लागुऔषध कारोबारीमाथी गोली प्रहार

असल शासन प्रतिनिधि

रुकुम पश्चिम, भदौ ९ ।

अबैध लागुऔषध कारोबारीलाई पक्राउ गर्ने क्रममा रुकुम पश्चिममा गोली प्रहार भएको छ । मुसीकोट नगरपालिकाको वडा नम्बर ४ ठाराढुंगामा मंगलबार बेलुका रुकुम पूर्वको प्रहरीले आगुऔषध कारोबारीलाई पक्राउ गर्ने क्रममा गोली प्रहार गरेको हो ।

प्रहरीको गोली लागेर मुसीकोट नगरपालिका ११ का २५ बर्षिय निर्मल पुन घाईते भएका छन् । कम्मरमुनि गोली लागेका उनलाई जिल्ला अस्पताल सल्लेमा सामान्य उपचा गरेर थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाईते पुन सँगै सोहि वडाका ३५ बर्षकी लक्ष्मी पुनलाई पनि प्रहरी पक्राउ थरेको छ । २८ बर्षका जयप्रकाश पुन भने भाग्न सफल भएको बताईएको छ ।

घटनास्थलमा घाईते निर्मल पुन

कन्ट्रोल डेलिभरिको क्रममा रुकुम पूर्व र रुकुम पश्चिमको संयुक्त प्रहरी टोलीले उनीहरुलाई पक्राउ गर्न खोज्दा प्रहरी माथी नै हातपातको प्रयास गरेकोले गोली प्रहार गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख, प्रहरी नायब उपरिक्षक ठगबहादुर केसीले जनाए । यसअघि रुकुम पूर्वमा अफिमसहित पक्राउ गरेकाहरुको बयानको आधारमा कारोबारी पछ्याउदै रुकुम पूर्वको प्रहरी टोली रुकुम पश्चिम सम्म आएको डिएसपी केसीले बताए । जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वबाट प्रहरी निरीक्षक दिनेश गुरुङको नेतृत्वमा आएको प्रहरी टोलीले लागुऔषध कारोबारीको पिछा गरेर पक्राउ गरेको हो ।

रुकुम पश्चिम स्थित प्रहरीले यस अघि पनि नै अबैध लागुऔषध उत्पादन, ओसारपसार र कारोबारी बिरुद्ध बिभिन्न गतिबिधि संचालन गरेको छ । त्यस क्रममा जिल्लाका बिभिन्न स्थानबाट १८ किलो अफिम सहित १५ जनालाई पक्राउ गरेको  डिएसपी केसीले उल्लेख गरे । उनका अनुसार, बिभिन्न स्थानको करिब ३० बिगाह जमिनमा लगाईएको अफिम पनि नष्ट गरिएको छ । प्रहरीले अफिम फडानी र लागुऔषध बिरुद्धको अभियानलाई नियमित संचालन गरिरहेको छ ।

  • ९ भाद्र २०७७, मंगलवार प्रकाशित

  • Nabintech