उपचार पाउनबाट बञ्चित गर्भवती महिलाको उद्धार, माँ जानकीमा शल्यक्रिया सफल

असल शासन प्रतिनिधि

 नेपालगञ्ज/श्राबण २६ गते /नेपालगञ्जमा रहेका सबै अस्पतालका प्रशुती कक्षहरु बन्द भएपछि गर्भवती महिलाहरुको उपचारमा समस्या सृजना भएको छ ।

कोरोना कहरका कारण नेपालगञ्ज, कोहलपुर स्थित सबै अस्पतालका प्रशुती कक्षहरु बन्द हुँदा उपचारमा समस्या भएको हो ।

आज डुडुवा गाउँपालिका वडानं १ पिप्रहवा, खडैंचाकी एक गर्भवती महिलालाई प्रशब बेदनाले च्यापे पछि बेतहनी स्वास्थ्य चौकी लगियो । जटिल प्रकारको प्रशुती भएकाले स्वास्थ्य चौकीले नेपालगञ्ज रिफर गर्यो । नेपालगञ्जका कुनै पनि अस्पतालले भर्ना नलिएपछि गर्भवती महिला छटपटाईन् । उनलाई पुनः गाउँ पुर्याईयो ।

सोमबार दिनभरी अस्पतालका धेरै गेट चहारेर फर्किएपछि डुडुवा गाउँपालिका १ पिप्रहवाकी प्रिता खटिकको अवस्था गम्भिर बन्दै गयो । सो बिषय सामाजिक सञ्जालमा समेत उठान हुनुका साथै सरोकारवालाहरुले प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाँग, जिल्ला स्वास्थ्य कार्यालय बाँकेका बरिष्ठ जनस्वास्थ्य अधिकृत अंगत बहादुर शाही लगायत नागरिक समाजका प्रतिनिधिहरुलाई सोमबार अवेर जानकारी गराएपछि गर्भवती महिलाको उद्धार गरिएको थियो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाँग, जिल्ला स्वास्थ्य कार्यालय बाँकेका बरिष्ठ जनस्वास्थ्य अधिकृत अंगत बहादुर शाही, गैर सरकारी संस्था महासंघ नेपाल बाँकेका अध्यक्ष नमस्कार शाह, बासका अध्यक्ष रमेश सिटौलाको पहलमा नेपालगञ्ज स्थित माँ जानकी अस्पतालले शल्यक्रियाका लागि अप्रेसन कक्ष उपलब्ध गरायो भने राँझा स्थित निबासमा बसिरहेका स्त्री रोग बिशेषज्ञ डाक्टर कुमार शान शाह शल्यक्रियाका लागि उक्त अस्पताल पुगे । डाक्टर शाहकै नेतृत्वमा विभिन्न अस्पतालमा पुग्दा उपचार हुन नसकेकी गर्भवतीको माँ जानकी अस्पतालमा शल्यक्रिया गरिएको छ । उनबाट छोरीको जन्म भएको छ । हाल आमा, छोरीको अवस्था सामान्य रहेको छ ।

नेपालगञ्ज स्थित बिभिन्न अस्पतालका डाक्टरहरू सेल्फ क्वारेन्टिनमा रहेकाले उपचारमा समस्या भएको बताईएको छ । सफल शल्यक्रिया गरिसकेपछि डाक्टर शाहले गर्भवती महिलाको पाठेघरमा बच्चा खेल्ने पानी न्यून हुनुका साथै पेटमा बच्चा उल्टो भएकाले तत्काल शल्यक्रिया गर्नु परेको प्रतिकृया दिए । यस्तो अवस्थामा जति सकिन्छ चाँडो शल्यक्रिया गर्नु पर्दछ–डाक्टर शाहले भने ।

गर्भवती महिलाको उपचारका लागि अप्रेसन कक्ष उपलब्ध गराएका माँ जानकी अस्पतालका प्रमुख बरिष्ठ सर्जन डाक्टर श्यामसुन्दर यादवले असहज परिस्थितीमा सहयोग गर्नु सबैको दायित्व भएकाले अग्रसरता लिएको बताए ।

बिरामीको उद्धार र उपचारमा संयोजनको भुमिका निर्बाह गरेका बरिष्ठ जनस्वास्थ्य अधिकृत अंगद बहादुर शाहीले बिषम अवस्थामा गरिएको अनुरोधलाई स्विकार गरि माँ जानकी अस्पतालले अप्रेसन कक्ष उपलब्ध गराउनुका साथै डाक्टर कुमार शान शाहले शल्यक्रिया गरिदिएका कारण आमा र शिशुको ज्यान बचाउन सफल भएको बताए ।

गर्भवती महिलाको उपचारमा समस्या भएको थाहा पाउने बित्तिकै अग्रसरता लिएका बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरूम्वाङ्गले बाँकेमा उपचार सम्भव नभएपछि जिल्ला अस्पतालमा गुलरियामा उपचारका लागि समन्वय गरेका थिए तर बिरामीका आफन्तले गुलरिया लैजान नसक्ने बताएपछि नेपालगञ्जमैं उपचारका लागि उनले समन्वय गरेका थिए ।

बिरामीलाई उद्धार गर्नका लागि आफै डुडुवा जन तयार भएका प्रजिअ बिरामीलाई एम्बुलेन्समा अस्पताल ल्याउन लागेको जानकारी पाएपछि बिरामी अस्पताल नपुग्दै अस्पताल पुगेर तयारी बारे बुझ्नुका साथै सफल उपचारका लागि अस्पताल र चिकित्सकसँग आग्रह गरेका थिए ।

शल्यक्रिया सफल भएपछि प्रजिअ कुरूम्वाङ्गले खुशी व्यक्त गर्दै आज फेसबुकमा लेखेका छन् – आज नेपालगन्जको कोरोना कहरले कोहलपुर मेडिकल कलेज, नर्सिङ्ग होम, भेरी अस्पतालका सबै  Maternity ward हरु बन्द रहेको अवस्थामा डुडुवा १ पिप्रहवा खडैंचाकी प्रिति खटिकको जटिल शल्यक्रियाद्वारा छोरीको सकुशल जन्म भएको छ । सबै स्वास्थ्यकर्मी र माँ जानकी अस्पताल प्रती कृतज्ञ छौं ।

अस्पतालमा बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरूम्वाङ्ग, स्वास्थ्य कार्यालय बाँकेका बरिष्ठ जनस्वास्थ्य अधिकृत अंगद बहादुर शाही, जानकी अस्पतालका प्रमुख डा. श्यामसुन्दर यादव, गैरसरकारी संस्था महासंघ नेपाल बाँकेका अध्यक्ष नमस्कार शाह, बासका अध्यक्ष रमेश सिटौला लगायत पुगेका थिए ।

  • २६ श्रावण २०७७, सोमबार प्रकाशित

  • Nabintech