकारवालाले त सक्दो पहल गरिरहेकै छन् । प्रदेश सरकार र संघीय सरकारको ध्यान भने नरैनापुर तिर पटक्कै नगएको स्थानीयको भनाई रहेकोछ । एउटै पालिकामा ठूलो संख्यामा संक्रमितहरु देखिएर अवस्था नियन्त्रण भन्दा बाहिर जानै लाग्दा पनि सरकारले बेवास्ता गरेको गुनासो रहेको छ ।

पछिल्लो समय कोरोना भाइरस संक्रमणको इपिसेन्टर बनेको बाँकेको नरैनापुरको अवस्था गम्भीर बन्दै गएपछि नरैनापुर गाउँपालिकाले जिल्ला प्रशासन कार्यालय, बाँकेलाई पत्र पठाई थप स्वास्थ्यकर्मी र सुरक्षाकर्मी पठाई नरैनपुरमा कोरोना नियन्त्रणका लागि यथासक्य पहल गर्न माग गरेको थियो ।

नरैनापुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले नरैनापुरको स्थिति नियन्त्रण बाहिर जानसक्ने अवस्था आएको भन्दै चिकित्सक र थप सुरक्षा टोलीसहित आवश्यक जनशक्ति परिचालन गर्न माग गरेपछि सेना सहितका शुरक्षाकर्मी र स्वास्थ्यकर्मी पालिकामा पठाईएको बताए ।

नरैनापुर गाउँपालिकाका बिभिन्न क्वारेन्टिनमा रहेका संक्रमितहरु राख्नका लागि लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्रलाई आईसोलेसन बनाउने तयारी भएपनि आवश्यक पूर्वाधार, बत्तिको व्यवस्था नहुँदा सो तयारी सफल भएन, पालिकामैं आईसोलेसन नभए पछि संक्रमितहरुलाई खजुरा स्थित क्यान्सर अस्पताल, नेपालगञ्ज स्थित डेण्टल अस्पताल र कोहलपुर पिपरी स्थित कृषि तालिम केन्द्रमा राखिएको थियो ।

नरैनापुरको क्वारिन्टनमा बसेका ९ सय ७८ जना मध्ये ७ सय ९ जनाको रिपोर्ट नेगेटिभ आएर घर फिर्ता भएका छन् । कालाफाँटामा कार्यरत गुल्मीका प्रहरी जवान सहित १ सय १६ जना संक्रमित भएकोमा एकजनाको मृत्यु भएको छ भने ३ जना उपचार पछि घर फर्केका छन् । अहिले नरैनापुर स्थित बिभिन्न क्वारेन्टाइनमा १ सय ५३ जना रहेका छन् ।

हाल पालिकामा १४ वटा क्वारेन्टिन रहेका छन् । भारतको महाराष्ट्र, मुम्वई लगाएतका स्थानहरुबाट लक डाउन यता नरैनापुरका १५ सय बढि स्थानीयहरु खुला नाकाबाट प्रबेश गरेका थिए । अहिले पनि दिनहुँ प्रबेश गर्नेहरुको संख्या बढिनैं छ ।

क्वारिन्टनहरु सरकारको मापदण्ड अनुरुप नभएको भन्दै जिल्ला स्थित मानव अधिकारवादी संस्थाहरुले ध्यानाकर्षण गराएका छन् । जनचेतनाको अभावका कारण संक्रमित पुष्टि भईसकेपछि आईसोलेसनमा लैजान खोज्दा स्थानीयहरुबाट अवरोध हुने, संक्रमितहरु भाग्ने समस्या त्यहाँ देखिएको थियो । संक्रमितको संख्यामा भईरहेको बढोत्तरी र स्थानीयहरुबाट भईरहेको असहयोगका कारण अहिले सो पालिकालाई जेष्ठ ११ गते देखि अर्काे आदेश जारी नभए सम्मका लागि निषेधित क्षेत्र घोषणा गरिएको छ ।

हाल सो पालिकामा सेना, प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ । हाल नरैनापुरको अवस्था नियन्त्रणमा छ । नरैनापुर लगाएतका क्षेत्रमा संक्रमण बढेपछि बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खडकालाई गृह मन्त्रालय तानिएको छ भने स्याँजाका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुवांगलाई बाँकेमा खटाईएको छ ।

प्रमुख जिल्ला अधिकारीका रुपमा बाँके पठाइएका कुरुवांगले पदभार ग्रहण गरे लगत्तै बाँके जिल्ला भर निषेधाज्ञ लगाएका छन् भने नरैनापुर लगाएतका पालिकाहरुमा रहेका क्वारिन्टिनको निरिक्षण गरेका छन् । कार्यभार सम्हालेको दोश्रो दिन नरैनापुर पुगेका उनले त्यहाँका क्वारेन्टाइन देखेर जेलको संज्ञा दिएका थिए । प्रजिअ कुरुम्वाङले क्वारेन्टाइन मापदण्ड अनुसार नभएको बताए । उनले डुडुवा गाउँपालिकाकोे क्वारेन्टाइन अवलोकनको क्रममा आरटीडी र पीसीआर दुबैमा कोरोना रिपोर्ट पोजेटिभ भएका ब्यक्तिलाई एउटै कोठामा राखेको पाइएको बताए । उनले प्रभावकारी लक डाउन, व्यवस्थित क्वारिन्टिन आफ्नो महत्वपूर्ण प्राथमिकता रहेको बताए ।

  • २३ जेष्ठ २०७७, शुक्रबार प्रकाशित

  • Nabintech