गाउँपालिकाबाटै लेखापाल सहित चार आफन्त पक्राउ

असल शासन प्रतिनिधि

असल शासन ।
रुकुम पश्चिम । गाउँपालिकाको बजेट आफ्नो, श्रीमतीको र भतिजाको खातामा हालेर भ्रष्टाचार गरेको आरोप लागेका रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाका लेखापाल सहित उनका चार जना आफन्तलाई प्रहरी नियन्त्रणमा लिएको छ ।

बिहिबार राति नौ बजे गाउँपालिकाको कार्यालयबाट लेखापाल हेमन्त केसी, लेखा सहायक सुवास केसी, विकाश केसी र भिमसेन केसीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । रातीमा कागजात मिलाउँदै गरेका अवस्थामा नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका कार्यालय प्रमुख, प्रहरी नायब उपरिक्षक (डिएसपी) ठगबहादुर के.सी.ले बताए ।
पक्राउ परेका विकास पेशाले स्थायी शिक्षक हुन् भने लेखापालका भाई हुन् । सुवास र भिमसेन लेखापाल हेमन्तका भतिजा हुन् ।

प्राप्त जानकारी अनुसार, गाउँपालिकाका लेखापाल हेमन्त के.सी.ले आफ्नो, श्रीमती र भतिजाको खातामा गाउँपालिकाको लाखौ रकम जम्मा गरिदिएको भन्दै गाउँपालिकाका अध्यक्षको संयोजकत्वमा छानबिन कार्यदल बनाएर आईतबारबाट छानबिन सुरु गरिएको थियो ।
गाउँपालिकाको वडा नम्बर ५ को सदस्य समेत रहेकि श्रीमतीको खातामा उनले ८ लाख ८६ हजार रकम जम्मा गरिदिएका थिए । जसमध्ये ६ लाख रकम राहत तथा सहयोगको नाममा र एक लाख ५० हजार रकम घरभाडा शिर्षकमा निकाशा गरेका छन् । जबकि, गाउँपालिकाको कार्यालय आफ्नै भवनमा रहेको छ ।

त्यसैगरी लेखापाल के.सी.ले आफ्ना दाईको छोरा (भतिज) सुवास के.सी.को नाममा पनि लाखौ रकम निकाशा गरेका थिए । सुवासलाई उनले गत जेठ महिनाबाट लाखु हुनेगरी लेखा सहायक पदमा नियुक्त गराएका थिए । तर, सुवासलाई उनले फागुन महिना देखिकै तलब खुवाएको बताईन्छ । उनै सुवासको खातामा उनले सात लाख ९१ हजार जम्मा गरिदिएका छन । यस बिषयमा लेखापाल के.सी.ले सुवासको तलब र भत्ताको लागि भन्दै गाउँपालिकामा जवाफ दिएका छन् । जेठ महिनामा नियुक्त भएका लेखा सहायक सुवास के.सी.ले फागुन महिना देखि नै तलब बुझेको हिसाबले पनि महिना १ लाख ५६ हजार तलब र भत्ता बुझेको देखिन्छ ।

लेखापाल के.सी.ले आफ्नो नाममा समेत ८ लाख निकाशा गरेको बताईएको छ । यस बिषयमा उनले कार्यदल समक्ष उचित जवाफ दिन सकेका थिएनन् । यसरी भ्रष्टाचारको आरोप लागेका केसीले रातीको समयमा आफन्त सहित कागजात मिलाउदै गर्दा प्राप्त सूचनाको आधारमा प्रहरीले पक्राउ गरेको हो ।

करिब २५ लाख रकम लेखापालले गरे फिर्ता
छानबिन हुदै गर्दा त्रिवेणी गाउँपालिकाका लेखापाल हेमन्त केसी, उनकी श्रीमती बिर्मा र भतिजा सुवासको खातामा जम्मा भएको सरकारी रकम फिर्ता गरेका छन् । तीन दिनमा ४ पटक गरी गाउँपालिकाको सञ्चित खातामा २४ लाख ९२ हजार ३ सय ७२ रुपैयाँ फिर्ता भएको बताईएको छ । यसअघि २ दिन ३ पटक र बुधबार गरी उक्त रकम गाउँपालिकाको खातामा जम्मा भएको हो । साउन १६ गते ७ लाख ८२ हजार ५ सय ९५, साउन १९ गते ६ लाख र सोही दिन ८ लाख ५९ हजार ७ सय ७७ तथा साउन २१ गते २ लाख ५० हजार रुपैयाँ गाउँपालिकाको खातामा जम्मा भएको हो । यी ३ जनाको खाताबाट उक्त रकम गाउँपालिकाको खातामा जम्मा भएको गाउँपालिकाले जनाएको छ ।

आर्थिक वर्ष ०७६/०७७ मा विभिन्न शीर्षकको करिब २५ लाख रकम लेखापाल केसीले आफू, श्रीमती र भतिजाको खातामा जम्मा गराएको विषयमा जिल्ला प्रशासन कार्यालयले समेत छानविन थालेको छ । यस घटनामा निवेदन र कागजात तयार गर्ने कर्मचारी, तोक लगाउने कार्यकारी प्रमुख, रकम भुक्तानीका लागि आदेश दिने गाउँपालिका अध्यक्षको मिलोमतो भएको भन्दै स्थानीयले सत्यतथ्य छानबिनको माग सहित कारबाहिको माग गरेका छन् ।

  • २३ श्रावण २०७७, शुक्रबार प्रकाशित

  • Nabintech