मोस्ट वान्टेड यादव पक्राउ

असल शासन प्रतिनिधि

बाँके/प्रहरीले मोस्ट वान्टेड बाँके डुडुवा गाउँपालिका–३ बस्ने ३१ वर्षिय ‘धर्मा सिंह’ भनिने राजेश यादवलाई बाँके प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले मंगलबार उनकै घरबाट पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार आधा दर्जन बढी अपराधमा संलग्न रही दशकदेखि फरार रहेका राजेशलाई तरबार र चक्कुसहित पक्राउ गरिएको हो । विगतमा सशस्त्र भूमिगत समूह तराई जनतान्त्रिक मुक्ति मोर्चा (ज्वाला सिंह) समूहमा आबद्ध रही जिल्लामा हत्या, अपहरण, बम विस्फोट, फिरौती माग्नेजस्ता आधा दर्जन बढी घटनाका आरोपी राजेश यादव फरार रहेको उल्लेख गर्दै बाँके प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले भारतबाट यादव घर आएको सूचनाका आधारमा खोजतलास गर्ने क्रममा घरबाटै नियन्त्रणमा लिइएको बताए ।

जिल्लाको सुरक्षा व्यवस्थाका सम्बन्धमा १७ बुँदे प्रतिबद्धता सार्वजनिक गरेको भोलिपल्टै ‘मोस्ट वान्टेट’ राजेशलाई पक्राउ गर्न भर्खरै कार्यभार सम्हालेको प्रहरी प्रमुख सफल भएका छन् । यादवलाई ज्यानसम्बन्धी कसुर, अपहरण तथा शारीरिक बन्धक, हातहतियार खरखजाना, विस्फोटक पदार्थ ऐनअनुसार कारबाही गरिने प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार यादवले २०७० पुस १३ गते त्रिभुवन प्रसाद कुर्मीलाई फोन गरी फिरौती मागिएको, फिरौती रकम नदिए अपहरण गर्ने धम्की दिएको विषयको अपहरण मुद्दामा बाँके जिल्ला अदालतबाट २०७१ फागुन १७ गते ४ वर्ष कैदसहित ३० हजार जरिवाना भएको, २०६८ चैत ६ गते गनापुरस्थित प्रकाश अधिकारीको फ्याक्ट्रीमा बम विष्फोट गराएको विषयमा ६ महिना कैद ५ हजार जरिवाना भएको, २०६८ मंसिर १४ गते भूमिसुधार कार्यालयमा बम विष्फोट गराएको मुद्दामा २०७२ माघ १८ गते ६ महिना कैद ५ हजार जरिवाना तोकिएको थियो ।

यसैगरी, प्रहरीका अनुसार ०६८ मंसिर १४ गते मालपोत कार्यालयमा बम विष्फोट, २०६८ माघ ४ गते साविकको होलिया–२ की नन्ना यादवलाई गोली हानी फरार भएको, २०६५ जेठ २६ गते राज बहादुर सिंहलाई गोली हानी फरार भएको, पुरैना बाँकेका वसन्त मल्ल भनिने छन्द विक्रम मल्ललाई ०६६ भदौ २१ गते अपहरण गरी हत्या गरेको मुद्दामा फरार, राकेशकुमार लोनिया समेतले जाहेरवालाबाट रकम माग गरी अपहरण गर्ने धम्की दिएको मुद्दामा फरार थिए ।
दश वर्षअघि भूमिगत सशस्त्र समूहबाट हत्या गरिएका नेपालगन्ज २१ निवासी २२ वर्षीय छन्दविक्रम मल्लका परिवारले अभियुक्त राजेश पक्राउ परेसँगै यतिबेला न्याय पाउने आशा जागेको बताएका छन् ।

०६६ भदौ २१ गते सम्साँझै घरबाट अपहरणमा परेका मल्लको भोलिपल्ट बिहान साविक उदयपुरस्थित धानखेतमा शव भेटिएको थियो । हत्या भएको दश वर्ष बितिसक्दा पनि मल्ल परिवारले अहिलेसम्म हत्याको कारण थाहा पाउन सकेको छैन । दाइको हत्या कुन कारणले भयो, अझै थाहा पाएका छैनौ, मृतकका भाइ विजय मल्लले भने, ‘यसअघि किटानी जाहेरी दिएका व्यक्तिलाई प्रहरीले पक्राउ गरे पनि ती व्यक्ति छुटिसके तर हामीले न्याय पाएनौं ।’

हत्यापछि मृतकका बुवा रेशमदेव मल्ल र भाइ विजयले प्रहरीसमक्ष जाहेरी दिएका थिए । फत्तेपुर स्थायी घर भई तत्कालीन समय पुरैना–२ निवासी २९ वर्षिय दिपु पाण्डे, २४ वर्षिय उपेन्द्र पाण्डे र पुरैनी–९ लोनियनपुर्वा निवासी राकेश लोनिया पक्राउ परे पनि कारबाहीका लागि प्रहरीको असहयोगले अदालती दायरामा नपरेको मल्ल परिवारको गुनासो छ ।

  • ११ असार २०७७, बिहीबार प्रकाशित

  • Nabintech