गाउँपालिकाको बजेट दुरुपयोगको आरोप लागेका लेखापाल सहित चार आफन्त छाडियो 

असल शासन प्रतिनिधि

रुकुम पश्चिम, साउन २३ । 

गाउँपालिकाको बजेट आफन्तको खातामा जम्मा गरेर अनियमितताको आरोपपछि बिहिबार राती कागजात मिलाउँदै गर्दा पक्राउ परेका लेखापाल र उनका आफन्त शुक्रबार दिउँसो नै छुटेका छन् ।

गाउँपालिकाको बजेट आफ्नो, श्रीमतीको र भतिजाको खातामा हालेर भ्रष्टाचार गरेको आरोप लागेका रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाका लेखापाल सहित उनका चार जना आफन्तलाई प्रहरीले बिहिबार राती गाउँपालिको कार्यालयमा कागज मिलाउदै गर्दा नियन्त्रणमा लिएको थियो ।

बिहीबार राति साढे ९ बजे कार्यालयको मुख्यगेट बन्द गरी बत्ती निभाएर काम गरिरहेको अवस्थामा लेखापाल केसी, लेखा सहयोगी उनका भतिजा सुवास, भाइ विकास र अर्का भतिजा भीमसेनलाई प्रहरीले पक्राउ गरिएको थियो । गाउँपालिकाले सुवासलाई करारमा लेखा सहयोगीमा नियुक्त गरेको थियो । विकास सानीभेरी गाउँपालिका–१ स्थित शीतल मावि पक्रैंयाका प्रधानाध्यापक हुन् भने भीमसेनले एक सामुदायिक विद्यालयमा निजी स्रोतमा पढाउँदै आएका छन् ।

कागजात मिलाउन लागेको आरोपमा पक्राउ परेका उनीहरु भोलिपल्टै बिना कारबाहि छुट्दा स्थानीयहरुले पहुँच र रकमको चलखेल भएको बताएका छन् । जिल्लाको अख्तियार दुरुपयोगको अधिकार समेत पाएका प्रमुख जिल्ला अधिकारीको कारण उनीहरु २४ घण्टा नपुग्दै छुटेको आरोप लागेको छ ।

गाउँपालिकाका लेखापाल हेमन्त के.सी.ले आफ्नो, श्रीमती र भतिजाको खातामा गाउँपालिकाको लाखौ रकम जम्मा गरिदिएको भन्दै गाउँपालिकाका अध्यक्षको संयोजकत्वमा छानबिन कार्यदल बनाएर आईतबारबाट छानबिन सुरु गरिएको थियो । श्रीमतीको खातामा उनले ८ लाख ८६ हजार रकम जम्मा गरिदिएका थिए । त्यसैगरी लेखापाल के.सी.ले आफ्ना दाईको छोरा (भतिज) सुवास के.सी.को नाममा पनि लाखौ रकम निकाशा गरेका थिए । सुवासलाई उनले गत जेठ महिनाबाट लाखु हुनेगरी लेखा सहायक पदमा नियुक्त गराएका थिए । तर, सुवासलाई उनले फागुन महिना देखिकै तलब खुवाएको बताईन्छ । सुवासको खातामा उनले सात लाख ९१ हजार जम्मा गरिदिएका थिए । लेखापाल के.सी.ले आफ्नो नाममा समेत ८ लाख निकाशा गरेको बताईएको छ ।

यसरी भ्रष्टाचारको आरोप लागेका केसीले रातीको समयमा आफन्त सहित कागजात मिलाउदै गर्दा प्राप्त सूचनाको आधारमा प्रहरीले पक्राउ गरेको थियो ।

पक्राउ गर्नु र छोड्नुको कारणबारे रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्यालले गाउँपालिकामा राती काम गर्दा असुरक्षा भएकोले ल्याएको र स्थिती शान्त भएपछि छाडेको प्रतिक्रिया दिएका छन् । गाउँपालिकाको बजेट दुरुपयोगमा संलग्न लेखापाल र संलग्न उनका आफन्तको बचाउ गर्दै उनले आफैले पक्रिन र छोड्न आदेश दिएको बताएका छन् । 

गाउँपालिकाको बजेट दुरुपयोग गरेर करिब स्विकार समेत गरेर गाउँपालिकाकै खातामा फिर्ता गरेका लेखापाल र उनका आफन्तहरु संलग्न यस अनियमितताको कार्यमा सिडियो समेत पैसाको प्रलोभनमा परेको वा राजनितिक स्तरबाट दबाब आएको गाउँपालिकाकै केहि जनप्रतिनिधिले उल्लेख गरेका छन् ।

यस घटनामा निवेदन र कागजात तयार गर्ने कर्मचारी, तोक लगाउने कार्यकारी प्रमुख, रकम भुक्तानीका लागि आदेश दिने गाउँपालिका अध्यक्षको मिलोमतो भएको भन्दै स्थानीयले  सत्यतथ्य छानबिनको माग सहित कारबाहिको माग गरेका छन् ।

आर्थिक वर्ष ०७६÷०७७ को बजेटबाट २४ लाख ९२ हजार ३७२ रुपैयाँ लेखापाल केसीले सिम्रुतु स्थित लक्ष्मी बैंकमा रहेको आफू सहित पत्नी बिर्मा र भतिजा सुवासको नाममा जम्मा गरेका थिए । घटना जानकारी पाएपछि गाउँपालिकाले छानबिन समिति गठन गरेको छ । समिति गठनलगत्तै सबै रकम गाउँपालिकाकै खातामा फिर्ता भएको प्रमुख प्रशासकीय अधिकृत दीपेन्द्र रावलले बताए ।

रातिको समयमा सोही रकमको कागजात मिलाउन लागेको भन्दै स्थानीयले खबर गरेपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो । सामान्य सोधपुछ पछि उनीहरुलाई छाडिएको प्रमुख जिल्ला अधिकारी प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्यालले बताएका छन् । प्रमुख जिल्ला अधिकारी पौड्यालले घटनाको सत्थ तथ्य छानबिन गरेर कारबाहि गरेरै छाडिने बताएका छन् ।

 

  • २३ श्रावण २०७७, शुक्रबार प्रकाशित

  • Nabintech