अख्तियार थप सक्रिय, घुस्याहाहरु पक्रिय

असल शासन प्रतिनिधि

नेपालगञ्ज/अख्तियार दुरुपयोग बिरुद्ध सक्रियता बढाएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस्याहा कर्मचारी धमाधम पक्राउ गरेर सफलता हात पारेको छ ।  बाँके राष्ट्रिय निकुञ्जका २ जना कर्मचारीलाई घुस रकम सहित पक्राउ गरेको अख्तियारले पछिल्लो पटक राजश्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख बिजय रानालाई घुस लिदा लिदैं पक्राउ गरेको छ ।

अख्तियारले दिएको जानकारी अनुसार, प्रमुख अनुसन्धान अधिकृत रानालाई दुई लाख घुस लिदै गर्दा रंगेहात पक्राउ गरिएको हो । रानाले रुपन्देहीका गुट्खा उद्योगी तथा चिनी ब्यवसायी अनिल कुमार झाबाट उक्त रकम लिन लागेका थिए । व्यवसायीसँग अनियमित रकम असुली गरिरहेको भन्ने विशेष सूचनाका आधारमा राजस्व अनुसन्धान कार्यालयमा पुगेको अख्तियारको टोलीले घुस लिने र दिने कार्यमा संलग्न राना र झा दुबैलाई रंगेहात पक्राउ गरेको हो । रानाले व्यवसायीबाट मासिक रुपमा अनियमित तवरले रकम असुल्ने गरेको गुनासो आएपछि उनी अख्तियारको निगरानीमा थिए ।

यस अघि श्रावण १९ गते सोमबार बाँके राष्ट्रिय निकुन्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराई र सहायक संरक्षण अधिकृत विष्णु रोकाय नगद ३ लाख ४८ हजार र बैङ्कमा जम्मा गरेको पाँच लाखको भौचर सहित पक्राउ परेका थिए ।

अख्तियारको टोलीले श्रावण १६ गतेका दिन तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णकान्त उपाध्यायलाई घुस रकम सहित नागढुंगाबाट पक्राउ गरेको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले तुलसीपुरबाट काठमाडौं जाँदै गर्दा उनलाई पक्राउ गरेको थियो । पक्राउ परेका प्रमुख प्रशासकीय अधिकृत उपाध्यायको साथबाट १ लाख ४० हजार नगद र ८ लाख बैंंकमा जम्मा गरेको भौचर बरामद गरेको थियो । अधिकृत उपाध्यायले ठेकेदारको भुक्तानी गरिदिए वापत सो रकम घुस लिएको अख्तियारले जनाएको छ ।

यसैगरी, श्रावण १५ गते कोरोना भाइरस परीक्षण गर्नका लागि खरिद गरिएको उपकरणमा भ्रष्टाचार भएको बिषयमा अनुसन्धान गरिरहेको अख्तियारले भेरी अस्पताल नेपालगञ्जमा छापा मारेको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल, सम्पर्क कार्यालय नेपालगन्जले अस्पतालमा छापा मार्ने क्रममा अस्पतालका कम्प्युटर अपरेटर अरुण खनाललाई श्रोत नखुलेको १६ लाख १३ हजार ९ सय ७५ रकम सहित नियन्त्रणमा लिएको थियो ।

पछिल्लो समय घुस लिने कर्मचारीहरुले नयाँ नयाँ विधिहरु प्रयोग गर्दै सेवाग्राहीहरुबाट रकम असुल्न थालेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिशेष टोली नै परिचालन गरि त्यस्ता कर्मचारीहरुलाई पछ्याएर पक्राउ गर्दै आएको छ । पक्राउ परेकाहरु बिरुद्ध थप अनुसन्धान गरी मुद्धा चलाईने अख्तियारले जनाएको छ ।

  • २७ श्रावण २०७७, मंगलवार प्रकाशित

  • Nabintech