नेपालगञ्जमा बालिकालाई बलात्कार प्रयास

असल शासन प्रतिनिधि

नेपालगञ्ज/घटना नेपालगञ्ज उपमहानगरपालिकाको बसपार्क पछाडी रहेको प्रगति पथ टोलको हो । मंगलबार बेलुकी ५.०० बजे पिपल चौतारा नजिकै रहेको एक किराना पसल अगाडी एक बालिका माथि एक अधबैंशे पुरुष जाई लागे ।

टोलको बिचमा बन्दै गरेको एक घरमा दिनदहाडै बालिकालाई जवरजस्ति गर्ने पुरुषको प्रयास र बालिकाको कारुणिक क्रन्दन र चिच्हाटले किराना पसलमा बसिरहेकी स्थानीय एक महिलाको ध्यान केन्द्रीत गर्यो । उक्त अपराधिक प्रयास उनले हेरेर सहन सकिनन् र रंगेहात ति युवकलाई समातिन् र एक चड्कन लगाईन् । यति भईसकेपछि ति युवक घटना स्थलबाट कुलेलम ठोके । बालिकाका बलिन्द्र आँशु रोकिएनन् । उनै महिलाले घटनाबारे टोलका सबै महिलाहरुलाई जानकारी गराईन् ।

स्थानीयहरुका अनुसार, युवक १९ नम्वर वडाको स्थायी बासिन्दा भएको खुलेपछि महिलाहरुको टोली उनको घर पुग्यो । युवकका बुवा, आमा र केही छिमेकीहरुले महिलाहरुलाई घर भित्र जान नदिई घरको पछाडीबाट भगाए । त्यतिञ्जले स्थानीयहरुले प्रहरी कन्ट्रोलमा घटनाबारे जानकारी गराईसकेका थिए । घटना स्थलमा समयमैं प्रहरी पुग्यो ।

प्रहरीले घटना स्थलको मुचुल्का उठाउनुका साथै अन्दाजि ३५ बर्षिय युवकलाई साँझ ७ बजेको समयमा वडानम्वर १९ कै नहरपुरुवाबाट पक्राउ गरेको बताईएको छ ।

उक्त युवकले यस अगाडी पनि यसै प्रकारका घटना घटाएको आरोप स्थानीयहरुको छ ।

वडानम्वर १९ कै बिपन्न परिवारकी ति बालिका प्रगति पथको खाली ठाउँमा गाई चराउन आएको स्थानीयको भनाई छ । बालिकाको मेडिकल परीक्षण गराउन प्रहरीले लगेर गएको र उनको अवस्था सामान्य रहेको स्थानीयले बताएका छन् । घटनालाई मेलमिलाप गराउनका लागि दबाब सृजना हुन सक्ने आशँका गर्दै स्थानीयहरुले घटनाका दोषिलाई हदै सम्मको कार्वाहीको माग गरेका छन् । यस बारे जिल्ला प्रहरी कार्यालय, बाँकेसँग थप जानकारी लिनका लागि गरिएको प्रयास सफल हुन सकेन ।

  • २ भाद्र २०७७, मंगलवार प्रकाशित

  • Nabintech