आमाको स्मृतिमा बिद्यालयलाई सहयोग

असल शासन प्रतिनिधि

रुकुम पश्चिम, साउन ३० ।
जिल्लाको चौरजहारी नगरपालिका प्रमुख विशाल शर्माले आफ्नी आमाको स्मृति दिवसमा एक बिद्यायलाई सहयोग गरेका छन् । प्रमुख शर्माले स्वर्गीय आमा कस्तुरा ढकालको नवौ स्मृति दिवसको अवसरमा आधारभुत विद्यालय लहरेसिमललाई ५५ हजार ५ सय नगद रकम सहयोग गरेका हुन् ।

विद्यालयको भौतिक व्यवस्थापनको लागी नगर प्रमुख शर्माले उक्त रकम एक कार्यक्रमका बिच विद्यालयका प्रधानाध्यापक नन्दराम केसीलाई हस्तान्तरण गरेका हुन् । कार्यक्रममा नगरप्रमुख शर्माले स्वर्गीय आमाले देखाएको सतमार्गमा आफू हिडेको बताउँदै आमा नै भगवान भएको उल्लेख गरे । आफूलाई अक्षर सिकाएर यो स्थानमा ल्याउन प्रेरित गर्ने बिद्यालयलाई सहयोग गर्न पाउँदा आफू सौभाग्यशाली रहेको उनले बताए ।

स्वर्गीय कस्तुरा ढकालको स्मृतिको अवसरमा यस अघि नै विद्यालयमा अक्षय कोष स्थापना गरिएको छ । ३९ हजारको अक्षय कोषमा हाल १ लाख ३५ हजार रकम जम्मा भएको विद्यालयका प्रधानाध्यापक नन्दराम केसीले बताए । उक्त रकमबाट विद्यालयमा अध्ययनरत गरिव, जेहेन्दार, तथा उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गर्दै आएको प्रधानाध्यापक केसीले जनाए ।

२०६८ साल श्रावण २९ गते निधन हुनुभएकी स्वर्गीय कस्तुरा ढकालको स्मृतिमा प्रत्येक वर्ष औपचारिक कार्यक्रमको आयोजना हुने गरेको छ ।

  • ३० श्रावण २०७७, शुक्रबार प्रकाशित

  • Nabintech