आइसोलेसन अवलोकनमा मेयर राणा

असल शासन प्रतिनिधि

नेपालगञ्ज, साउन ३१/ नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणाले बाँके स्थित सबै आईसोलेसनको अवलोकन गरेका छन् ।

कोरोना संक्रमण भई उपचारार्थ आईसोलेसनमा रहेकाहरु प्रत्यक्ष भेट गरि स्वास्थ्यलाभको कामना गर्नुका साथै आईसोलेसनको अवस्था बुझ्न राणा आईसोलेसनहरुमा पुगेका हुन् । आईसोलेसनमा उपचारार्थ ब्यक्तिहरुको मनोबल उच्च पार्न र उनीहरुको स्वास्थ्यलाभको कामना गर्न नेपालगञ्ज उप–महानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामवहादुर चन्द सहित उपमहानगर प्रमुख राणा शनिबार जिल्लामा सञ्चालित सबै आईसोलेसनमा पुगेका थिए ।

उपमहानगर प्रमुख राणाले आईसोलेसनमा बसिरहेकाहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिदै खाना र आवास बारे जानकारी लिएका थिए ।
खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा सञ्चालित आईसोलेसनमा उपमहानगर प्रमुख राणालाई उप–महानगरपालिकाका प्रबक्ता प्रमोद रिजाल, बरिष्ठ गायक तथा सञ्चारकर्मी कमल विके निर्मोही लगायतले व्यवस्थापन र स्वास्थ्य अवस्था बारे जानकारी गराएका थिए ।

सिटी प्यालेसमा सञ्चालित आईसोलेसनमा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ, उपमहानगरपालिकाका लेखा अधिकृत राजन केसी, पत्रकार खगेन्द्र दाहाल लगायतसँग नगर प्रमुख राणाले छलफल गरेका थिए ।
उपमहानगरप्रमुख राणा सहितको टोलीले शनिबार नै गनापुर खुल्ला कारागार र नेपालगञ्जस्थित एनआईडिसी तथा डेन्टल अस्पतालमा सञ्चालन गरिएको आईसोलेसनमा बस्दै आएका ब्यक्तिहरुसँग प्रत्यक्ष भेट गरि स्वास्थ्यलाभको कामना गरेका थिए ।
स्वास्थ्य शाखा प्रमुख रामवहादुर चन्दले संक्रमित ब्यक्तिहरुसँग टोलीले भौतिक दुरी कायम राख्दै स्वास्थ्य सुरक्षाका मापदण्ड पुरा गरी छलफल गरेको बताए ।

  • ३१ श्रावण २०७७, शनिबार प्रकाशित

  • Nabintech