नेपालगन्जमा कोरोना जोखिम बढ्यो, लकडाउनको तयारीमा प्रशासन

असल शासन प्रतिनिधि

नेपालगन्ज । पछिल्ला केही दिन यता सामान्य जस्तै बनेको नेपालगन्जमा पुनः कोरोनाको जोखिम बढेको छ ।
नेपालगन्ज स्थित भेरी अस्पतालमा गरिएको कोरोना परिक्षणमा आज एकै दिन नेपालगन्जका २७ जनामा कोरोना पोजिटिभ देखिएपछि जोखिम बढेको हो । भेरी अस्पतालले दिएको जानकारी अनुसार आन्तरीक राजस्व कार्यालयबाट गरिएको स्वाब संकलन मध्ये ११ जनाको रिपोर्ट पोजिटिभ देखिएको छ । यस अघि नेपालगन्ज स्थित यातायात ब्यवस्था कार्यालय र नेपालगन्जको त्रिभुवन चौक स्थित एक मिठाई पसलका सञ्चालकमा कोरोना कोरोना पोजेटिभ देखिएपछि गरिएको कन्ट्रयाक ट्रेसिङ्गको आधारमा गरिएको परिक्षणमा थप १६ जनामा कोरोना पुष्टी भएको अस्पतालले जनाएको छ ।
नेपालगन्जमा दिनानुदिन ट्राभलहिस्ट्री विना नै स्थानीयहरुमा कोरोना पुष्टी हुन थालेपछि भोलीका दिनमा हुन सक्ने थप जोखिम न्यूनीकरण गर्न जिल्ला प्रशासन कार्यालय पुनः लकडाउनको तयारीमा लागेको बुझिएको छ । श्रोतले दिएको जानकारी अनुसार नेपालगन्जमा आईतबार देखि पुनः लकडाउन लाग्ने बताईएको छ । बिगत केही दिन देखि बाँके कोरोनाको उच्च जोखिममा रहेको भन्दै बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुवाङ्गले आम नागरिकहरुलाई सजग रहन सामाजिक सञ्जाल मार्फत अपिल गर्दै आएका थिए ।

  • १५ श्रावण २०७७, बिहीबार प्रकाशित

  • Nabintech