गाउँपालिकाको बजेट श्रीमतीको खातामा खुसुस्कै

असल शासन प्रतिनिधि

रुकुम पश्चिम ।
नेपालीमा एउटा उखान छ, ‘काले – काले मिलेर खाउँ भाले ।’ मिलेर खाउन्जेल पच्ने र कुरा नमिलेमा अर्काको शरिरको जुम्रा उतार्ने प्रबृति रुकुमको एक गाउँपालिका भित्रैबाट सार्वजनिक भएको छ ।
कार्य प्रगति शून्य रहेको, जनप्रतिनिधि र कर्मचारी मोटाएको आरोपका विच गाउँपालिकाको लाखौ रकम आफन्तको खातामा जम्मा गरेको भन्दै जिल्लाको त्रिवेणी गाउँपालिकामा लफडा सुरु भएको छ । भागबन्दा गर्दा तल्लो देखि माथिल्लो ओहदाका कर्मचारी र जनप्रतिनिधि मिलेर रकम झ्वाम पार्ने, कुरा बाहिर खुस्किएपछि आफू पानी माथीको ओभानो बन्न खोज्ने प्रबृति रहेको भन्दै उक्त गाउँपालिकाका अहिले रडाको मच्चिएको छ ।
लेखापालले आफ्नो, श्रीमती र भतिजाको खातामा गाउँपालिकाको लाखौ रकम जम्मा गरिदिएको प्रसंगले यतिबेला गाउँपालिका तातेको छ । निवेदन र कागजात तयार गर्ने कर्मचारी, तोक लगाउने कार्यकारी प्रमुख, रकम भुक्तानीका लागि आदेश दिने गाउँपालिका अध्यक्ष यस्तो घटनामा कसरी चोखिन खोजेका होलान ? स्थानीयले शंका उब्जाएका छन ।

प्राप्त जानकारी अनुसार, गाउँपालिकाका लेखापाल हेमन्त के.सी.ले लाखौ रकम हिनामिना गरेको भन्दै जनप्रतिनिधिहरुले कार्यदल गठन गरेर आन्तरिक छानबिन सुरु गरेको थिए । गाउँपालिका अध्यक्ष झक्कुप्रसाद घर्तिको संयोजकत्वमा छानबिन कार्यदल बनाई गत आईतबारबाट छानबिन सुरु गरेका जनप्रतिनिधिहरुले लेखापाल के.सी.ले आफ्नो, आफ्नो श्रीमती र भतिजाको नाममा मनपरी ढंगले रकम भुक्तानी गरेर दुरुपयोग गरेकोबारे अध्ययन गरिरहेको बताएका छन् । गत फागुनमा सरुवा भएर आएका लेखापाल के.सी.ले आफ्नी श्रीमती बिर्मा के.सी.को नाममा पटक पटक चेक काटेर खातामा रकम जम्मा गरेका छन् । गाउँपालिकाको वडा नम्बर ५ को सदस्य समेत रहेकि श्रीमतीको खातामा उनले ८ लाख ८६ हजार रकम जम्मा गरिदिएका छन् । जसमध्ये ६ लाख रकम राहत तथा सहयोगको नाममा र एक लाख ५० हजार रकम घरभाडा शिर्षकमा निकाशा गरेका छन् । जबकि, गाउँपालिकाको कार्यालय आफ्नै भवनमा रहेको छ ।

त्यसैगरी लेखापाल के.सी.ले आफ्ना दाईको छोरा (भतिज) सुवास के.सी.को नाममा पनि लाखौ रकम निकाशा गरेका छन् । सुवासलाई उनले गत जेठ महिनाबाट लाखु हुनेगरी लेखा सहायक पदमा नियुक्त गराएका थिए । तर, सुवासलाई उनले फागुन महिना देखिकै तलब खुवाएको बताईन्छ । उनै सुवासको खातामा उनले सात लाख ९१ हजार जम्मा गरिदिएका छनु । यस बिषयमा लेखापाल के.सी.ले सुवासको तलब र भत्ताको लागि भन्दै गाउँपालिकामा जवाफ दिएका छन् । जेठ महिनामा नियुक्त भएका लेखा सहायक सुवास के.सी.ले फागुन महिना देखि नै तलब बुझेको हिसाबले पनि महिना १ लाख ५६ हजार तलब र भत्ता बुझेको देखिन्छ ।

लेखापाल के.सी.ले आफ्नो नाममा समेत ८ लाख निकाशा गरेको बताईएको छ । यस बिषयमा उनले कार्यदल समक्ष उचित जवाफ दिन सकेका छैनन् । त्यसैगरी गाउँपालिकाका जनप्रतिनिधिहरुको नजरमा परेको अर्को खर्च रकम हो, कार्यालय सहयोगी शरद खड्काको नाममा पेश्की स्वरुप चेक काटिएको आठ लाख रकम । ‘कुन कामले काटियो ? यसको कुनै विवरण छैन, तर कार्यालय सहयोगीको नाममा आठ लाख रकम निकाशा भएको छ’ छानबिन समितिका एक सदस्यले भन्नुभयो, ‘मिलोमतो नभई यत्रो रकम हिनामिना हुन सक्दैन ।’ श्रोतका अनुसार, गाउँपालिकाका प्रमख प्रशासकीय अधिकृत दिपेन्द्र रावलको संलग्नतााको आशंका बढी गरिएको छ ।

आर्थिक वर्ष ०७६/०७७ मा विभिन्न शीर्षकको करिब २५ लाख रकम लेखापाल केसीले आफू, श्रीमती र भतिजाको खातामा जम्मा गराएको प्रमुख प्रशासकिय अधिकृत रावलले उल्लेख गरेका छन् । पेश्की लिएको रकम बमोजिम काम भए नभएको, दाखिला गर्नु पर्ने विवरण दाखिला गरे नगरेका बारे गाउँपालिकाले चासो राखेर अध्ययन गरेको भन्दै उनले थपे, ‘हिनामिना गरेको भन्ने कुरा प्रष्ट हैन, राजश्व बाँडफाँडको रकम कम आएको भनेर बैठकमा कुरा भएको हो, हामी त्यहि बिषयको छलफलमा छौ ।’ घुमाउरो पाराले बाहिर आए जस्तो कुरा हैन, आन्तरिक समस्या हो भनेका प्रमुख रावल लेखापालले रकम जम्माका लागि काटेको चेकका हस्ताक्षरकर्ता पनि हुन् ।

कार्यालयमा दुईदिन ताला
बैंकबाट स्टेटमेन्ट निकालेर हेर्दा शंकास्पद लागेपछि गाउँपालिका अध्यक्ष झक्कुप्रसाद घर्तिले पालिकामा तालाबन्दी गरेका थिए । कर्मचारीहरुले काजजात मिलाउने र लुकाउने शंका लागेपछि दुई दिन कार्यालयमा ताला लगाईएको थियो । गत शुक्रबार र शनिबार तालाबन्दी गरिएको थियो । छानबिनका लागि बनेको कार्यदलले आईतबारबाट ताला खोलेर छानबिनकोे काम अगाडि बढाएको छ ।
गाउँपालिका अध्यक्ष झक्कुप्रसाद घर्तिको संयाजकत्वमा गठित छानबिन कार्यदलमा गाउँपालिका उपाध्यक्ष निर्मला बिष्ट, वडा नं. १ का वडाअध्यक्ष मोहनकिशोर ओली, वडा नं. ४ का वडाअध्यक्ष चन्द्रबहादुर खड्का, वडा नं. ५ का वडाअध्यक्ष खड्कबहादुर घर्तिमगर, वडा नं. ८ का वडाअध्यक्ष कर्णबहादुर खड्का र वडा नं. ९ का वडाअध्यक्ष बिरबहादुर डाँगी सदस्य रहेका छन् ।

साउन १४ गतेका दिन गाउँपालिकामा असार मसान्तमा काम सम्पन्न भएका अधिकांश योजनाको भुक्तानी नगरी कार्यकारी अधिकृत र लेखापालले फ्रिज पठाएको गुनासो वडाअध्यक्षहरुले गरेका थिए । काम सम्पन्न भएका योेजनाहरुको समेत भुक्तानी नगरेर बजेट फिर्ता पठाएपछि केहि वडाअध्यक्षहरुले गाउँपालिकामा आक्रोश पोखेका थिए । आफ्ना वडामा बिनियोजित बजेटबाट सम्पन्न योजनाको भुक्तानी नहुँदा गाउँपालिकामा कुर्सि तोडफोड समेत भएको थियो । गाउँपालिकाको बैठकमा बजेट अस्वाभाविक रुपमा खर्च भएको देखिएपछि बैंक स्टेटमेन्ट निकालेर हेर्नुपर्ने माग आएको थियो । बैंक स्टेटमेन्ट निकालेर हेर्दा लेखापालले आफ्ना नातेदारको नाममा लाखौ रकम दिएको खुल्न आएको छानबिन कार्यदलका सदस्य समेत रहेका एक वडाअध्यक्षले बताउँनुभयो । थप अनियमितता हुनसक्ने भन्दै आर्थिक वर्ष ०७५/०७६ र ०७६/०७७ को सबै कागजात अध्ययन भइरहेको छानबिन समितिले जनाएको छ ।

यस बिषयमा गाउँपालिकाका अध्यक्ष झक्कुप्रसाद घर्तिले हरेक योजना र स्रेस्ताको अध्ययन गरिरहेको बताएका छन् । उनले सरकारी रकम अरुको खातामा जम्मा गर्नुको कारण र यसमा क–कसको संलग्नता छ भन्नेबारे पनि खोजी भैरहेको जनाउ दिएका छन् । अध्यक्ष घर्तिका अनुसार, ‘अहिले बैठक तथा अध्ययनमा व्यस्त भएकोले यथार्थ विवरण १,२ दिनमा सार्वजनिक हुनेछ ।

प्रशासनले पनि थाल्यो छानबिन
सरकारी रकम आफ्नो, श्रीमती र भतिजाको खातामा जम्मा गरेको विषयमा प्रशासनले समेत छानविन थालेको छ । बुधबार जिल्ला प्रशासन कार्यालयको ३ सदस्यीय टोलीले गाउँपालिकामै पुगेर आगजात अध्ययन तथा स्टेटमेन्ट अध्ययन थालेको हो ।
एक जना अधिकृत, एक जना मुद्दा फाँटवाला र एक जना लेखापाल गरी ३ सदस्यीय छानबिन समिति बनाइएको प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्यालले बताए । उनले अख्तियारको दुरुपयोग भएको पाइए कानून बमोजिम सजाय हुने पनि बताएका छन् ।

लेखापालले गरे सबै रकम फिर्ता
छानबिन हुदै गर्दा त्रिवेणी गाउँपालिकाका लेखापाल हेमन्त केसी, उनकी श्रीमती बिर्मा र भतिजा सुवासको खातामा जम्मा भएको सरकारी रकम फिर्ता भएको छ । तीन दिनमा ४ पटक गरी गाउँपालिकाको सञ्चित खातामा २४ लाख ९२ हजार ३ सय ७२ रुपैयाँ फिर्ता भएको बताईएको छ ।
यसअघि २ दिन ३ पटक र बुधबार गरी उक्त रकम गाउँपालिकाको खातामा जम्मा भएको हो । साउन १६ गते ७ लाख ८२ हजार ५ सय ९५, साउन १९ गते ६ लाख र सोही दिन ८ लाख ५९ हजार ७ सय ७७ तथा साउन २१ गते २ लाख ५० हजार रुपैयाँ गाउँपालिकाको खातामा जम्मा भएको हो । यी ३ जनाको खाताबाट उक्त रकम गाउँपालिकाको खातामा जम्मा भएको गाउँपालिकाले जनाएको छ ।

  • २२ श्रावण २०७७, बिहीबार प्रकाशित

  • Nabintech