रुकुमको त्रिवेणी गाउँपालिकाका लेखापाल र लेखा सहायक माथी आक्रमण

असल शासन प्रतिनिधि

रुकुम पश्चिम, २७ साउन ।
रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाका लेखापाल र लेखा सहायक माथी आक्रमण भएको छ । केहि दिन अघि देखि गाउँपालिकाको बजेट आफ्नो खातामा हालेपछि बिवादमा आएका लेखापाल हेमन्त प्रकाश के.सी. र लेखा सहायक सुवास के.सी.माथी आज बेलुका ५ बजे स्थानीय युवाले आक्रमण गरेका हुन् । हेमन्त र सुवास काका भतिजा हुन् ।

सदरमुकाम मुसिकोटमा रहेको कोष तथा लेखा नियन्त्रक कार्यालय र नेपाल बैंकबाट काम सकेर फर्कदै गर्दा त्रिवेणी गाउँपालिकाको वडा नम्बर ४ स्थित लामाखेत भन्ने स्थानमा आक्रमण भएको हो । आक्रमण गर्नेहरुमा सोही गाउँपालिकाको वडा नं. ५ का भिमबहादुर पुन, निराजन पुन, खकेन्द्र महर लगायतका युवाहरु रहेको बताईएको छ । उनीहरु आक्रमण लगत्तै भागेका थिए ।

रा १ ब ८२१ नम्बरको सरकारी मोटरसाईकल फर्कदै गरेका लेखापाल र लेखा सहायक माथी उनीहरुले आक्रमण गरेर कुटपिट गरेको बताईएको छ । मोटरसाईकल रोकेर उनीहरुले फलामको रड, मुक्का र लात्तिले कुटपिट गरेका थिए । उनीहरुले दुबैजना कर्मचारीहरुलाई टाउको काटिदिने र घर जलाईदिने भन्दै धम्कि समेत दिएका छन् ।

क्षतिगस्त मोटरसाईकल

आक्रमण हुदै गर्दा उनीहरुले मोटरसाईकल छोडेर भागेर ज्यान जोगाएको बताएका छन् । उनीहरुले प्रयोग गरेको मोटरसाईकलमा समेत क्षति पुगेको छ । खबर लगत्तै घटनास्थल प्रहरी नपुग्दै उनीहरु भागेको बताईएको छ । प्रहरीले आक्रमणकारीको खोजि भईरहेको जनाएको छ ।
आर्थिक वर्ष ०७६/०७७ को बजेटबाट २४ लाख ९२ हजार ३७२ रुपैयाँ लेखापाल के.सी.ले सिम्रुतु स्थित लक्ष्मी बैंकमा रहेको आफू सहित पत्नी बिर्मा र भतिजा सुवासको नाममा जम्मा गरेका थिए । उक्त कार्यको गाउँपालिकाले छानबिन गर्न थालेपछि गाउँपालिकाकै खातामा फिर्ता गरेका थिए ।

उक्त घटनाको जिल्ला प्रशासनले छानबिन गरिरहेको छ भने लेखा सहायक सुवासलाई जागिरबाट निकालिएको गाउँपालिकाले जनाएको छ ।

उक्त रकम आफन्तको खातामा हाल्ने लेखापाल र उक्त कार्यमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतको समेत मिलोमतो भएको भन्दै स्थानीयले कारबाहिको हुनुपर्ने बताउँदै आएका छन् ।

  • २७ श्रावण २०७७, मंगलवार प्रकाशित

  • Nabintech